+
Search

ताजा अपडेट +

पपुलर +

रोग बोकिदिने मान्छे किन्न पाइँदैन-१

रोग बोकिदिने मान्छे किन्न पाइँदैन-१
तुलसी दवाडी
१ हप्ता अगाडी

आज हामी बजारमा पाइने सस्तो, हेर्दा राम्रो, सलक्क परेको, किराले नखाएको खानेकुरा किनेर खाइरहेका छौँ । वास्तवमा हामीले यससँगै रोग किनिरहेका छौँ । अस्पताल र औषधिको बजारभाउ बढाइदिँदैछौँ । आज हामीलाई स्वास्थ्यको ख्याल छैन । निरोगी, दीर्घायु बन्नका लागि हामी न समय खर्चन्छौँ, न पैसा । आज स्वास्थ्यमा लगानी गरेका छैनौँ, त्यसैले भोलि महँगो उपचारमा पर्नेछौँ ।

शरीरमा विकार
प्रसङ्ग १ : नेपालमा ‘भोक लाग्ने’ औषधिको खपत अत्यधिक हुँदोरहेछ । यहाँ मान्छेलाई दालभात नै अपुग छ । खानेकुराको स्रोतभन्दा भोकको क्षेत्रफल ठुलो छ । जुन देशमा भनेजस्तो खानेकुरा भरपेट खान पाइँदैन त्यहाँ कसलाई चाहियो होला ‘भोक लाग्ने औषधि’ ? भोक लाग्ने औषधि त ब्रोइलर कुखुरालाई खुवाउने रहेछ । भोक लागेपछि त्यसले धेरै खान्छ र त्यही मात्रामा शरीर बढ्छ । कुखुरा ४५ देखि ५० दिनमा हलक्कै बढेर मोटोघाटो हुन्छ । ब्रोइलर कुखुरालाई एन्टिबायोटिक औषधि दिइने गरिएको छ । खाद्य अनुसन्धानकर्ताहरू भन्छन्, ‘यस्तो मासुमा पनि एन्टिबायोटिकको अंश बाँकी रहने हुँदा स्वास्थ्यमा असर गर्न सक्छ ।’ उदाहरणका लागि एकजना बुबा घुँडाको चरम दुखाइ भई सहरमा छोराको डेरामा आउनुभएछ । हस्पिटल बिदा परेकाले केही दिन कुखुराको मासु टन्न खाई बस्दा दुखाइ नै निको भई पुनः गाउँ फर्किनुभएछ । एन्टिबायोटिकले दुखाइ हराउँदा जथाभावी हिँड्नुभएछ र केही दिनमा नै हिँड्नै नसक्ने गरी थलिनुभएछ । पछि घुँडाको पाङ्गा नै फेर्नुपरेछ ।

प्रसङ्ग २ : यो सहरतिर बेच्ने बोका–बाख्रामा त मासु नै मासु हुन्छ । किन हो ? महिलाका लागि प्रयोग हुने यो गर्भनिरोधक सुई लगाएपछि बोका–बाख्राको तौल बढ्छ भन्ने रहेछ । यस्तो मासुले मानव स्वास्थ्यमा असर गर्छ ।

प्रसङ्ग ३ : सहरी क्षेत्रमा दुध बढाउन गाईवस्तुलाई घाँसभन्दा बढी अरू थोक नै खुवाइन्छ । खासगरी धेरै दुध निकाल्नका लागि अक्सिटोसिन हर्मोनको इन्जेक्सन दिइने रहेछ । यो हर्मोन सुत्केरी बेथा लाग्नुअघि पाठेघर खुलाउनका लागि स्वास्थ्यकर्मीको सिफारिसमा दिइने गरिन्छ ।

बालीदेखि थालीसम्म विष
खानाको स्वाद बढाउन, रङ्गीन बनाउन, बचाउन र सुगन्धित बनाउन विभिन्न अखाद्य पदार्थको प्रयोगले शरीरको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । रातारात ठुलो बनाउन लौका, काँक्राजस्ता तरकारी आदिमा ग्रोथ हर्मोनको इन्जेक्सन लगाइन्छ । त्यसैले त्यो समयभन्दा अगाडि नै पाक्छ र ठुलो हुन्छ । हामीले खाइरहेको सागसब्जी कसरी उत्पादन गरिएको छ ? केरालाई पनि स्वाभाविक रूपमा बढ्न र पाक्न दिइँदैन । त्यसमा यस्तो रसायन प्रयोग गरिन्छ, फलफूल खाँदा पनि ढुक्क हुन सकिने स्थिति आजभोलि छैन ।

दुध, घिउ र तेल विषाक्त
उहिले–उहिले रैथाने गाईवस्तु पालिन्थे, गाईवस्तुलाई चरनमा छाडिएको हुन्थ्यो । प्राकृतिक रूपमा उत्पादित दुधबाट बन्ने दही, घिउ पनि शुद्ध हुन्थ्यो । अहिले अवस्था त्यस्तो छैन । गाईलाई घाँसभन्दा बढी औषधि खुवाइन्छ । अप्राकृतिक ढङ्गले गर्भधारण गराइन्छ । दुधको मात्रा बढाउने इन्जेक्सन दिइन्छ । यस्तो गाईभैंसीको दुध, दही, घिउ खाएर तागत आउँछ कि रोग लाग्छ ? उहिले बाबुबाजेले ‘आना माना घिउ खाएको’ भन्छन् । तर, अहिले त्यसरी घिउ खानुहोस् त तपाईंलाई कोलेस्ट्रोल वा मुटुको समस्याले सताउन सक्छ । अहिलेको घिउ शुद्ध दहीलाई ठेकीमा मही पारेर नभई सिधै दुधबाट निकाल्छ ।

शरीरलाई ‘फ्याट’ अर्थात् बोसो पदार्थ जरुरी हुन्छ । तेल, घिउ, बोसो आदिबाट शरीरले यसको परिपूर्ति गर्नुपर्ने हो । तर, हामीले भान्सामा प्रयोग गरिरहेको तेल कस्तो छ ? बजारबाट किनेर ल्याइएका धेरैजसो तेलको शुद्धतामाथि प्रश्न गर्नुपर्ने हुन्छ । जस्तो, धेरैले सनफ्लावर तेल राम्रो भनेर प्रयोग गरिरहेका हुन्छन् । बजारमा एक लिटर सनफ्लावर तेलको सामान्य मूल्य रु.तीन सयदेखि रु.चार सय छ । जबकि एक लिटर तेल निकाल्न तीन केजी कच्चा पदार्थ जरुरी हुन्छ, जसको सरदर मूल्य नै रु. ३९ सय पर्छ भनेपछि एक लिटर सनफ्लावर तेलको मूल्य त रु. चार हजार हुनुपर्ने हो । कसरी हामीले चार सयमा पाइरहेका छौँ त ? चासो दिनुपर्ने विषय हो यो ।

जारको पानी
अरूको के कुरा, सहरियाहरूले पिउने पानी नै पिउनलायक छैन, जमिनमुनिको पानीमा गन्ध हुन्छ । पानीमा मिनरल्स हुनुपर्ने हो । यहाँ प्रशोधन गरिएर पानी जारमा राखिन्छ । पानी प्रशोधन गर्ने क्रममा स्वादिलो पार्न हानिकारक केमिकल राखिन्छ । त्यसलाई मिठो बनाउन टेस्टिङ पाउडर प्रयोग गरिन्छ । यसले नै पेटको भित्र ब्याक्टेरियासमेत मारिदिन्छ र क्यान्सरलगायत अनेक समस्या बढेको छ ।
माटो विषको भण्डार

पञ्च महाभूतको स्वच्छताका लागि हाम्रो परम्परा गंगाको पूजा गर्ने, गाई पाल्न, यज्ञ हवन गर्न छाडियो, माटो, हावा, जल शुद्ध छैन । खानेकुरा उत्पादन शुद्ध छैन । रासायनिक मल, विषादीले सबैलाई बिटुलो बनाइदिएको छ । त्यही खानेकुरा खाँदा हामीलाई बल, बुद्धि, आरोग्य प्राप्त हुनुपर्नेमा हामी त झन्झन् रोगी र कमजोर हुँदै गइरहेका छौँ । चाँडै बुढो हुँदै छौँ । क्यान्सर, मिर्गौला फेल हुने सङ्ख्या बढेर अस्पतालमा पाइला राख्ने ठाउँ छैन, डायलाइसिस केन्द्र भरिएको छ, ऐया र आत्था गर्दै बाँचिरहेका छौँ । अस्पताल र औषधिको टेको लगाएर मृत्यु पर्खँदै हिँडिरहेका छौँ । (लेखक पातञ्जल योग समिति नेपाल नुवाकोटका अध्यक्ष हुनुहुन्छ ।)

 

प्रतिक्रिया

लेखकको बारेमा

तुलसी दवाडी