विदुर । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोटका दुवै क्षेत्र गुमाएको नेपाली काङ्ग्रेसले अर्जुननरसिंह केसीलाई समानुपातिक तर्फबाट सांसद बनाएको छ । जिल्लाको दुवै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिनस्विप गरेपछि नुवाकोटमा काङ्ग्रेस प्रतिनिधि शून्य भएको छ । पार्टीले केसीलाई प्रतिनिधिसभामा समानुपातिकतर्फ उपस्थित जनाउन सफल भएको छ ।
संविधानले सुनिश्चित गरेको समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थाअनुसार नेपाली काङ्ग्रेसले खसआर्य क्लस्टरबाट केसीको नाम आइतबार सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार निर्वाचन आयोगले सोमबार छानबिन गरी केसीको नाम सांसदको सूचीमा समावेश गरी सूचना प्रकाशित गरेको छ । काङ्ग्रेसका केन्द्रीय सदस्य रहेका केसी विसं २०३५ देखि नुवाकोटलाई कार्यक्षेत्र बनाई निरन्तर राजनीतिमा सक्रिय हुनुहुन्छ । काङ्ग्रेसले पाउने समानुपातिक सांसदको कोटामा केसीसहित विभिन्न क्लस्टरबाट २० जनाको नाम सिफारिस गरेको थियो ।
विसं २०३८ मा राष्ट्रिय पञ्चायत सदस्यमा नुवाकोटबाट निर्वाचित केसी त्यसपछिका हरेक निर्वाचनमा उम्मेदवार बन्न छुट्नुभएको छैन । उहाँ विसं २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य (रापंस) मा पराजित भएपछि जिल्ला पञ्चायत सभापतिमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि पनि उहाँको नाम क्षेत्र नं २ बाट समानुपातिकमा पहिलो नम्बरमा सिफारिस भएको थियो । ७८ वर्षीय केसी रापंस र सङ्घीय संसद् सदस्य निर्वाचनमा नौपटक सहभागी भए पनि राष्ट्रिय पञ्चायतमा एकपटक, सङ्घीय संसद्मा तीनपटक पराजित हुनुभयो । उहाँले विसं २०३८ मा भारी मतले रापंसमा जिते पनि विसं २०४३ मा भने हार व्यहोर्नुप¥यो । विसं २०४६ को जनआन्दोलनपछिको विसं २०४८ र २०५१ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट विजयी केसी विसं २०५६ र २०६४ का निर्वाचनमा उक्त क्षेत्रबाट पराजित हुनुभएको थियो । विसं २०७० को संविधानसभा निर्वाचनमा विजयी केसी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा साबिक क्षेत्र नं ३ (हालको २ नं निर्वाचन क्षेत्र) बाट हार्नुभयो भने विसं २०७९ को निर्वाचनमा निर्वाचित हुनुभयो ।
केसी पञ्चायतकालमा स्वास्थ्य राज्यमन्त्री हुँदै बहुदलीय व्यवस्थामा स्वास्थ्य, शिक्षा, आवास तथा भौतिक योजना र सहरी विकासमन्त्री हुनुभएको छ । विसं २०४६ पछि काङ्ग्रेसमा प्रवेश गर्नुभएका उहाँले केन्द्रीय सदस्य हुँदै केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । केसी राजनीति गर्दा पटक-पटक गरी तीन वर्ष कारागारको यातनासमेत भोग्नुभएका नेता हुनुहुन्छ । उहाँ काङ्ग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा रहेको कार्यसमितिमा केन्द्रीय सदस्य हुनुहुन्छ ।






प्रतिक्रिया