+
Search

ताजा अपडेट +

पपुलर +

एम्बुलेन्सबाट रू.७० लाख ९२ हजारको चिनियाँ चुरोटसहित चारजना नियन्त्रणमा

एम्बुलेन्सबाट रू.७० लाख ९२ हजारको चिनियाँ चुरोटसहित चारजना नियन्त्रणमा
त्रिशूली प्रवाह
१ दिन अगाडी

धुन्चे । रसुवा जिल्ला, उत्तरगया-५ बेत्रावतीस्थित पासाङल्हामु सडकखण्डमा विशेष सुराकीको आधारमा नेपाल प्रहरीले एम्बुलेन्समा ल्याउँदै गरेको रू.७० लाख ९२ हजार बराबरको हर्माेनाईजेसन नामक चिनियाँ चुरोटसहित चार जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रमेश रायका अनुसार चैत ६ गते करिव ८ बजेको समयमा उत्तरगया-५ बेत्रावतीस्थित पासाङल्हामु राजमार्ग सडकखण्डबाट अबैध रूपको चिनियाँ चुरोट एम्बुलेन्सबाट ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा बेत्रावती प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा पक्राउ परेको हो । रसुवा, आमाछोदिङ्मो-३, गत्लाङ स्वास्थ्यचौकीको एम्बुलेन्समा उक्त अबैध सामान बरामद भएको छ । बागमती प्रदेश ०१००२ झ.७४२६ नम्बरको एम्बुलेन्स तथा उक्त एम्बुलेन्समा सवार व्यक्तिलाई खानतलासी गर्दा एम्बुलेन्सको पछाडि र अगाडिको भागमा छिपाई ल्याएको अवस्थामा उक्त चुरोट फेला परेको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक ४३ वर्षका दावानुर्पु तामाङ आमाछोदिङ्मो-३ गत्लाङ, आमाछोदिङ्मा-५ बस्ने २७ वर्षिय मार्कुस तामाङ, ३२ वर्षिय सुशील तामाङ र ३६ वर्षिय सुनिता तामाङ रहेका छन् । एम्बुलेन्ससहित हर्माेनाईजेसन नामक चिनियाँ चुरोट र उक्त मानिसलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी रायले जानकारी दिनुभयो । चिनियाँ चुरोट तीन हजार नौ सय ४० बट्टा रहेको छ ।

त्यसैगरी, लागूऔषध चरेस जस्तो देखिने पदार्थ र नाम नखुलेको ट्याब्लेटसहित एक युवक चैत ७ गते बिहान ८ बजे रसुवागढी नाका नजिकबाट पक्राउ परेका छन् । प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रायका अनुसार गोसाईँकुण्ड-५ घर भएका २४ वर्षका विकास तामाङलाई चिनको केरूङबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा चरेस जस्तो देखिने कालो पदार्थ दुई ग्राम, नखुलेको पहेलो कलरको सातवटा र सुन्तला कलरको पाँचवटा ट्याब्लेटसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त लागूऔषध चरेस जस्तो देखिने पदार्थ तथा नाम नखुलेको ट्याब्लेटसहित युवकलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका युवकबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा आइतबार ८३ ग्राम लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित मानिसलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ । प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक रायका अनुसार आमाछोदिङ्मो-३ स्थायी घर भएकी १९ वर्षको गंगा तामाङलाई खानतलासी गर्दा उहाँले बोकेको खैरो रङ्गको झोलाभित्र प्लास्टिकमा ८६ ग्राम चरेस जस्तो देखिने पदार्थसहित उहाँलाई नियन्त्रणमा लिइएको हो । जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह