+
Search

ताजा अपडेट +

पपुलर +

जेठा सांसद केसीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो

आजदेखि २७५ सांसदले तलबभत्ता–सुविधा पाउने

जेठा सांसद केसीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो
त्रिशूली प्रवाह
३ घण्टा अगाडी

विदुर । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा बिहीबार आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । नेपाली काङ्ग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका नुवाकोटका केसी संसद्का सबैभन्दा जेठो सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्पmबाट सांसद बनेका दुई सय ७५ सांसदमध्ये सबैभन्दा पाका हुनुहुन्छ । उहाँ अहिले ७८ वर्षका हुनुहुन्छ ।

सांसद केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावबाट निर्वाचित २७५ सांसदमध्ये केसी सबैभन्दा पाका सांसद रहेको पहिचान गर्दै सङ्घीय संसद् सचिवालयले उहाँको नाम राष्ट्रपति कार्यालयमा पठाएको थियो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिने र उहाँले अरू सदस्यलाई शपथ दिलाउने संवैधानिक व्यवस्था छ । बाँकी सदस्यका लागि भने सङ्घीय संसद् सचिवालयले आज बिहीबार शपथग्रहण गराएको छ । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधिसभाको अध्यक्षतासमेत गर्नुहुने बताइएको छ ।

निर्वाचनपछि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एक सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत एक सय १० गरी दुई सय ७५ जना निर्वाचित भएका छन् । शपथग्रहणमा उपस्थित हुन सङ्घीय संसद् सचिवालयले सार्वजनिक सूचना निकालिसकेको छ । शपथ खाएपछि आजका दिनदेखि सांसदहरूले ऐनअनुसार तलबभत्ता तथा सुविधा पाउने छन् । सङ्घीय सांसदको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवासुविधा ऐन २०७३ मा सांसदको सेवा सुविधाका सम्बन्धमा व्याख्या गरिएको छ । उक्त ऐनमा व्यवस्था भएअनुसार निर्वाचित सांसदले पहिलोपटक काठमाडौं आउँदा यात्रा खर्च पाउने व्यवस्था छ ।

केसीको राजनीतिक पृष्ठभूमि

काङ्ग्रेसका केन्द्रीय सदस्य रहेका केसी विसं २०३५ देखि नुवाकोटलाई कार्यक्षेत्र बनाई निरन्तर राजनीतिमा सक्रिय हुनुहुन्छ । काङ्ग्रेसले पाउने समानुपातिक सांसदको कोटामा केसीसहित विभिन्न क्लस्टरबाट २० जना निर्वाचित भएका छन् । विसं २०३८ मा राष्ट्रिय पञ्चायत सदस्यमा नुवाकोटबाट निर्वाचित केसी त्यसपछिका हरेक निर्वाचनमा उम्मेदवार बन्न छुट्नुभएको छैन । उहाँ विसं २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य (रापंस) मा पराजित भएपछि जिल्ला पञ्चायत सभापतिमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि पनि उहाँको नाम क्षेत्र नम्बर २ बाट समानुपातिकमा पहिलो नम्बरमा सिफारिस भएको थियो । ७८ वर्षीय केसी रापंस र सङ्घीय संसद् सदस्य निर्वाचनमा नौपटक सहभागी भए पनि राष्ट्रिय पञ्चायतमा एकपटक, सङ्घीय संसद्मा तीनपटक पराजित हुनुभयो । उहाँले विसं २०३८ मा भारी मतले रापंसमा जिते पनि विसं २०४३ मा भने हार व्यहोर्नुप¥यो । विसं २०४६ को जनआन्दोलनपछिको विसं २०४८ र २०५१ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट विजयी केसी विसं २०५६ र २०६४ का निर्वाचनमा उक्त क्षेत्रबाट पराजित हुनुभएको थियो । विसं २०७० को संविधानसभा निर्वाचनमा विजयी केसी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा साबिक क्षेत्र नम्बर ३ (हालको २ नम्बर निर्वाचन क्षेत्र)बाट हार्नुभयो भने विसं २०७९ को निर्वाचनमा निर्वाचित हुनुभयो । केसी पञ्चायतकालमा स्वास्थ्य राज्यमन्त्री हुँदै बहुदलीय व्यवस्थामा स्वास्थ्य, शिक्षा, आवास तथा भौतिक योजना र सहरी विकासमन्त्री हुनुभएको छ । विसं २०४६ पछि काङ्ग्रेसमा प्रवेश गर्नुभएका उहाँले केन्द्रीय सदस्य हुँदै केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । केसी राजनीति गर्दा पटक–पटक गरी तीन वर्ष कारागारको यातनासमेत भोग्नुभएका नेता हुनुहुन्छ । उहाँ काङ्ग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा रहेको कार्यसमितिमा केन्द्रीय सदस्य हुनुहुन्छ ।

सङ्घीय सांसदको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवासुविधा ऐन २०७३ अनुसार निर्वाचित सांसदले पहिलोपटक काठमाडौँ आउँदा यात्रा खर्च पाउने व्यवस्था छ । तर, उनीहरूले आफू चढेका जहाज वा बसको टिकट संसद् सचिवालयमा बुझाउनुपर्नेछ । काठमाडौँमा आइसकेपछि सांसदले घरभाडा तथा फर्निचरको सुविधा पनि पाउनेछन् । यसैगरी पहिलोपटक फर्निचर खर्चका लागि रु. १५ हजार दिने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यकामा घर नभएका सांसदलाई घरभाडाबापत मासिक रु.१८ हजार दिने व्यवस्था छ । सांसदले सञ्चार खर्चका लागि मासिक रु. तीन हजार, बिजुली र पानीका लागि मासिक रु. दुई हजार पाउनेछन् । उनीहरूका लागि मासिक तलब भने रु. ५५ हजार दुई सय ३० कायम गरिएको छ । यसैगरी विशेष भत्ता रु.एक हजार उपलब्ध हुने व्यवस्था ऐनले गरेको छ । सांसदले बैठक भत्ता पनि पाउने व्यवस्था छ । जसअनुसार संसद् बैठक वा संसदीय समिति बैठक बसेको दिन दैनिक रु. एक हजार बैठक भत्ता र सवारीसाधन भाडाका लागि थप रु.एक हजार उपलब्ध गराउने व्यवस्था छ । १५ दिन संसद् बैठक बसे बैठक र यातायात भत्ताबाट मात्रै रु. ३० हजार पाउने व्यवस्था ऐनमा गरिएको छ । सवारी सुविधा उपलब्ध नगराइएको सदस्यलाई सङ्घीय संसद्को कुनै सदनको वा कुनै समिति वा उपसमितिको वा दुवै सदनको संयुक्त बैठकमा भाग लिएको प्रत्येक दिनका निमित्त यातायात सुविधा पाउने व्यवस्था ऐनमा गरिएको छ । यसैगरी सङ्घीय संसद्को कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमण गर्दा पदाधिकारी वा सदस्यलाई दैनिक भ्रमण भत्ता रु.दुई हजार पाँच सय उपलब्ध गराउने व्यवस्था छ । ऐनअनुसार प्रतिनिधिसभाका सदस्य वा कुनै पदाधिकारीको पदावधि समाप्त नहुँदै मृत्यु भई वा निजले राजीनामा दिई वा प्रतिनिधिसभा विघटन भई त्यस व्यक्ति आफ्नो पदमा कायम नरहेमा त्यस्तो पदाधिकारी वा सदस्यको सदस्यता कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक महिनाको पारिश्रमिकबराबरको थप रकम दिइने उल्लेख छ । यसैगरी पदाधिकारी वा सदस्यको मृत्यु भए पदाधिकारी वा सदस्यले कसैलाई इच्छाएको रहेनछ वा इच्छाएको व्यक्ति जीवित रहेनछ भने त्यस्तो रकम त्यस व्यक्तिको नजिकको हकवालालाई दिइने पनि ऐनमा उल्लेख छ ।

 सांसदको उमेर

६० कटेका विसं २०७९ मा ८१ सांसद थिए, अहिले २९ मात्रै छन् । २९ सांसदमध्ये सबैभन्दा धेरै काङ्ग्रेसबाट नौजना छन् । जुन उसले जितेको कुल सांसद ३८ को २३.६८ प्रतिशत हो । त्यस्तै, एमालेले जितेको कुल २५ मध्ये आठ सांसद ६० वर्ष कटेका छन्, जुन ३२ प्रतिशत हो । नेकपाबाट कुल जितेका १७ मध्ये यो उमेर समूहमा पाँच सांसद छन्, जुन २९.४१ प्रतिशत हो । रास्वपाका कुल एक सय ८२ सांसदमध्ये ६० कटेका तीनजना मात्रै छन्, जुन १.६४ प्रतिशत मात्रै हो । त्यस्तै, राप्रपाबाट पाँचमध्ये दुई अर्थात् ४० प्रतिशत सांसद ६० कटेका छन् । स्वतन्त्रबाट महावीर पुन (७१) यो उमेर समूहका सांसद हुन् । यसपटकको संसद्मा युवा प्रभुत्व स्थापित भएको छ । प्रतिनिधिसभामा ४० वर्षमुनिका सांसद एक सय दुई, ३० वर्षमुनिका २६ र जेन–जी प्रतिनिधित्व गर्ने २८ वर्षमुनिका १३ निर्वाचित छन् । निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न आमनिर्वाचन २०८२ को परिणाम सार्वजनिक गरेसँगै नवनिर्वाचित प्रतिनिधिसभामा युवा सांसदको बाहुल्य देखिएको छ । ४० वर्षमुनिका सांसदको सङ्ख्या एक सय दुई छ । विसं २०७९ र २०८२ को निर्वाचनका सांसदको उमेरगत विश्लेषण गर्दा यसपटक ठुलो सङ्ख्यामा युवाहरू संसद् प्रवेश गरेका छन्, जसमा १३ जना जेन–जी उमेर (२८ वर्षमुनि) का छन् । वि.सं. २०७९ मा जेन–जी उमेर समूहका तीन सांसद थिए । विसं २०७९ को निर्वाचनमा ३० मुनिका पाँच सांसद मात्रै भएकामा यसपटक यो सङ्ख्या २६ पुगेको छ । यस्तै, वि.सं. २०७९ मा ३१–४० वर्षका २७ सांसद आएकोमा २०८२ मा ७६ जना निर्वाचित भएका छन् । ४१–५० वर्षका सांसद २०७९ मा ६९ जना रहेकोमा यसपटक ८८ पुगेका छन् । यस्तै, ५१ देखि ६० वर्ष उमेर समूहका सांसद २०७९ मा ९३ रहेकोमा यसपटक ५६ मा झरेको छ । यसबाहेक २०७९ मा ६१ देखि ७० वर्ष उमेरका ६३ रहेकामा अहिले २४ जना मात्र छन् । २०७९ मा ७१–८० वर्ष उमेरका १७ सांसद रहेकामा यसपटक मात्रै पाँचजना छन् । यसपटक संसद्मा ८० माथिका कोही आएका छैनन् भने २०७९ मा एकजना थिए । करिब दुईतिहाइ १८२ सिट जितेको रास्वपाबाट मात्रै युवा उमेर समूहका ८३ जना सांसद निर्वाचित भएका छन् । रास्वपाबाट ३० वर्षमुनि समूहका २३ सांसद निर्वाचित भएकोमा प्रत्यक्षबाट ११ र समानुपातिकबाट १२ सांसद छन् ।

त्यस्तै, ३१ देखि ४० वर्षका ६० सांसद निर्वाचित भएकोमा प्रत्यक्षबाट ४१ जना छन् भने १९ सांसद समानुपातिकबाट निर्वाचित भएका छन् । ४१ देखि ५० उमेर समूहका ६१ सांसद निर्वाचित भएकोमा प्रत्यक्षबाट ४३ र समानुपातिकबाट १८ जना सांसद निर्वाचित भएका छन् । ५१ देखि ६० उमेर समूहका ३५ सांसद निर्वाचित भएकोमा २८ जना प्रत्यक्ष र सातजना समानुपातिकबाट निर्वाचित भएका छन् । त्यस्तै, ६० वर्षमाथिका प्रत्यक्षबाट दुई र समानुपातिकबाट एक सांसद निर्वाचित भएका छन् । रास्वपाबाट ३० वर्षमुनिका २३ सांसद, ११ प्रत्यक्ष र १२ समानुपातिक प्रत्यक्ष (३० वर्षमुनिका) रहेका छन् ।

मातृभाषामा चार दर्जन सांसदले शपथ लिए

प्रतिनिधिसभामा नवनिर्वाचित २७५ सांसदमध्ये ४७ जनाले नेपालीबाहेक आफ्नै मातृभाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचनपछि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एक सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत एक सय १० गरी दुई सय ७५ जना निर्वाचित भएका छन् ।

आज निर्वाचितलाई शपथ गराइएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जना सांसदले मैथिली, भोजपुरी, नेपाल भाषादेखि लिएर संस्कृतसम्मका भाषामा शपथ लिन नाम दर्ता गराएकाले उहाँहरूको मागअनुसार शपथग्रहण गराइएको छ । सचिवालयका अनुसार नेपाली भाषापछि धेरै सांसदले मैथिली र नेपाल भाषामा शपथ लिनेछन् । केही सांसदले लोपोन्मुख भाषाहरू पनि रोजेका छन् । सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिनुभएको छ । त्यस्तै बझाङी, डोटेली, चाम्लिङ, बान्तवा, छन्त्याल र मगर खाम भाषाजस्ता रैथाने भाषा पनि यसपटक शपथका क्रममा संसद्मा सुनियो । केही सांसदले थारू भाषाभित्रको पनि राना थारू र कठरिया थारू भाषामा शपथ लिने भन्दै नाम टिपाएका छन् । संसद् सचिवालयका अनुसार बिहीबार नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम तय भएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ (२) मा कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले उपदफा (१) बमोजिमको शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति प्रतिनिधिसभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु तीन दिनअगावै सङ्घीय संसद् सचिवालयलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ । नेपाली मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा सम्बन्धित भाषामा आफैँ अनुवाद गरी सो अनुवादको प्रति सचिवालयको सुविधा व्यवस्थापन शाखामा बुझाएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह