Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

अग्निरेखा निर्माण तथा मर्मत सुरु

अग्निरेखा निर्माण तथा मर्मत सुरु
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । डिभिजन वन कार्यालय नुवाकोटले वन डढेलो नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानका सामुदायिक वनमा अग्निरेखा निर्माण तथा मर्मत सुरु गरेको छ । स्थानीय सामुदायिक वन उपभोक्ता समूहको लागत सहभागितामा स्थानीय श्रम प्रयोग गरी अग्निरेखा निर्माण तथा मर्मत भइरहेको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिनुभयो ।

डढेलो न्यूनीकरणका लागि वन क्षेत्रमा नयाँ अग्निरेखा निर्माण, पुराना अग्निरेखा मर्मत, वन क्षेत्र भएर जाने सडक तथा बाटो सरसफाइ गर्ने कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ । चालू आवमा नौ किलोमिटर अग्निरेखा (फायर लाइन) निर्माण गरिसकेको थप स्थानमा आवश्यकताअनुसार अग्निरेखा निर्माण गर्न समूहसँग छलफल भइरहेको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । कार्यालयले चार महिनाका लागि डढेलो नियन्त्रण दस्ता नियुक्ति गरी तीनजनालाई रोजगारीसमेत दिइरहेको उहाँले बताउनुभयो । वन डढेलो नियन्त्रणका लागि जिल्लाको हरेक सबडिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरेर दु्रत (सशक्त) प्रतिक्रिया टोली (फायर रेस्पोन्स टिम) निर्माण गर्ने तयारी भइरहेको कार्यालयले जानकारी दिएको छ ।

माझीगाउँ सामुदायिक वन विदुर-८ मा २५ सय मिटर, शिलादेवी सामुदायिक वन बेलकोटगढी-७ मा दुई सय मिटर, वनदेवीकाली सामुदायिक वन पञ्चकन्या–१ मा ६ सय मिटर, नारुनदेवी सामुदायिक वन पञ्चकन्या–५ मा दुई मिटर र महादेवस्थान सामुदायिक वन म्यागङ–३ मा दुई सय ५० मिटर अग्निरेखा निर्माण भइसकेको छ । त्यसैगरी, सिक्रेघर्ती भन्ज्याङ सामुदायिक वन तारकेश्वर–२ मा नौ सय मिटर, बासपानी सामुदायिक वन विदुर–७ मा दुई सय मिटर र पञ्चकन्या सामुदायिक वन विदुर–३ मा तीन सय मिटर अग्निरेखा निर्माणको क्रममा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह