विदुर । ज्योति विकास बैंकको काठमाडौंमा गत बिहीबार सम्पन्न १८औँ वार्षिक साधारणसभाले बैंकको आव २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा सम्पन्न साधारणसभाले लेखा परीक्षकको प्रतिवेदनसहित विसं २०८२ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी सभाले बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि.को आव २०८१/०८२ को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गरेको छ । साथै, सभाले बैंकको आव २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावउपर छलफल गरी पारित गरेको छ । बैंकको खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानीमार्फत हरेक वर्ष दुई हजार पाँच सय ९० भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको दाबी गरेको छ । यसै अवसरमा बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको जनाउँदै आर्थिक वर्षमा रु.४१ करोड करमा योगदान पुर्याएको जनाएको छ । बैंकको हालको चुक्ता पुँजी रु.चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ । नुवाकोटको नौवटा शाखासहित बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय १७ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय १७ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।






प्रतिक्रिया