+
Search

ताजा अपडेट +

पपुलर +

डढेलो नियन्त्रणका लागि चेतनामूलक पदयात्रा

डढेलो नियन्त्रणका लागि चेतनामूलक पदयात्रा
त्रिशूली प्रवाह
३ महिना अगाडी

धुन्चे । रसुवा जिल्लामा बर्सेनि बढ्दो वन डढेलो नियन्त्रण गर्न चेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबार सदरमुकाममा चेतनामूलक पदयात्रा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय रसुवाका अनुसार चैत १ गतेदेखि सुरु गरिएको चेतनामूलक पदयात्रा, कार्यालयको कार्यक्षेत्रअन्तर्गत सबै पालिकामा सञ्चालन गरिनेछ ।

Utsuk Books & Stationery

डढेलो नियन्त्रण र वन संरक्षणसम्बन्धी सन्देश बोकेका प्ले कार्डसहित पदयात्रामा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रहरी कार्यालय, स्थानीयवासी तथा राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो । उक्त पदयात्रा सदरमुकाम बजार परिक्रमापश्चात् कार्यालय पुगेर समापन गरिएको थियो । पहिलोपटक भएको पदयात्राले स्थानीयवासीमा डढेलो नियन्त्रण र वन संरक्षणसम्बन्धी सन्देश फैलाउन सफल भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । ¥यालीका सहभागीले ‘डढेलो नियन्त्रण गरौँ, संरक्षणमा टेवा पु¥याऔँ’, ‘लाग्दा आगो जङ्गलमा-घर जल्यो चराको’, ‘आगो लगाउनेलाई जीवनभरिको श्राप लाग्छ’, ‘रुखबिरुवा जोगाउनु हामी सबैको कर्तव्य हो’ जस्ता सन्देशमूलक नारा लगाएका थिए । साथै, डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन सबैलाई सहयोग गर्न आग्रहसमेत वन कार्यालयले गरेको छ । यस्ता चेतनामूलक सन्देशमूलक कार्यक्रमले डढेलो नियन्त्रणमा कमी आई वन संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

डिभिजन कार्यालय प्रमुख शम्भु तामाङका अनुसार रसुवाका जङ्गलमा प्रत्येक वर्ष ठुलो परिमाणमा वन डढेलोको चपेटामा पर्ने गरेकाले अनगिन्ती चराचुरुङ्गी तथा वन्यजन्तु नष्ट हुँदै गएकाले समग्र जैविक विविधताको संरक्षणका लागि यस्ता चेतनामूलक कार्यक्रम अगाडि बढाइएको छ । डढेलो लगाउने कार्य अपराध भएकाले यस्तो काम नगर्न-नगराउन सबैमा अनुरोध गर्दै कार्यालय प्रमुख तामाङले यस वर्षबाट डढेलो नियन्त्रणमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो । वन प्राविधिकका अनुसार विशेष गरी हाँकु क्षेत्रका पाखामा वर्षमा दुईदेखि चारपटकसम्म डढेलो लाग्ने गरेकोमा चेतनामूलक कार्यक्रमले न्यूनीकरणमा सहज हुने कार्यालयले विश्वास गरेको छ । यसैबिच वनमा आगो लगाउने, रुख काट्ने तथा चराचुरुङ्गी र वन्यजन्तु मार्ने गतिविधिमाथि निगरानी बढाउन यस वर्षदेखि डिभिजन वन कार्यालय रसुवाले ड्रोन क्यामेरासमेत प्रयोगमा ल्याएको जनाएको छ । जङ्गलमा धुवाँ देखिएलगत्तै ड्रोन उडाएर निरीक्षण गर्दा डढेलो लगाउने व्यक्तिको तस्बिरसमेत प्राप्त हुने भएकाले नियन्त्रण र पक्राउ कार्य सहज हुने वन प्राविधिकको विश्वास छ । यसअघि भने रसुवामा डढेलो लगाउने व्यक्तिलाई कुनै पनि सुरक्षा निकायले पक्राउ गर्न नसकेका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह