काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार विसं २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५.८ प्रतिशत र कुल कर्जा प्रवाहमा ५९.५ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ सम्ममा बैंक तथा वित्तीय संस्थाले कुल रु.७२ खर्ब ९५ अर्ब ६९ लाख ३० हजारबराबर निक्षेप सङ्कलन गर्दा बागमती प्रदेशबाट मात्र रु.४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाखबराबर निक्षेप उठेको छ । यस्तै, कोशीबाट रु.पाँच खर्ब ५३ अर्ब तीन करोड ७९ लाख, मधेश प्रदेशबाट रु.चार खर्ब सात अर्ब ७३ करोड ७२ लाख, गण्डकीबाट रु.६ खर्ब १२ अर्ब २९ करोड ५७ लाख, कर्णालीबाट रु.९१ अर्ब नौ करोड र सुदूरपश्चिमबाट रु.एक खर्ब ७३ अर्ब ८३ करोड बराबर निक्षेप सङ्कलन भएको छ ।
यस्तै, गत असार मसान्तसम्म कुल रु.५५ खर्ब ८६ अर्ब २९ करोड २२ लाखबराबरको कर्जा प्रवाह हुँदा बागमती प्रदेशबाट मात्र रु.३३ खर्ब २३ अर्ब ३१ करोड ६१ लाखबराबर ऋण लगानी भएको छ । कोशी प्रदेशबाट रु.६ खर्ब १३ अर्ब ३८ करोड ९६ लाख, मधेश प्रदेशबाट रु.चार खर्ब ९५ अर्ब ८६ करोड, गण्डकीबाट रु.तीन खर्ब ५६ अर्ब ९२ करोड ५७ लाख, लुम्बिनीबाट रु.पाँच खर्ब ७७ अर्ब २७ करोड ६१ लाख, कर्णालीबाट रु.६२ अर्ब १२ करोड र सुदूरपश्चिमबाट रु.एक खर्ब ५७ अर्ब ४० करोड ४१ लाखबराबर कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार विसं २०८१ असार मसान्तको तुलनामा विसं २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा ०.०४ प्रतिशतले घटेर रु.तीन खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ । गत वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी रु.६१ अर्ब १९ करोड कर्जा पशुपालन पशु बधशाला शीर्षकमा र सबैभन्दा कम सुर्तीमा रु.२० करोड ६५ लाख प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६.७, मधेशको १८.७, बागमतीको ३६.२, गण्डकीको ७.१, लुम्बिनीको १५, कर्णालीको १.५ र सुदूरपश्चिम प्रदेशको ४.७ प्रतिशत रहेको छ । यसैगरी, गत असार मसान्तसम्ममा औद्योगिक क्षेत्रमा रु. १६ खर्ब ९९ अर्ब ४९ करोड कर्जा प्रवाह भएको छ । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ ।
औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५.२७, विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.२६, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.८५, निर्माणसम्बन्धी उद्योगमा ११.७०, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ४.२३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको छ । प्रतिवेदनअनुसार गत असार मसान्तसम्म प्रवाहित औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रु.१२ खर्ब ८० अर्ब ९७ करोड अर्थात् यस शीर्षकमा प्रवाहित वार्षिक कर्जाको ७१.३ प्रतिशत रहेको छ । त्यसपछि कोशीको ९.५ र लुम्बिनी प्रदेशको ८.३ प्रतिशत रहेको छ । मधेशको ७.५, गण्डकीको १.६, कर्णालीको ०.२ र सुदूरपश्चिमको १.६ प्रतिशत रहेको छ । यस्तै, सेवा क्षेत्रमा गत आवको अन्त्यसम्म कर्जा प्रवाह रु.२१ खर्ब ८४ अर्ब चार करोड पुगेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश मात्रै ३९.१ प्रतिशत छ ।






प्रतिक्रिया