+
Search

ताजा अपडेट +

पपुलर +

पहिलो मधेसी प्रधानमन्त्री शाह मन्त्रिमण्डलमा

नुवाकोट १ का सांसद डा. तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री

पहिलो मधेसी प्रधानमन्त्री शाह मन्त्रिमण्डलमा
त्रिशूली प्रवाह
२ दिन अगाडी

विदुर । देशले विसं २०१५ र २०७४ पछि झन्डै दुईतिहाइ बहुमतसहित पहिलोपटक मधेसी समुदायबाट प्रधानमन्त्री पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता ३६ वर्षीय बालेन्द्र शाहले गत शुक्रबार राज्यको कार्यकारी प्रमुखको कार्यभार सम्हाल्नुभएको छ । धेरै अघिदेखि नेपालको राजनीतिमा पुस्तान्तरणको बहस चल्ने गरेको भए पनि यसपटकको निर्वाचनले उक्त बहसलाई सार्थक बनाइदिएको छ ।

नवपुस्ताको आन्दोलनपछिको राजनीतिक परिवर्तनको जगमा इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्नुभएका बालेनको मन्त्रिपरिषद्मा अधिकांश नयाँ र युवा उमेर समूहका सदस्य छन् । झापा ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहले जननिर्वाचित सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले शाहलाई आसन हस्तान्तरण गर्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभयो । संविधानको सो धारामा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सो दिन आयोजित विशेष समारोहबिच राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । शाह पद तथा गोपनीयताको शपथ लिन बिहान ११ बजेर ३० मिनेटमा शीतलनिवास पुग्नुभएको थियो । उहाँले १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्नुभयो । शपथ समारोहस्थलमा सातवटा शङ्खनादसहित एक सय आठजना वटुकले स्वस्ति वाचन र बौद्ध भिक्षुद्वारा अष्टमङ्गल पाठ गरियो । देवीदेवतालाई जागृत तुल्याएर पूजा सङ्कल्प ग्रहण गरी शुभ प्रतिफल पाउने विश्वासका साथ स्वस्ति वाचन र अष्टमङ्गल पाठ गरिन्छ । शपथ समारोहस्थलमा नेपाल वेद विद्यालय संस्कृत माध्यमिक विद्यालय पशुुपति क्षेत्रबाट स्वस्ति वाचनका लागि वटुकलाई ल्याइएको थियो । शपथका लागि राष्ट्रपतिको कार्यालयमा तयार गरिएको मञ्चमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उपस्थित हुनुहुन्थ्यो ।

बालेन नेतृत्व सरकारमा नुवाकोट १ बाट निर्वाचित डा.विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री रहनुभएको छ । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्य तिमिल्सिना रेडियो सगरमाथामा केही समय काम गरेका पत्रकार हुनुहुन्छ । नुवाकोट जिल्ला, पञ्चकन्या गाउँपालिका, बानियाँटारका ४३ वर्षीय उहाँले अस्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेसनबाट पिएचडी गर्नुभएको छ । क्विन्सल्यान्ड विश्वविद्यालयबाट पनि अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा पनि स्नातकोत्तर गर्नुभएको छ । चुनावअघिसम्म उहाँले त्रिविअन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल एकेडेमीमा सशस्त्र प्रहरी अधिकृतका लागि पोस्ट ग्य्राजुएट डिप्लोमाअन्तर्गत सुरक्षा व्यवस्थापन अध्यापन गराउँदै आउनुभएको थियो । त्यस्तै, मानविकी सङ्कायअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण शिक्षामा पनि अध्यापन गराउनुहुन्थ्यो । एसियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्चमा अध्यक्ष तथा अनुसन्धान फेलोका रूपमा काम गरेको उहाँको अनुभव छ । उहाँसँग नेपालमा अपाङ्गता भएका व्यक्तिको वित्तीय समावेशीकरणसम्बन्धी प्रोजेक्टमा प्रमुख अनुसन्धानकर्ता/लेखकका रूपमा समेत काम गरेको अनुभव छ । तिमिल्सिना २२ हजार ६ सय नौ मतसहित विजयी हुँदा नेपाली (काङ्ग्रेस) का नेता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई नुवाकोट २ बाट चार हजार १२ मतले पराजित गर्नुभएको छ । विगतका हरेकपटक बन्ने सरकारमा नुवाकोटको प्रतिनिधित्व हुने गरेको परम्पराले यसपटक पनि निरन्तरता पाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.तिमिल्सिनाले जनमुखी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयका कामकारबाहीबारे शनिबार जानकारी लिँदै उहाँले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा जोड दिनुभयो । ‘सेवा प्रवाह छिटो र छरितो हुनुपर्यो। कुनै पनि विवादित काम हुनुभएन,’ मन्त्री डा.तिमिल्सिनाले भन्नुभयो, ‘सेवाग्राहीले समस्या महसुस गर्नुभन्दा अगाडि नै हामीले समाधान गरिसक्नुपर्छ । जनभावनालाई सम्मान गरेर देशले खोजेको बाटोमा मुलुकलाई अगाडि बढाउन सबैले योगदान गर्नुपर्छ ।’ उहाँले देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको र निर्वाचनले अभूतपूर्व ‘म्यान्डेट’ दिएको बताउँदै जनअपेक्षा धेरै भएकाले जनताले तत्काल अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने दायित्व रहेको स्पष्ट गर्नुभयो । उहाँले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजनासहित आउन उच्चपदस्थ अधिकारीलाई आग्रह गर्दै सञ्चार मन्त्रालयलाई नमुना मन्त्रालयका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले ‘डिजिटल डिभाइड’ हटाउन कार्ययोजनासहित द्रुतगतिमा काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले तत्काल ‘रिफर्म’ गर्नुपर्ने, नयाँ मस्यौदा गर्नुपर्ने ऐन चाँडो प्रस्तुत गर्न तथा जनतालाई राहत हुन सक्ने र सकारात्मक सन्देश दिन सकिने कामको कार्ययोजना तयार पार्न निर्देशन दिनुभयो । मन्त्री डा. तिमिल्सिनाले सामूहिक नेतृत्व प्रणाली, समन्वय र सहकार्यबाटै चाँडो परिणाम आउने भन्दै सबै जिम्मेवार भएर काममा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘आ-आफ्नो तहबाट प्रोएक्टिभ भएर काम गरौँ, जनताले खोजेको गतिअनुसार समय दिएर काम गर्न जरुरी छ ।’ मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले जनचाहनाअनुरूप सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन मन्त्रालय कार्ययोजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको दूरसञ्चार सेवालाई प्रभावकारी बनाई गुनासो नआउने किसिमले काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।

नवगठित मन्त्रिमण्डलमा शाह प्रधानमन्त्री रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति, डा.स्वर्णिम वाग्ले अर्थमन्त्री, सुदन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्कराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानीमन्त्री, डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री, दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह