धुन्चे । नेपाल-चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका १५ दिन बन्द हुने भएको छ । यो नाका जोड्ने स्याफ्रुबेँसी-रसुवागढी सडकखण्ड स्तरोन्नति गर्नका लागि हिजो बुधबारदेखि १५ दिन बन्द गरिएको हो ।
गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजना कार्यालयका अनुसार सडकका १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन र सडकलाई दुई लेनमा विस्तार गर्न यातायात बन्द गरिएको हो । योजनाका अनुसार आगामी तीन महिनासम्म प्रत्येक अङ्ग्रेजी महिनाको १ देखि १५ तारिखसम्म सडक बन्द गरिने छ । जसअनुसार यसपटक बुधबारदेखि वैशाख २ सम्म सडक बन्द रहने छ । गत वर्षको असार २४ गते चीनतर्फबाट आएको बाढीका कारण क्षतिग्रस्त बनेको यो खण्ड अहिले निकै साँघुरो र जोखिमपूर्ण छ । चीन सरकारको रु.साढे ६ अर्ब अनुदानमा चिनियाँ कम्पनी ‘सिचाङ थियान्लु’ ले यो १५.५ किलोमिटर सडकको स्तरोन्नति गर्ने जिम्मा पाएको छ ।






प्रतिक्रिया