+
Search

ताजा अपडेट +

पपुलर +

गत्लाङमा ‘ड्रोन’ बाट बिउ छरिँदै

गत्लाङमा ‘ड्रोन’ बाट बिउ छरिँदै
त्रिशूली प्रवाह
३ घण्टा अगाडी

धुन्चे । डढेलोका कारण उजाड बनेको रसुवा जिल्ला आमाछोदिङ्मो-३ को गत्लाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । हरियाली बनाउनका लागि डिभिजन वन कार्यालय रसुवाले ‘ड्रोन’मार्फत वनस्पतिका बिउ छर्ने भएको छ । विसं २०६५ मा गत्लाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा परेको थियो । आगोको चपेटाबाट सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति जलेर नष्ट भएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले भौगोलिक असहज भएपछि डढेलोका कारण उजाड बनेका गत्लाङका वन क्षेत्रमा ड्रोनबाट वनस्पतिका बिउ छर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय हावापानी सुहाउँदा वनस्पतिका बिउ सङ्कलन अहिले तीव्र रूपमा भइरहेको छ । आगामी जेठको अन्तिम सातादेखि ड्रोन प्रयोग गरी बिउ छर्ने कार्य सुरु गरिने छ ।’ यसका लागि ‘इसिमोड’, वन विज्ञान अध्ययन संस्थान तथा डिभिजन वन कार्यालयबिचको त्रिपक्षीय साझेदारीसमेत भएको छ । वि.सं. २०६५ मा डढेलोले प्रभावित चार सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा एक सय हेक्टर जमिनमा बिउ छर्ने तालिका तय गरिएको छ । गत्लाङ जङ्गलमा रहेका करिब १६ हजार गोब्रेसल्ला, ठिउरेसल्ला, लालीगुराँस तथा अन्य बहुमूल्य प्रजातिका रूख आगलागीबाट नष्ट भएको जनाइएको छ ।

आर्थिक वर्ष २०७९/०८० देखि व्यवस्थापन कार्य सुरु भए पनि डढेका रुखको उचित व्यवस्थापन गर्न नसक्दा जङ्गलले लामो समयसम्म पुनर्जीवन पाउन नसकेको बताइएको छ । वन पुनस्र्थापनाअन्तर्गत हालसम्म ३० हजारभन्दा बढी सल्लाका बिरुवा रोपिसकिएको छ । तीमध्ये करिब २५ हजार बिरुवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको वन कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयको कार्यक्षेत्र समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । विसं २०५६ सालमा लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धेरै आधार इलाका रूपान्तरण भएपछि वन कार्यालयको कार्यक्षेत्र घटेर अहिले १८ हजार एक सय २० हेक्टरमा सीमित रहेको छ । त्योमध्ये आठ हजार तीन सय २१ हेक्टर समुदायमा हस्तान्तरण भइसकेको छ । हाल आमाछोदिङ्मो गाउँपालिकाको पाँचवटा वडा, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ तथा उत्तरगया-१, २ र ३ समेत नौवटा वडा छन् । हाल गठित ६८ वटा सामुदायिक वन यसअन्तर्गत संरक्षणको काम अगाडि बढिरहेको छ ।

वन कार्यालयले डढेलो नियन्त्रणका चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । जिल्लाको भिरालो भूगोल, चैत-वैशाखको हुरीबतास र दुर्गम वनक्षेत्रका कारण आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्ने गरेको छ । त्रिशूली नदीपारिको पश्चिमी रसुवामा रहेको यो वनक्षेत्र मालागढीदेखि अँधेरी खोलासम्म फैलिएको छ । थुमन, तातोपानी, चिलिमे, गोल्जुङ, गत्लाङ, हाकु, नेसिङ, करुम्राङ, कटुन्जे, डाँडागाउँलगायत गाउँ वनसँग प्रत्यक्ष रूपमा जोडिएको वन प्राविधिकले जनाएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह