धादिङबेँसी । धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका थोपल खोलामा स्थानीयको पहलमा पुल निर्माण सुरु भएको छ । लामो समयदेखि पुल निर्माणको माग गरिए पनि सम्बन्धित सरकारी निकायबाट सहयोग नपाएपछि स्थानीयले आर्थिक सङ्कलन गरेर पुल निर्माण थालेका हुन् ।
नीलकण्ठ नगरपालिकालगायत अन्य सरोकारवालासँग थोपल खोलास्थित पहरेभिर–कोत्रे क्षेत्रमा पुल निर्माणका लागि पटकपटक माग गरिए पनि अहिलेसम्म कुनै योजना परेको छैन । तर, आवतजावतमा अति नै समस्या भएपछि सहयोग जुटाएर पुल बनाउन थालेको स्थानीय विष्णु श्रेष्ठले बताउनुभयो । ‘निर्माण भइरहेको पुलका लागि हाल जग तथा मेसिनरी पर्खाल लगाउने काम भइरहेको छ । दुवैतर्फ जग बसाल्ने, खोलाको बिचभागमा पिल्लर राख्ने र माथि फलामको पाता राख्ने तयारी गरिएको छ,’ उहाँले भन्नुभयो । ‘पञ्चायत कालदेखि झोलुङ्गे पुल बनाउन सर्भे गरिए पनि अहिलेसम्म पुल बनेन । कतैबाट योजना नपरपछि हामी आफैँले रकम जुटाएर काम सुरु गरेका हौँ । प्राविधिक मूल्याङ्कनअनुसार पुल निर्माणका लागि करिब रु.१५ लाख लागत लाग्ने अनुमान छ,’ उहाँले भन्नुभयो, ‘मैले पनि प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा निर्वाचन प्रहरीका रूपमा काम गर्दा पाएको तलब रु.४८ हजारमा रु.२२ हजार थपेर रु.७० हजार सहयोग गरेको छु । अन्य स्थानीयले पनि आ-आफ्नो क्षमताअनुसार सहयोग गरिरहनुभएको छ ।’ ‘अन्य स्थानीयले पनि सकेको रकम सहयोग गरेका छन् । बनाउँदै जाँदा कतैबाट सहयोग जुट्ला, स्थानीय सरकारले पनि हेर्ला भन्ने आस छ,’ उहाँले भन्नुभयो । पुल निर्माणमा स्थानीयको सक्रियता बढेपछि सहयोगी हात पनि बढेको स्थानीय होमनारायण श्रेष्ठ बताउनुभयो । ‘सबैले सहयोग गर्छौँ भनिरहेका छन् । रसिद छाप्न दिएका छौँ, केही दिनबाट रकम सङ्कलन द्रुतरूपमा अघि बढ्छ । विकास निर्माणको काम हो । पुल बने हामी स्थानीयलाई नै सहयोग पुग्ने हो । सबैले सकेको सहयोग गरे चाँडै नै यो पुल बन्छ,’ उहाँले भन्नुभयो । ‘अहिले त तीन तहको सरकार छ ।
स्थानीय सरकारले पनि थोरै आर्थिक सहयोग गर्ला कि भन्ने आस छ,’ उहाँले भन्नुभयोे, ‘जनप्रतिनिधिसँग कुराकानी भइरहेको छ । हाम्रै सेवामा रहेका उहाँहरूले पनि थोरधेरै सहयोग कसो नगर्नुहोला ।’ पहरेभिर कोत्रेस्थित थोपल खोलामा पुल बन्ने भएपछि बुद्धसिंह तामाङले पनि रु.पाँच हजार सहयोग गर्नुभएको छ । विसं २०७२ को भूकम्पले आफ्नो थातथलो छाडेर विस्थापित भई उहाँ सालबोटेमा बस्दै आउनुभएको थियो । छरछिमेकी सबै मिलेर थालेको पुण्यको काममा हातेमालो गर्न सहयोग गरेको उहाँले बताउनुभयो ।






प्रतिक्रिया