धुन्चे । रसुवा जिल्लामा नेपाल बैंक लिमिटेड धुन्चे शाखा स्थापना भएसँगै बैंकिङ सेवालाई प्रविधिमैत्री बनाएपछि कार्य सम्पादनमा सुधार गर्दै सेवाग्राहीको विश्वास जितिरहेको छ । बैंकको सेवा प्रविधियुक्त र ग्राहकमैत्री भएकाले सेवाग्राहीलाई सहज भएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो ।
धुन्चे शाखाका प्रबन्धक ल्हाक्पारिज्जी शेर्पाका अनुसार जिल्लाको धुन्चे र स्याफ्रुबेँसीबाट सेवा सञ्चालन भइरहेको र नियमित कारोबार गर्ने सेवाग्राहीको सङ्ख्या दुई सयभन्दा बढी रहेको छ । बैंकबाट सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत पाँच सय २४ भन्दा बढी खाता सञ्चालनमा छ भने पेन्सन बुझ्ने ६० जना छन् । सरकारी कार्यालय र सङ्घसंस्थाका सबै प्रकारका भुक्तानी र प्रक्रिया यही बैंकमार्फत हुँदै आएको छ । विसं २०३३ मा रसुवामा धुन्चे शाखा स्थापना भई जिल्लाको आर्थिक गतिविधि गुणस्तरीय बनाउन बैंकले महत्त्वपूर्ण भूमिका खेलेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । हाल १५ जना कर्मचारीबाट सेवा दिइरहेको बैंकले जिल्लामा मात्रै नियमित बैंकिङ सेवा प्रयोग गर्ने सात हजारभन्दा बढी सेवाग्राही रहेका छन् । बैंकले २४सै घण्टा सेवाका लागि एटिएम काउन्टरसमेत स्थापना गरेर ग्राहकलाई सुविधा दिइरहेको छ । नेपाल राष्ट्र बैंकको नोटकोषसमेत सञ्चालन गरिरहेको धुन्चे शाखाले जिल्लामा ‘क’ वर्गका बैंकसँग अन्तरबैंक कारोबारसमेत सहज रूपमा गरिरहेको छ ।
शाखा प्रबन्धक शेर्पाका अनुसार स्याफ्रुबेँसीबाट ठुलोस्याफ्रु, खाम्जिङ, पेल्गो, वृद्धिम, थुमन, गोल्जुङ, गत्लाङलगायत गाउँका जनताले सेवा लिइरहेका छन् । सदरमुकाम धुन्चेमा बढ्दो सेवाग्राहीको चापलाई मध्यनजर गर्दै व्यवस्थापन गर्न र उत्तरी भेगका जनतालाई स्थानीयस्तरमै बैंकिङ सेवा छिटोछरितो र गुणस्तरीय बनाउन बैंकले ती स्थानमा काउन्टर खोलेर सेवा दिइरहेको छ ।






प्रतिक्रिया