अर्जुननरसिंह केसी
नेता, नेपाली काङ्ग्रेस
प्रतिनिधिसभा सदस्य
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभाका समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा-ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाउनुभएको छ । पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भन्दै हुने गरेका टिप्पणीले फरक नपर्ने उहाँको भनाइ छ ।
विसं २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कु’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेलजीवन सुरु गरेको र पार्टीजीवनमा आफ्नो छुट्टै पहिचान भएको उहाँको दाबी छ । केसीले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाले सभापति थापाको ससुराको रूपमा मात्र चिन्ने गरेको टिप्पणी गर्नुभयो । सभापतिसँग जोडेर हुने गरेको टिप्पणी बनिबनाउ षड्यन्त्र भएको उहाँको भनाइ छ । उहाँले नेपाली काङ्ग्रेसभित्रैबाट आफ्नो पहिचान गगनको ससुराको रूपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्तिसमेत जनाउनुभएको छ ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोइरालासहितको प्रसङ्ग निकाल्दै केसीले पार्टीमा कैयौँ नेताहरूले आफ्नै योगदानका आधारमा भूमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु अन्याय हुने बताउनुभयो । ‘गिरिजाबाबु प्रधानमन्त्री हुँदाहुँदै अथवा सभापति हुँदाहुँदै उपसभापति शैलजा आचार्य भएको होइन ? शैलजाको आफ्नै इतिहास थियो, आफ्नै योगदान थियो । कसैले प्रश्न उठाउने कुरा पनि भएन,’ केसीले भन्नुभयो, ‘आचार्य त्यही वेला गिरिजाबाबु हुँदा मन्त्री, उपप्रधानमन्त्री भएको होइन र ?’ गिरिजाबाबुले सभापति हुँदाहुँदै उपसभापति सुशील कोइरालालाई दिएको उहाँले स्मरण गराउनुभयो । ‘नाता भनेर एउटा काँचो मान्छे, कहिल्यै नचिनेको मान्छेलाई कसैले ल्याएको भए यो एउटा प्रश्न हुन्छ,’ उहाँले भन्नुभयो ।
पार्टी निर्माण र व्यवस्था पुनःस्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीले आफूलाई न्याय गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आफू रूपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबीसमेत गर्नुभयो । उहाँले काङ्ग्रेस बदलिएको हेर्न नचाहनेले ममार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै दुःखेसो गर्नुभयो ।
काङ्ग्रेसका नेता केसीले पार्टी संसदीय दलको नेता सहमतिमा यसै हप्ता चयन हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘संसदीय दलको बैठक बसेर दुई-तीन दिनभित्रै हामी यसलाई टुङ्ग्याउँछौँ । यो कुनै जटिल विषय होइन ।’ उहाँले दलको नेतामा आफ्नो दाबी स्वाभाविक भए पनि सहमतिमा चयन हुने जिकिर गर्नुभयो । उहाँले थप्नुभयो, ‘अहिले को ब्याक हुने, को अगाडि बढ्ने भन्दा पनि सहमतिमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’ उहाँले सभापति थापासँग आफ्नो नाता जोडेर प्रहार भइरहेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘गगन र मलाई जोडेर प्रहार भइरहेको छ । गगनको आफ्नै हैसियत र व्यक्तित्व छ । म धेरै अगाडिदेखि राजनीतिमा लागेको हुँ, त्यो नातालाई जोडेर व्याख्या गर्नुपर्ने कुनै कारण छैन ।’






प्रतिक्रिया