धुन्चे । आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि गराउने उद्देश्यले नेपालकै तेस्रो पर्यटकीयस्थल लाङ्टाङ क्याङजिङदेखि स्याफ्रुबेँसीसम्म दोस्रो लाङ्टाङ ट्रेल रन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । एक सय ६ महिला र पुरुष सहभागीमध्ये पुरूषतर्फ मिलन कुलुङ र महिलातर्फ अञ्जली गुरुङ पहिलो भएर क्रमशः रु.एक-एक लाखसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनुभएको छ ।


प्रतियोगिताको महिलातर्फ दोस्रो सुरक्षा तामाङ, तेस्रो विदेशी अन्ना-लेना फर्टनर, चौथो गीता महर्जन, पाँचौँ सोनु पौडेल र पुरुषतर्फ दोस्रो वीरबहादुर बुढा, तेस्रो विशाल राई, चौथो गोपाल तामाङ र पाँचौँ चन्द्र राउत हुनुभएको छ । दुवैतर्फका दोस्रोदेखि पाँचौँसम्मका विजेतालाई क्रमशः रु.७५ हजार, रु.५० हजार, रु.२५ हजार, रु.१५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र दिइयो । प्रतियोगिता बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग एवम् प्रदेश खेलकुद विकास परिषद्, नेपाल पर्यटन बोर्ड र स्थानीय तहका सहकार्यमा भएको थियो जसको आयोजना रसुवा-नुवाकोट पर्यटन समाजले गरेको हो । विसं २०७२ को भूकम्पपछि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लाङटाङ म्याराथन आयोजना गरेको थियो भने समाजको आयोजनामा पहिलो लाङटाङ ट्रेल रन गत वर्ष जेठ २४ गते र दोस्रो शनिबार सम्पन्न भएको छ । बागमतीको हिमाली भू-भाग केवल पदयात्राका लागि मात्र नभई साहसिक खेलकुद पर्यटनको नयाँ गन्तव्यका रूपमा समेत स्थापित गराउने उद्देश्यका साथ प्रतियोगिता गराइएको समाजका सचिव दिनेश तामाङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो ।

लाङ्टाङ २०७२ को विनाशकारी भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । भूकम्पपछि विस्थापित स्थानीयवासीको पुनस्र्थापना र पर्यटन पुनर्जीवनका लागि समाजले महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष न्यौपानेले बताउनुभयो । प्रतियोगितामा १८ देखि ४५ वर्षसम्मका स्वदेशी र विदेशी खेलाडीको सहभागिता थियो । समाजका अध्यक्ष बलराम न्यौपानेको अध्यक्षतामा भएको प्रतियोगिताको दोस्रो संस्करणको जेठ २३ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लाङ्टाङमा उद्घाटन गर्नुभएको थियो भने समापन रसुवा प्रदेशसभा ‘ख’का सदस्य इन्द्र गोतामेले स्याफ्रुबेँसीमा गर्नुभएको थियो । समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरे, गोसार्ईँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, रसुवा नुवाकोट पर्यटन समाजका विज्ञ सल्लाहकार दीपक महत, प्रदेश सभा सदस्य एवम् नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, गोसाईँकुण्ड-५ का वडाध्यक्ष दावामिङ्मार तामाङ, खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज तामाङलगायतको उपस्थिति थियो ।






प्रतिक्रिया