विदुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना ‘नवौँ राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगिता-२०८३’ भोलि शुक्रबार (जेठ २९ गते) देखि नुवाकोटको विदुर-४ विदुरस्थित इलम प्रशिक्षण केन्द्र परिसरमा सुरू हुने भएको छ । प्रतियोगिता तीन दिन चल्ने छ । १८ दोहोरी टोलीबिच प्रतिस्पर्धा हुने जानकारी प्रतिष्ठानले बिहीबार धापासीस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

ऐतिहासिक एवं साँस्कृतिक जिल्ला नुवाकोटमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जेठ २९, ३० र ३१ गते आयोजना हुने प्रतियोगिताले नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्य राखेको छ । प्रतियोगितालाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट प्रक्रिया पूरा गरिएको छ । जसअनुसार सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट २-२ समूह, उपत्यका समन्वय समितिका उत्कृष्ट दुई समूह र विदेश शाखाका उत्कृष्ट दुई समूह गरी कूल १८ उत्कृष्ट टोलीले रनिङशिल्डका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुने टोलीले शिल्डसहित नगद रू.तिन लाख पुरस्कार प्राप्त गर्नेछ । यसैगरी, द्वितीय पुरस्कार रू.दुई लाख, तृतीय पुरस्कार रू.एक लाख र सान्त्वना पुरस्कार रू.५० हजार तोकिएको छ । विधागततर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका, अनुशासित गायक÷गायिका र उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने गायक-गायिकाका लागि समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतियोगिताको भव्य उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामाले शुक्रबार मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा नुवाकोटका अध्यक्ष सन्तोषी केसीले जानकारी दिनुभयो । दोस्रो दिन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ र समापन समारोह (अन्तिम दिन) विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । मूल समारोहको संयोजक प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगर आफैँ हुनुहुन्छ भने सहसंयोजकमा प्रशासनिक उपाध्यक्ष दीपक खड्का र उपसंयोजकमा केन्द्रीय सदस्य उषा सुबेदी रहनुभएको छ । साँस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले र कार्यक्रम निर्देशकका रूपमा सल्लाहकार उज्वलजंग ठकुरी रहनुभएको छ । मञ्च व्यवस्थापनमा रामजी खाँण र अतिथि सत्कारमा राधिका हमाललगायतका कलाकार विभिन्न उपसमितिमा सक्रिय रहेका छन् ।
कार्यक्रमको कूल अनुमानित बजेट रू.६८ लाख ४० हजार रहेको छ । कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय रहेको छ भने संरक्षकका रूपमा विदुर नगरपालिका र टोखा नगरपालिका रहेका छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घ यसको प्रवद्र्धक रहेको छ भने मुख्य सहयोगी संस्थाको रूपमा नुवाकोट निर्माण व्यवसायी सङ्घ रहेको छ । प्रतियोगितालाई नुवाकोटमै पुगेर प्रत्यक्ष रूपमा करिब २० हजार दर्शकले अवलोकन गर्ने तथा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका करिब ५० लाख नेपाली तथा नेपालीभाषी दर्शकले हेर्ने अपेक्षा प्रतिष्ठानको छ । आयोजक प्रतिष्ठानले सम्पूर्ण लोक सङ्गीतप्रेमी, सञ्चारकर्मी र आम नागरिकलाई यो महोत्सवमा सहभागी हुन अपिल समेत गरेको छ ।






प्रतिक्रिया