+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाको बागमतीमा महिला नेतृत्व शून्य

रसुवाको सभापतिमा भट्ट, नुवाकोटमा गजुरेल

रास्वपाको बागमतीमा महिला नेतृत्व शून्य
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका जिल्ला अधिवेशनमा महिला नेतृत्व शून्य देखिएको छ । शनिबार र आइतबार सम्पन्न अधिवेशनमार्फत बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । चयन भएका सबै जिल्ला सभापति पुरुष छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार काभ्रेपलाञ्चोक, मकवानपुर, भक्तपुर र रामेछापमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ । चितवन, काठमाडौँ, नुवाकोट, सिन्धुली, धादिङ, ललितपुर र दोलखामा मतदानमार्फत नेतृत्व चयन भएको हो । यी जिल्लामा पार्टी महिला सदस्यले सभापति पदमा दाबी नगरेको जनाइएको छ । रास्वपा बागमती प्रदेश सभापति अच्युतम लामिछानेले महिला नेतृत्वको अनुपस्थितिलाई पार्टीका लागि चुनौतीका रूपमा स्वीकार गर्नुभएको छ । ‘हामीलाई दुःख लागेको छ । १२ वटै जिल्लामा महिला आफैँ अग्रसर भएर नेतृत्वको दाबेदारीमा समेत आउनुभएन,’ उहाँले भन्नुभयो, ‘अब महिला सशक्तीकरण र नेतृत्व विकासका लागि पार्टीले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता यस अधिवेशनले महसुस गराएको छ ।’ उहाँका अनुसार नेतृत्व पद महिलालाई ‘दिएर’ भन्दा पनि प्रतिस्पर्धामार्फत ‘लिन सक्ने’ क्षमता विकास गर्न पार्टीले वातावरण निर्माण गर्नुपर्ने देखिएको छ ।

Star Nuwakot Hospital

रास्वपा रसुवाको आइतबार र नुवाकोटको शनिबार जिल्ला अधिवेशन सम्पन्न भएको छ । रसुवाको सभापतिमा वसन्त भट्ट र नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल चयन हुनुभएको छ । रसुवाको अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा भट्टले ६६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गर्नुभएको थियो । अधिवेशनअन्तर्गत सभापति, सचिव, खुला सदस्य र जनजाति सदस्य पदका लागि भएको निर्वाचनमा उपसभापतिमा दावा लामा र सहसचिवमा रवीन्द्र तामाङ तथा महिला सदस्यमा सानुदेवी तामाङ निर्विरोध चयन हुनुभएको छ । सचिवमा रवीन्द्र लोप्चन ७४ मत प्राप्त गर्दै निर्वाचित हुँदा प्रतिस्पर्धी तेजप्रसाद खतिवडाले २७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, खुला सदस्यतर्फ सुशील खतिवडाले २८ मत र जनजाति सदस्यतर्फ युवराज घलेले ७८ मत पाएर विजयी हुनुभएको छ ।

नुवाकोटको अधिवेशनमा जिल्ला कार्यसमिति सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनबाट सभापतिमा २५ वर्षीय गजुरेल निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धीलाई झन्डै सात गुणा मतले पछि पार्दै सभापतिमा चुनिनुभएको हो । अधिवेशनमा कुल तीन सय २५ मत खसेकोमध्ये गजुरेलले दुई सय ५७ तथा उहाँका प्रतिस्पर्धी शरण महतले ३७ र राजु लामिछानेले २८ मत मात्रै प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । छब्बीस वर्षीय गजुरेलले २१ वर्षकै उमेरमा जिल्ला कमिटीका तदर्थ समितिको नेतृत्व सम्हाल्नुभएको थियो । वि.सं. २०७९ मा दल स्थापना भएकै वर्ष उहाँले जिल्लाको नेतृत्व गर्नुभएको थियो । ‘त्यतिवेला अनुभवको कमी थियो । अहिले रास्वपा बृहत् भइसकेको छ । सङ्घीय संसद्को प्रतिनिधिसभाका दुवै सिट जितेका छौँ,’ उहाँले ‘त्रिशूली प्रवाह’ साप्ताहिकसँग भन्नुभयो, ‘अब यो उपलब्धिलाई स्थानीय तहसम्म लैजान्छौँ । स्थानीय तह निर्वाचनमा पार्टीलाई अझ उचाइमा पु¥याउँछौँ ।’ उहाँले निर्वाचन प्राविधिक विषय भएकाले सबैलाई समेटेर अघि बढ्ने पनि जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ८८ वटा वडा, १२ वटा पालिकामध्ये सबै ठाउँमा रास्वपा विस्तारित छ । ‘सबै वडा र पालिका तहको संरचनामा हामीले अधिवेशन गरेर नयाँ समिति बनाएका छौँ । हामी स्थानीय तह निर्वाचनमा केन्द्रित भएका छौँ,’ उहाँले भन्नुभयो । सभापति गजुरेलको नेतृत्वमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको रास्वपाका दुवै क्षेत्रका उम्मेदवार अत्यधिक मतसहित विजयी भएका थिए ।

रास्पपाको निर्वाचन समितिले दिएको जानकारीअनुसार उपसभापतिमा एक सय ७३ मत पाएर कृष्णलाल श्रेष्ठ, सचिवमा एक सय ९४ मत पाएर वसन्त धिताल, जनजाति सदस्यतर्फ एक सय ७२ मत पाएर छोपेन तामाङ, महिलातर्फ दुई सय ५७ मत पाएर लक्ष्मी पाण्डे, एक सय ८६ मत पाएर जानुका सापकोटा र एक सय ४० मत पाएर राधिका रिमाल निर्वाचित हुनुभएको छ । त्यसैगरी विधानअनुसार खुला सदस्य क्षेत्र नम्बर १ मा एक सय २८ मत पाएर विपना पाण्डे र क्षेत्र नम्बर २ मा ९७ मत ल्याएर सुवास भण्डारी निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह