विदुर । नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबिच गत भदौ १० गतेको अकल्पनीय बाढीको प्रतिक्रिया, पुनर्लाभ तथा पुनःस्थापनाका लागि साझेदारी सम्झौता भएको छ । बाढीबाट प्रभावित समुदायहरूको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै पुनर्लाभ, पुनःस्थापना र भविष्यमा हुन सक्ने विपत् एवम् जलवायुजन्य जोखिमप्रति उत्थानशीलता अभिवृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले साझेदारी सम्झौता गरिएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले बताउनुभयो ।


नगरपालिकाको कार्यालयमा नगरप्रमुख राजनलाल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घका नेपाल प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा दुवै पक्षले स्वास्थ्यसम्बन्धी सहायता, खानेपानी सरसफाइ तथा स्वच्छता, आवास तथा आश्रयसम्बन्धी सहायता, मर्मत तथा पुनःस्थापना, जीविकोपार्जन पुनःस्थापना तथा आर्थिक पुनर्लाभ, नगद सहायता तथा आवश्यकतामा आधारित नगद सहयोग र विपत् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा समुदायको उत्थानशीलता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ । सम्झौताअनुसार रेडक्रसले बाढीका कारण बेपत्ता परिवारका विधवा, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार रु.एक लाख तथा दुई हजार घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराउनेछ । यसैगरी, एक हजार परिवारलाई जीविकोपार्जन पुनस्र्थापना सहायता, दुई हजार घरधुरीलाई स्थायी आवासको व्यवस्था नभएसम्म घरभाडा भुक्तानी, ६ सय घरधुरीलाई सङ्क्रमणकालीन आवासको व्यवस्थापन रेडक्रसले गर्ने समझदारीपत्रमा उल्लेख छ ।

रेडक्रसले बाढीका कारण प्रभावित विदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाइपलाइनको मर्मतका साथै विदुर, बुधसिंहघाट, सिर्खाली र महारानीडिही क्षेत्रमा ३० हजार जनसङ्ख्या लाभान्वित हुने गरी खानेपानी प्रणालीको मर्मत तथा पुनःस्थापना गर्नेछ । यस्तो स्वास्थ्य तथा सामाजिक पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापना, आधारभूत स्वास्थ्य तथा आपत्कालीन स्वास्थ्य सेवा, विद्यालय तथा शैक्षिक पूर्वाधारको पुनःस्थापना, शिविर व्यवस्थापन तथा प्रभावित व्यक्तिको सहयोगलगायतका क्षेत्रमा समेत रेडक्रसले काम गर्ने समझदारीपत्रमा उल्लेख छ । यसैगरी, समझदारीअन्तर्गतका कार्यक्रम तथा गतिविधिको समन्वय, मार्गदर्शन, अनुगमन तथा समीक्षा गर्न नगरप्रमुख वा नगरप्रमुखले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिने छ । समझदारीपत्रमा हस्ताक्षरपछि नगरप्रमुख श्रेष्ठले रेडक्रसको प्रभावित क्षेत्रमा सहयोग गर्ने तत्परता र क्रियाशीलताले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना र नागरिकको सहज जीवनयापनका लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गर्नुभएको छ । विपत्लाई अवसरको रूपमा समेत लिँदै रेडक्रससँगको प्रभावकारी सहकार्यमार्फत विपत्को पीडालाई विस्मृतिमा पुर्याउन स्थानीय तह क्रियाशील रहने प्रतिबद्धता उहाँले गर्नुभएको छ । सम्झौतापश्चात् रेडक्रसका महामन्त्री खनालले बाढी प्रभावित क्षेत्रका नागरिकको बहुपक्षीय सहयोगमा रेडक्रसको निरन्तर क्रियाशीलता रहने बताउँदै निर्धारित कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र रेडक्रसका संरचनाको प्रभावकारी समन्वयमा जोड दिनुभयो ।






प्रतिक्रिया