त्रिशूली । नुवाकोटको ढुङ्गेबजारदेखि जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक व्यापारिक केन्द्र त्रिशूलीबजार जोड्ने झोलुङ्गे पुल गत असोज ३० गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको आर्थिक सहयोगमा निर्मित पुलको अघिल्लो शुक्रबार बिहान महासङ्घका अध्यक्ष निकोलस पाण्डेले उद्घाटन गर्नुभएको थियो । पुल उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष पाण्डेले करिब एक महिनामै दुई सय ६७ मिटर लामो पुल तयार गरी निर्माण व्यवसायीले उदाहरणीय कार्य गरेको बताउनुभयो ।


गत भदौ १० को भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीपछि नुवाकोट जिल्लाका निर्माण व्यवसायीले आफन्त गुमाउँदाको ठुलो पीडालाई समेत शक्तिमा बदली अत्यन्त छोटो अवधिमै पुल निर्माण गरेका कारण दैनिक हजारौँ स्थानीय लाभान्वित भएको जानकारी अध्यक्ष पाण्डेले दिनुभयो । ‘यो पुल निर्माणपछि निर्माण व्यवसायीले समयमै गुणस्तरीय कार्य गर्न सक्दैनन् भन्ने कुराको खण्डन भएको छ,’ उद्घाटन समारोहमा अध्यक्ष पाण्डेले गर्वका साथ बताउनुभयो । उहाँले पुल निर्माणमा संलग्न प्राविधिक तथा मजदुर र सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभयो । अध्यक्ष पाण्डेले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पनि देशभरका निर्माण व्यवसायीबाट रु. १० करोडभन्दा बढी रकम जम्मा गरिएको जानकारी दिनुभयो । कर्मचारीतन्त्रले बाधा सिर्जना नगर्ने हो भने मुलुकका निर्माण व्यवसायीले अझ उत्कृष्ट काम गर्न सक्ने अध्यक्ष पाण्डेले सो अवसरमा दाबी गर्नुभयो । राज्य विपत्मा परेको समयमा महासङ्घले विगतदेखि नै सबै किसिमको सहयोग गर्दै आएको उहाँले बताउनुभयो । बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घका अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ लाभान्वित हुने गरी पुल निर्माण भएसँगै यस समाजले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रमसिंह ठकुरीलगायतले सामाजिक उत्तरदायित्वअन्तर्गत महासङ्घले अहिलेसम्मकै उत्कृष्ट एवम् ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गर्नुभयो । निर्माण व्यवसायी सङ्घ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले महासङ्घको कार्यबाट राज्यले समेत पाठ सिक्नुपर्ने धारणा राख्नुभयो । उद्घाटन सत्रमा महासङ्घका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, महासचिव शिवहरि घिमिरे, उपमहासचिव सन्तोष साह, कार्यसमिति सदस्य सरेन्द्रराज केसी विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्का, महासङ्घका कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायतको सहभागिता रहेको थियो ।

नेपालको इतिहासमै एक महिनामा झोलुङ्गे पुल निर्माण गरी सञ्चालन भएको यो पहिलो रहेको महासङ्घले दाबी गरेको छ । झोलुङ्गे पुल निर्माणका लागि एक हप्ता जग खन्न लागेको थियो । असोज १ गते वारिपारि जग पूजा गरी सुरु गरेको पुल २९ दिनमा निर्माण सम्पन्न भएको नुवाकोट निर्माण व्यवसायी सङ्घका महासचिव सुशील फुयाँलले जानकारी दिनुभयो । सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक, ललितपुर र पूर्वाधार विकास कार्यालय विदुर, नुवाकोटको प्राविधिक सहयोगमा निर्माणाधीन दुई सय ६७ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएपछि नुवाकोटसहित छिमेकी जिल्लाका लाखौँ बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माणपछि नुवाकोट जिल्ला अस्पतालसहित किस्पाङ र म्यागङ गाउँपालिका तथा विदुर-३, १२, १३, ७, ८ र ९ का भूभागसँग विच्छेद भएको सम्पर्क पुनस्र्थापना भएको छ ।
बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भरत केसीले पुलको सूचना बोर्डमा मन्त्रालयको नाम उल्लेख नगरेकोमा आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्नुभएको छ । उहाँले नेपाल निर्माण व्यवसायी महासङ्घको सूचना बोर्डप्रति खेद प्रकट गर्नुभएको हो । नुवाकोटको विदुर-१ मा बान्द्रे बुद्ध मन्दिरदेखि इन्टेकको डिल जोड्ने झोलुङ्गे पुल निर्माण भई दसैँअघि नै सञ्चालनमा आएको छ । दुई सय ६७ मिटर लामो पुल निर्माणका लागि महासङ्घले आर्थिक सहयोग गरेको थियो भने बागमती प्रदेश, भौतिक पूर्वाधार मन्त्रालयले पूर्वाधार विकास कार्यालय, नुवाकोटमार्पmत पुलको लठ्ठा बुलङ्ग र ग्रिपको निम्ति रु.९८ लाख १९ हजार पाँच सय ६३ पैसा ८५ उपलब्ध गराएको थियो । पुल निर्माणमा विदुर नगरपालिकाले सहजीकरण, सस्पेन्सन ब्रिज डिभिजन र पूर्वाधार विकास कार्यालयले प्राविधिक सहयोग गरेको थियो । पुलको सूचना बोर्डमा मन्त्रालयको नाम लेख्नुपर्नेमा पूर्वाधार कार्यालयको नाम लेखेको भन्दै मन्त्री केसीले आपत्ति जनाउनुभएको छ । उहाँले सो पैसा बागमती प्रदेश सरकारलाई फिर्ता गर्नसमेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री किरण थापालाई ‘ट्याग’ गर्दै उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यो सूचना बोर्ड खेदजनक छ, बागमती प्रदेशको लगानी नदेखाएकोमा महासङ्घले बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले उपलब्ध गराएको पुलको लठ्ठा बुलङ्ग र ग्रिपको कुल रकम प्रदेशलाई फिर्ता गर्नुपर्छ ।’ सामाजिक सञ्जालमा स्ट्याटस लेख्नुलाई धेरैले ‘स्टन्टबाजी’ भनेका छन् ।






प्रतिक्रिया