देशमा युवाको सङ्ख्या घट्दै जाँदा बडादसैँको मौलिकपन हराउँदै गएको छ । युवा बिदेसिने क्रमसँगै दसैँको मौलिकता हराउँदै गएको हो । दसैँको महत्त्व सहरमा भन्दा गाउँघरमा हुने गर्दथ्यो । पछिल्ला वर्षमा गाउँ छाड्ने, सहर पस्ने र बिदेसिने क्रमसँगै गाउँघर उजाडिएको छ । यस वर्षको दसैँ महँगी र बाढीपहिरोको कारण नेपाली जनताका लागि उल्लासमय बन्न सकेन ।


दसैँको धार्मिक महत्त्वभन्दा पनि पारिवारिक र आफन्तजन भेला भएर मानिने उत्सवका रूपमा विकास भए पनि पछिल्लो वर्ष प्रविधिको विकासले गर्दा एक्लाएक्लै रमाउने, मनाउने संस्कार स्थापित बनिरहेको छ । नेपाल र नेपालीको पहिचान जीवित राखेको चाडपर्वमध्येको दसैँ सबैभन्दा ठुलो हो । शरद ऋतुमा पर्ने दसैँ जीविकाको खोजीमा गाउँघरबाट टाढिएका आफन्तजनमा पुनर्मिलन गराउने पर्व पनि हो । धार्मिक र सांस्कृतिक पर्वलाई महत्त्व दिएर सरकारले लामो बिदा र कर्मचारीलाई थप एक महिनाको तलब खर्च दिने गरेको छ । निजी क्षेत्रका सङ्घसंस्थाले पनि सरकारको सिको गर्दै बिदा र खर्च दिने प्रचलन छ । केही वर्षदेखि धर्म, संस्कृतिको जगेर्नामा भन्दा पनि दसैँ बिदालाई दुरुपयोग गर्नेको सङ्ख्या बढिरहेको छ । दसैँमा देवीदेवताको मठमन्दिर सफा गर्ने, पूजापाठ आराधना गर्ने र अनुशासित बन्नेभन्दा अहिलेका अधिकांश पुस्ता बिदालाई तासको खाल र मदिरापानमा सकिरहेका छन् । दसैँको महत्त्व दिएको बिदालाई सही सदुपयोग नहुँदा दसैँ बिदाको औचित्य र आवश्यकताबारे बहस सुरु भएको छ । तन्नेरी बिदेसिएपछि दसैँ आएसँगै गाउँका बाटाघाटा, धारा–पँधेरा, चौतारो, मठमन्दिर सफा गर्ने सामुदायिक अभियान अवरुद्ध बनेको छ । अहिले गाउँघरमा बुढाबुढी र भुराभुरी मात्र हुँदा पिङ हाल्ने, घर रङ्ग्याउने प्रचलन हराउँदै गएको छ । युवापुस्ता बिदेसिने क्रम बढेसँगै खेतबारी बाँझै रहँदा चाडपर्वका लागि आवश्यक खाद्य सामग्री विदेशकै भर पर्नुपर्ने अवस्था रहेकाले चाडपर्व औपचारिकतामै मनाउने संस्कार स्थापित भइरहेको छ । देशमा रहेका उद्योग, कलकारखाना पूर्णरूपमा सञ्चालन हुन सकेको छैन भने व्यापार–व्यवसायको अवस्था पनि उस्तै छ । आन्तरिक उत्पादन न्यून हुँदा आयातबाट आवश्यकता परिपूर्ति भइरहेको छ । निर्यात निराशाजनक भएकाले आयात वृद्धिबाट देशको आयात–निर्यातमा सन्तुलन हुन सकेको छैन । बजारमा दैनिक उपभोगीय सामग्रीको मूल्य अच्चकाली बढिरहे पनि सरकारले नियन्त्रण गर्न नसक्दा महँगीले जनताको ढाड सेकिरहेको छ । देशको अवस्था कमजोर भएको र बाढीपहिरोले परिवार, धनसम्पत्ति गुमाएकाले पनि सबै पीडा बिर्सेर जसोतसो यस वर्षको दसैँलाई बिदा गरे । गाउँघरमा खेतीपाती हुन छाडेको छ । आवश्यक खाद्य सामग्रीको जोहो सहरबाटै गर्नुपर्ने बाध्यता रहेको छ । दसैँमा गाउँमा पिङ राख्ने, घर रङ्ग्याउने, कमेरो, रातो माटो र कालीमाटी खोज्ने, तेल पेल्ने, मसला पिस्ने, चिउरा कुट्ने मौलिक चलन लोप भइसकेको छ ।

विगतमा दसैँ सुरु भएसँगै गाउँघरमा बाटो बनाउने र सफा गर्ने चलन थियो । प्रत्येक घरका एक–एक सदस्य अनिवार्य उपस्थित हुनुपर्दथ्यो । बलिया–बाङ्गा बाहिरिएसँगै गाउँघर सुनसान छ । पिङको चचहुईको आवाज र मासुचिउराको महत्त्व हराएको छ । फूलपाती, अष्टमी, नवमीमा दाजुभाइ, दिदीबहिनी मिलेर गाइने भजनकीर्तन र मौलिक गीत गाउने परम्परा हराउँदै गएको छ । स्थानीय जाँतोपिङ र लिङ्गेपिङको वरिपरि भेला भएर गाउने झ्याउरे गीत र लङ्गुरबुर्जा खेल्ने समूह पनि गाउँघरमा हराइसकेको छ । दसैँ सहर तथा गाउँबाहिर गएकाहरू भेला हुने र गाउँको विकासबारे छलफल गर्ने अवसर पनि हुन्थ्यो, तर अहिले सामाजिक सञ्जालबाट सरकारले यो गरेन, नेताले त्यो गरेन भनी गाली मात्र गर्नेकै बाहुल्य छ । अहिले बाटो, बिजुली छ, झन् नयाँपन छ । त्यसैले, जोस–जाँगर हुनुपर्ने हो, तर छैन । विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्यसँग घरका सबैले टीका थाप्ने, आशीर्वाद थप्ने चलन पनि आधुनिकताले गर्दा हराउँदै गएको छ ।
एक दशकअघिसम्म गाउँका बस्ती बाक्ला थिए । सबै घरमा मानिस टन्न हुन्थे, छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । वर्षभरि छुटेका दौँतरीको ठुलो जमघट हुने गर्दथ्यो । कुनै यस्तो चाडपर्व थिएन, जहाँ महिनौँ दिनदेखि हर्षउमङ्ग नहोस् । गाउँमा मेलापात गर्दा होस् वा गाई, बाख्रा चराउन वनजङ्गलमा जाँदा चुत्रो, ऐंसेलु, अम्बा, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् वा हिउँदमा गाउँमा छुट्टै उल्लास हुने गर्दथ्यो, तर आजभोलि ती सबै इतिहास बनिसकेका छन् । सबैले गाउँ बिर्सिसकेका छन् । रमाइलो गरेर उत्साह भर्ने र पर्यटकले ल्याउने संस्कृति र संस्कारको संरक्षण गर्न राज्य र नागरिकले भुल्दै गएका छन् । असत्यमाथि सत्यको विजयोत्सवका रूपमा मनाउने बडादसैँ असत्यको मुख्य जड भ्रष्टाचार मौलाउँदा सीमित व्यक्तिको मात्र पर्व बन्न पुगेको छ । गत निर्वाचनमा जनताले संसद्मा दुईतिहाईको जनमत दिएर एकलौटी सरकार सञ्चालन गर्ने जनमत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुशासनको बाधक भ्रष्टाचारको समूल नष्ट नारामै मात्र सीमित गरेकाले जनतामा निराशा बढ्दो छ । रास्वपा नेतृत्व सरकारले युवापुस्ताले बगाएको रगत जेन–जी आन्दोलनको मर्मलाई बुझेर काम गर्न नसक्दा चाडपर्वको रौनक नेपाली नागरिकको घरआँगनसम्म पुग्न सकेको छैन ।






प्रतिक्रिया