विदुर । पञ्चकन्या गाउँपालिकामा उत्पादित ‘घ्याङस्वारा’ अर्गानिक चिया सार्वजनिक भएको छ । तिन वर्षअघि रोपिएको चियाको परीक्षण उत्पादन सफल भएपछि गत हप्ता चिया प्रशोधन र प्याकिङ गरेर ‘घ्याङ्स्वारा’ ब्रान्डिङ अर्गानिक चिया सार्वजनिक भएको छ । यसै वर्ष नुवाकोटमा चियाको व्यावसायिक उत्पादन, मूल्य निर्धारण गरी बजारमा पठाइने तयारी भइरहेको छ । पालिकामा आयोजित विशेष कार्यक्रममा अर्गानिक चिया ‘घ्याङ्स्वाँरा’ ब्रान्डिङसहित पालिका अध्यक्ष तेजबहादुर तामाङले सार्वजनिक गर्दै चियालाई ब्रान्डिङ गरिएको र व्यवसायिक प्रवद्र्धनसमेत सुरू गरिएको जानकारी दिनुभयो । सो कार्यक्रममा उपस्थित सबैलाई गाउँमै उत्पादित चिया पिलाइएको थियो ।

चिया सार्वजनिक कार्यक्रममा पालिका उपाध्यक्ष बिमला पाठक केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडाध्यक्ष, कार्यपालिका तथा गाउँसभा सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी, राजनीतिक दल तथा गैह्रसरकारी सङ्घ-संस्थाका प्रतिनिधिले चियाको व्यावसायीकरणमा जोड दिनुभएको थियो । पालिका कार्यालयकानुसार ‘घ्याङ्स्वाँरा’ अर्गानिक चिया स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै कृषिमा आधारित आत्मनिर्भरता बढाउने लक्ष्यसहित सुरू गरिएको हो । स्थानीयस्तरमै उत्पादन र प्रशोधन गरिएको चियाले पञ्चकन्याको पहिचान स्थापना गर्नाका साथै किसानको आम्दानी वृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । पालिकाले आगामी दिनमा यस उत्पादनलाई थप विस्तार गर्दै बजारीकरणमा जोड दिने योजना समेत अगाडि सारिएको छ । पालिकाको योजना, श्रम, मेहनत र सफलताको यात्रालाई नयाँ उचाईमा पुर्याएको अध्यक्ष तामाङ बताउनुभयो । कार्यक्रममा उपस्थित सबैलाई सार्वजनिक गरिएको चिया खुवाइएको थियो । कार्यक्रममा लक्की ड्रमार्फत चार जना भाग्यशाली विजेतालाई चिया उपहार समेत प्रदान गरिएको थियो । उत्पादनको चरणमा पुगेर स्थानीयस्तरमा रोजगारी सिर्जना, कृषि उद्यमशीलता विकास तथा पर्यटन प्रवद्र्धनतर्फ महत्त्वपूर्ण सन्देश दिएको उपाध्यक्ष केसीले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राईले चियाले स्थानीयस्तरमा रोजगारी सिर्जना, कृषि उद्यमशीलता प्रवद्धन, युवालाई स्वदेशमै अवसर तथा घ्याङस्वरा क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गर्नुभएको छ । गाउँपालिकाले तीन वर्षअगाडि घ्याङस्वराको सार्वजनिक बाँझो जग्गालाई जनप्रतिनिधि, स्थानीयवासीले श्रमदान गरेर चियाको विरूवा रोपिएको थियो । उक्त क्षेत्रको तीन सय ३२ रोपनी बेवारिस अवस्थामा रहेको जग्गामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पालिकाको रोजगार सेवा केन्द्रको सम्बन्धमा हाल ८३ हजार विरूवाले उत्पादन दिन तयारी अवस्थामा रहेको छ । अघिल्लो महिना १२ हजार ५० विरूवाबाट टिपिएको चियाको मुनालाई ककनीमा रहेको चिया तथा कफि विकास कार्यालयको मेशिनमा प्रशोधन गरिएको थियो । परीक्षणको लागि १५ किलोग्राम मुनाको प्रशोधनबाट तयारी गरिएको तीन किलो चिया प्याकिङ गरेर गत हप्ता सार्वजनिक गरिएको थियो । चियाको गुणस्तर उच्च पहाडी एवं हिमाली क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियामा उत्कृष्ट रहेको प्रमाणित भएको छ । चियाको कानुनी प्रक्रिया पूरा भएसँगै घ्याङस्वरा अर्थोडक्स चियाको व्यवसायी उत्पादन, मूल्य निर्धारण गरी बजारमा पठाइने चिया परियोजनाका संयोजक सरोज केसीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । अब छिट्टै नुवाकोटवासीले जिल्लामै उत्पादित, प्रशोधित अर्गानिक चिया पिउन पाउने छन् । म्यागङ गाउँपालिकाको बुङताङ, देउराली, साल्मे, बर्सुन्चेत, किम्ताङमा चियाको उत्पादन यसअघि नै भइसकेको छ । उक्त स्थानको चिया प्रशोधन र प्याकिङको लागि चिनियाँ राजदूताबासबाट आवश्यक भवन र मेशिन सहयोग भइसकेको छ । यसै वर्षदेखि त्यहाँ उत्पादन भएको चिया बजारमा आउने म्यागङ-४ का अध्यक्ष कमलबहादुर तामाङले बताउनुभयो ।







प्रतिक्रिया