Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

सुरू भयो रसुवागढी हुँदै मानसरोवर यात्रा

सुरू भयो रसुवागढी हुँदै मानसरोवर यात्रा
त्रिशूली प्रवाह
५ घण्टा अगाडी

धुन्चे । भारतीय तीर्थयात्रीका लागि कैलाश-मानसरोवर तीर्थयात्राको सिजन सुरू भएको छ । आगामी सातादेखि तीर्थयात्रा सुरू हुने व्यवसायीले बताएका छन् । व्यवसायीकानुसार अहिलेसम्म झन्डै पाँच हजार जनाले तीर्थयात्राका लागि ‘ट्राभल बुकिङ’ गराइसकेका छन् । कैलाश-मानसरोवर तीर्थयात्राका लागि नेपालको रसुवाको केरूङ र हुम्लाको हिल्सा नाका हुँदै तीर्थयात्री सडक मार्ग भएर जाने गरेका छन् ।

नेपाल-चीन सीमा नाका रसुवागढीहुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा यस वर्ष सुरू भएको हो । यस वर्षको याम सुरू भएसँगै हालसम्म तीनसय तीर्थयात्री चीनको केरूङ नाकाहुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जानकारी दिएको छ । कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रूसी तथा बेलायतका नागरिकसमेत मानसरोवर यात्रामा सहभागी भएका छन् । गत वर्ष रसुवागढी नाका भएर ११ हजार तीन सय ८१ तीर्थयात्री मानसरोवर, कैलाश गएको अध्यागमन कार्यालयको तथ्याङ्कले देखाएको छ । यात्रु आगमन बढेसँगै भिसा शुल्कबाट राजस्व सङ्कलन पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । चालु आवको नौ महिनामा मात्र रू.३० लाख राजस्व सङ्कलन भइसकेको छ भने गत वर्षको कूल वार्षिक राजस्व रू.११ लाख २८ हजार दुई सय ५० सङ्कलन भएको जनाइएको छ । हिन्दु, बौद्ध, तथा बोन धर्मावलम्बी विभिन्न धर्मावलम्बीका लागि मानसरोवर पवित्र तीर्थस्थल मानिन्छ । हिन्दु धार्मिक ग्रन्थमा भगवान् शिव र माता पार्वतीको निवास कैलाश पर्वतलाई ब्रह्माण्डको आध्यात्मिक केन्द्रका रूपमा वर्णन गरेको पुरोहित उपेन्द्र मिश्रले बताउनुभयो । पुराणका अनुसार ब्रह्माले आफ्नो मनबाट सृष्टि गरेको पवित्र सरोवर भएकाले यसको नाम ‘मानसरोवर’ रहन गएको विश्वास छ । यस सरोवरमा स्नान गरे पाप नाश हुने र मोक्ष प्राप्ती हुने धार्मिक आस्था रहिआएको छ ।

कैलाश दर्शन ॐकार परिवारभित्रका सबै धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेको धार्मिक अभियन्ता शिवकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार बौद्ध धर्मावलम्बीले थाङ्क रिम्पोचे, जैन धर्मावलम्बीले हिमालको देवता, बोनले ‘प्रिबुद्धिष्ट’ का रूपमा पूजा गर्ने गरेका छन् ।  ‘हिन्दुसहित बौद्ध, बोनलगायत धर्मावलम्पी घडीको सुई घुम्ने दिशामा परिक्रमा गर्छन्,’ उहाँले भन्नुभयो, ‘जैनहरू भने एन्टिक्लकवाइज घुम्ने गरेका छन् ।’ ‘पर्यटन व्यवसायी तेन्जिन नोर्बुका अनुसार सबैभन्दा बढी दक्षिण भारत, गुजरात, महाराष्ट्र, उत्तर भारतबाट पर्यटक आउने गरेका छन् । उहाँका अनुसार कैलाश-मानसरोवर यात्रामा आउने तीर्थयात्रीलाई विभिन्न राज्य सरकारले रू.२५ हजारदेखि एक लाखसम्म अनुदानको व्यवस्था गरेका छन् । जसका कारण पनि भारतीयको कैलाश-मानसरोवरमा आकर्षण बढेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तेलङ्गना राज्यले रू.२५ हजार, कर्नाटकले रू.५० हजार र उत्तर प्रदेशले रू.एक लाख भारतीय अनुदान दिने गरेका छन् । भगवान शिव कैलाश पर्वतमा विराजमान भएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ,’ नोर्बुले भने, ‘मानसरोवर-कैलाश यात्रालाई आत्मशुद्धि, कर्ममोचन र मोक्षको प्रतीकका रूपमा महत्त्व दिइन्छ, त्यसैले जीवनमा कम्तीमा एकपल्ट कैलाश दर्शन गर्नैपर्ने भारतीयहरूको विश्वास छ ।’

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह