धुन्चे । नेपालमा विद्युतीय चुरोट (भेप) को अवैध कारोबार र तस्करी तीव्र रूपमा बढ्दै गएको छ । नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार विगत तीन आर्थिक वर्षमा देशका विभिन्न सीमा नाका, अन्तर्राष्ट्रिय विमानस्थल तथा सहरी बजारहरूबाट करिब रू.२३ करोड ९१ लाख बराबरको ९० हजारभन्दा बढी थान भेप बरामद गरिएको छ । बजारमा यसको अवैध माग बढेसँगै बरामद परिमाण र यसको तस्करीमा संलग्न भई पक्राउ पर्ने व्यक्तिको सङ्ख्या पनि बर्सेनि थपिरहेको छ ।
विशेषगरी छिमेकी मुलुक चीन र भारतसँग जोडिएका सीमा नाका भेप तस्करीका मुख्य प्रवेशद्वारका रूपमा देखिएका छन् । हालै मात्र नेपाल-चीन सीमा क्षेत्र रसुवागढी नाका हुँदै केही महिना अगाडि ल्याएर लुकाईछिपाई राखेको अवस्थाको ठूलो परिमाणको अबैध इलेक्ट्रिक चुरोट अर्थात् भेप जिल्ला प्रहरी कार्यालय रसुवाको गस्ती टोलीले बरामद गरेको छ । गत बिहीबार जेठ ७ गते रसुवागढी नाका नजिक साबिक थुमन गाविस हाल गोसाइँकुण्ड-१ को दालफेदीबाटै बरामद गरेको भेपको मूल्य रू.३६ लाख ७५ हजार रहेको छ भने उक्त कारोबारमा संलग्न आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जेठ ७ गते राति करिब १ः३० बजे विशेष सुराकी र सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले गोसाईँकुण्ड-१ निवासी ४४ वर्षिया मम्माया तामाङको घरमा खानतलासी गर्दा घरभित्र लुकाई-छिपाई राखिएको ६ वटा प्लास्टिकको बोराभित्र रहेको ६ वटा कार्टुनमा ‘एल्फबार आइस किंग’ ब्राण्डका ३० हजार पफ क्षमताका १२ सय २५ वटा भेप फेला परेको हो । उक्त भेप कारोबारमा संलग्न घरपेटी गोसाईँकुण्ड-१ रसुवाका वर्ष ४४ का मममाया तामाङसहित गोसाईँकुण्ड-१ का वर्ष ३५ का राजकुमार तामाङ, वर्ष ४७ का छोमाया तामाङ, गंगाजमुना-३ धादिङ का वर्ष ४० का केशबहादुर गुरूङ, वर्ष २५ का सहिन गुरूङ, स्थायी घर बढिमालिका–१० बाजुरा हाल माछापोखरी काठमाडौँका वर्ष २५ का सागर खत्री, स्थायी घर तादी-४ नुवाकोट हाल बालाजु काठमाडौँ का वर्ष २७ का सुबास तामाङ, स्थायी घर भदौरे-६ ओखलढुङ्गा हाल बालाजु काठमाडौँका वर्ष २६ का नेत्रबहादुर थापामगर पक्राउ परेका छन् । बरामद भेप तथा नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो ।
रसुवागढीबाट चालु आवको १० महिनाको अवधिमा ६ पटक अबैध भेपसहित एक सवारी साधन र १३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरूले लुकाईछिपाई ल्याएको भेप रू.७२ लाख ९३ हजार दुई सय मूल्यको रहेको समेत रसुवा प्रहरीले बताएको छ । अघिल्लो आव २०८१/०८२ मा रसुवागढी हुँदै नेपाल प्रवेश गरेको रू.७७ लाख ४६ हजार बराबरको भेप र एक सवारी साधनसहित तिन जना व्यक्ति पक्राउ परेको समेत प्रहरीले जानकारी दिएको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले सामाजिक सञ्जाल र अनलाइनमार्फत सुर्तीजन्य पदार्थको बिक्री, वितरण र विज्ञापन गर्न नपाइने कानुनी व्यवस्था गरेपनि यसको अबैध बजार फस्टाउँदो छ । चलचित्र, म्युजिक भिडियो र सामाजिक सञ्जालमा भेपलाई आधुनिक जीवनशैली वा चुरोट छोड्ने कम हानिकारक विकल्पका रूपमा भ्रमपूर्ण ढङ्गले प्रस्तुत गरिँदा युवा तथा किशोरपुस्ता यसको लतमा फसिरहेका छन् । विश्वमै सबैभन्दा बढी भेप उत्पादन गर्ने देश चीन भएकाले नेपाललाई ट्रान्जिट मार्ग बनाएर भारत तथा अन्य मुलुकतर्फ समेत यसको तस्करी हुने गरेको सुरक्षा अधिकारीहरूले बताउने गरेका छन् । यसको बहुआयामिक नियन्त्रण राज्यका लागि थप चुनौतीपूर्ण बनेको छ ।







प्रतिक्रिया