+
Search

ताजा अपडेट +

पपुलर +

उपल्लो मुस्ताङ : तीस वर्षअघि र अहिले

उपल्लो मुस्ताङ : तीस वर्षअघि र अहिले
रेशमबहादुर पाण्डे
४ महिना अगाडी

गृह मन्त्रालयमा कार्यरत रहँदा दुईपटक उपल्लो मुस्ताङ र तेस्रोपटक प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्ने अवसर मिलेको थियो । तत्कालीन स्थिति र हाल त्यस क्षेत्रमा भएका पर्यटकीय, धार्मिक तथा सामाजिक वस्तुस्थितिको तुलनात्मक रूपमा समीक्षा गर्न इच्छा भएकाले मैले पुनः सो स्थानको यात्रा गर्ने विचार गरेँ । मुस्ताङको जोमसोम, मार्फा आदि स्थानको यात्रा चार-पाँचपटक गरिसकेको भए पनि हालको वर्णन विद्युतीय माध्यममा बारम्बार देख्ने-सुन्ने गरेकाले त्यस क्षेत्रको तुलनात्मक अध्ययन गर्न पनि मेरो मन भ्रमण गर्न उत्प्रेरित भयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

विगतका त्यस क्षेत्रको भ्रमण गर्ने अवसर भने विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा भ्रमण स्वीकृति दिँदा अध्यागमन विभागले वातावरण पक्षको समेत निगरानी गर्ने गरी सम्पर्क अधिकृतका रूपमा खटाउँदा ती अवसर जुरेको थियो । मेरो मानसपटलमा उपल्लो मुस्ताङको हिमाली मरुभूमिको मानक थियो, ल्होमाङथाङसम्म पुग्न सदरमुकाम जोमसोमदेखि चार दिनको पैदल यात्रा लागेको थियो । अहिले यातायात सुविधाले गर्दा सात-आठ घण्टा लाग्दो रहेछ । त्यसवेला त्यहाँको भौगोलिक स्थितिलाई हेर्दा मलाई लागेको थियो-मजबुत यान्त्रिक औजार (डोजर मात्र) लगाएर मोटरबाटो निर्माण गरेमा चाँडै सो ठाउँमा मोटर पुग्न सक्छ । ल्होमाङथाङदेखि चिनियाँ सीमा क्षेत्र कोरोला नाकासम्म पनि त्यस्तै भौगोलिक बनावट भएको हुँदा हाल २२ किलोमिटर बाटामा पनि सजिलै मोटरबाटो बन्न सक्ने मेरो अनुमान थियो । ल्होमाङथाङबाट ऐतिहासिक छोसेर गुम्बा चीनको सिमाना देखिने भागसम्म घोडामा चढेर निकै टाढाबाट सीमा क्षेत्र देख्न सकिएको थियो ३० वर्षअघि । साधारणतया उपल्लो मुस्ताङ यात्रा पाँच वा ६ दिनको हुने गरी कार्यक्रम बनाउने गरिएको हुन्छ । यात्रा साना गाडी तथा बसमा पनि तय गरिएको तथा निर्धारित वासस्थान वा खाना-खाजा खाने ठाउँ पनि यकिन गरी आवश्कताअनुसार विश्राम गर्ने आमयात्रीको चलन नै रहेछ ।

पहिलो दिन काठमाडौँबाट बिहान ७ बजे यात्रा सुरु गरी चार घण्टापश्चात् इच्छामनकामना बजारमा बिहानको खाना खाने कार्यक्रम रह्यो । काठमाडौँ, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, लमजुङ हुँदै कास्की जिल्लाको पोखरा नयाँसडकमा २ बजे पुग्यौँ र दिउँसोको खाजा खायाँै । त्यतिवेला नै करिब दुई सय किलोमटिरको यात्रा गरिसकेकाले अब करिब सय किलोमिटरको यात्रा गरेर म्याग्दीको बेनीमा वास बस्ने कार्यक्रम भएकाले हामी आरामसाथ यात्रा गरिरहेका थियौँ । हामीसँग त्यो रूटको यात्राको अनुभवी साथीसँगै भएकाले निर्धक्क थियौँ । पोखरासम्म यात्रा गर्दा गजुरीदेखि मुग्लिङसम्म बाटो निर्माण भइरहेको हुँदा केही असुविधा भए पनि हालसालै मर्मत भएकाले बाटाको बिचभागमा बनाइएको आइल्यान्ड लाइनले देखिएको मोटरबाटोको सौन्दर्यले बाटाको सहजता राम्रो महसुस भयो । पहाडी क्षेत्रमा बनाइएको बाटो भए पनि पोखरा-बेनी सडक निकै राम्रो पायौँ । गण्डकी प्रदेशअन्तर्गत पर्ने पर्वत, म्याग्दी र बागलुङ एक-आपसमा जोडिएका तीन जिल्ला कालीगण्डकी र मोदीले छुट्याएर सीमा निर्धारण गरिएका छन् । ती जिल्लाको सदरमुकाम पनि करिब १० किलोमिटर दूरीमा छन् । तीन जिल्लाको नजिकै सदरमुकाम भएको मैले अहिलेसम्म यात्रा गरेका कुनै ठाउँमा पनि देखेको छैन । पर्वतको यात्रापश्चात् कालीगण्डकीको पुल तरेर हामीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिकाको दर्शन गर्यौं। त्यहाँ देशैभरिबाट दर्शनार्थीको निकै भिड भएको सञ्चारमाध्यममा देखेको भए पनि साँझको बेसमय भएकाले दर्शनार्थी कम देखियो । कालिकाको साँझको आरतीमा करिब सयजनाको उपस्थितिलाई पनि कम मान्न सकिन्न । मन्दिरको मूलद्वारदेखि नै ढुङ्गा बिच्छ्याइएको फराकिलो बाटो र जङ्गलका बिचमा रहेको मन्दिर प्राकृतिक दृश्यले भरिपूर्ण एवम् मनमोहक रहेछ । नजिकै जङ्गलमा साना जङ्गली जनावर र कालिज, तित्राजस्ता चराचुरुङ्गी विचरण गरेको देखिन्थ्यो । त्यहाँबाट करिब दश मिनेटको दूरीमा उत्तरतर्फ एसियाकै लामो कालीगण्डकीको झोलुङ्गे पुल छ । ६ सय मिटरभन्दा लामो सो पुलले बागलुङ र पर्वतलाई जोड्छ र दुई जिल्लामा आवागमन गर्न निकै सहज भएको छ । यसले दुई जिल्लाको दूरी छोट्याएको छ । सो रातको वास बेनीबजारको ताजमहल होटेलमा निकै मनोरम रूपमा बित्यो । दुर्गम जिल्ला भएर पनि त्यति राम्रो सुविधायुक्त होटेलको मैले परिकल्पना गरेको थिइनँ । कालीगण्डकी र मोदी खोलाको सङ्गमस्थलमा रहेको होटेलको बसाइ सुविधायुक्त नै थियो । एकैजना व्यक्तिको दुई ठुला होटेल भएकाले वास बस्ने व्यक्तिको सङ्ख्या ठुलै थियो ।

एउटै विशाल ढुङ्गामा अवस्थित गलेश्वर मन्दिरपछि प्रसिद्ध तातोपानी केही किलोमिटर टाढा बेनी नगरपालिकामा छ । पेटका पुराना रोग र चर्मसम्बन्धी रोगको उपचार हुन्छ भन्ने मान्यताका साथ हजारौँ यात्री तातोपानी नुहाउन आउने गर्दा रहेछन् । समग्रमा मुक्तिनाथ र उपल्लो मुस्ताङ घुम्न आउने आन्तरिक र विदेशी पर्यटकका लागि पायक पर्ने म्याग्दीको सदरमुकाम बेनी भनिने यो स्थान पर्यटकीय, ऐतिहासिक र आकर्षकस्थल बन्ने दिशामा अघि बढिरहेको छ र सानो भौगोलिक क्षेत्रमा अवस्थित भए पनि भविष्य उज्ज्वल देखिन्छ । बिहान सबेरै उठेर प्रसिद्ध मुक्तिनाथको दर्शन गर्न पाइने लालसाले मन प्रफुल्ल भयो । हुन त यसअघि तीनपटक मुक्तिनाथको दर्शन गरिसकिएकाले खासै नवीन अनुभव बटुल्न नपाउने भए पनि त्यस क्षेत्रमा भएको भौतिक प्रगतिमा मेरो विशेष चासो थियो । जोमसोम बजारको घुमाइ पनि हावा चल्ने वेला भइनसकेकाले रमणीय भयो । मुस्ताङ विमानस्थलमा केही हवाईजहाज उड्ने-ओर्लने गरिरहेकाले विशेष चहलपहल कायम थियो । जोमसोम बजारको वारिपट्टिको भूभागमा व्यावसायिक होटेल, लज, रेस्टुराँ र सुभनियर पसल प्रशस्त मात्रामा सञ्चालनमा छन् । बजार क्षेत्रभन्दा पारिपट्टिको भागमा जिल्लाको सदरमुकाममा रहनुपर्ने विभिन्न सेवा प्रदायक कार्यालय छन् । मध्याह्न १२ बजेपश्चात् हावाहुरी चल्ने हुँदा त्यसअगाडि सेवा लिने जनताको आवतजावत भइरहेको देखियो । नेपालका अधिकांश हिमाल पूर्ण रूपमा उत्तरतर्फ देखिनेमा जोमसोमबाट नीलगिरि तथा अन्नपूर्ण हिमालका केही भाग दक्षिणतर्फ देख्न पाइयो-त्यो पनि निकै नजिकबाट । तीस वर्षअघि मोटरबाटाको सुविधा नहँुदा पनि हेलिकोप्टरबाट ढुवानी गरिएको केही ट्रयाक्टर र मोटरसाइकल जोमसोम क्षेत्रमा देख्न पाइएको थियो । त्यसवेला कहलिएको मार्फा जोमसोमबाट मोटरसाइकलमा यात्रा गरेको थिएँ । हिन्दु संस्कारअनुसार कागबेनीमा पितृकार्य गर्न जाने प्रचलन छ । विशेषगरी केही वर्षअघि बाढीले ध्वस्त पारेको त्यस क्षेत्रको पुनर्निर्माण र धार्मिक पक्षबारे चासो लिइएकाले श्राद्ध नगरे पनि सो स्थलको भ्रमण गरियो । मन्दिर र गुम्बाको जीर्णोद्धार र केही आधुनिक भवनमा होटेल खोलिएकाले कालीगण्डकीको किनारमा रहेको सो स्थानमा मोटरबाटाको सहजता र आधुनिकीकरणको प्रयास भइरहेको देख्न पाइयो । पहिलेका भ्रमणमा कागबेनीमा एक्यापको कार्यालय रहेको र निषेधित क्षेत्रको प्रस्थानविन्दु भएकाले एक रात बास बस्नुपथ्र्यो, तर अहिले मोटरबाटोको सुविधा रहेको र होटेल अन्य ठाउँमा पनि खुलेकाले त्यो बाध्यता रहेन र झन् अहिले त निषेधित क्षेत्र हटाइएकाले सहज रूपमा स्वदेशी-विदेशी सबैलाई यात्रा गर्न सहज भएको छ । कागबेनीबाट ठाडो मोटरबाटोबाट करिब १ बजे मुक्तिनाथ बसपार्क पुग्दा निकै जाडो महसुस भयो, किनकि हामी करिब १२ हजार फिटको उचाइमा प्रवेश गरिसकेका थियौँ ।

मुक्तिनाथ क्षेत्र विशेषगरी हिन्दु तथा बौद्ध धर्मावलम्बीको तीर्थस्थल हो । भारतका विभिन्न धार्मिक सम्प्रदायका मठाधीश, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालका विशिष्ट व्यक्ति समय-समयमा दर्शन गर्न पुगिरहने हुनाले यस क्षेत्रको प्रसिद्धि चुलिँदै गएको छ । तीन दशकअघि त्यस ठाउँमा दर्शन गर्न जाँदा केही भाग ढुङ्गा बिच्छ्याएर सिँढी बनाइएको थियो, बजार क्षेत्रमा ३०-४० घर र केही साना छाप्रे होटेल सञ्चालनमा थिए । अहिले मुक्तिनाथको महिमामा वृद्धि भएर एक किलोमिटरजति बजार क्षेत्र र तीन सय मिटर लामो ढुङ्गा बिच्छ्याइएको आधुनिक सिँढी निर्माण भएछ । मुक्तिनाथ, ज्वालादेवी मन्दिरको आधुनिकीकरण गरिएको र धेरै आधुनिक गुम्बा निर्माण भएछन् । त्यहाँ रहेका निरन्तर बगिरहने एक सय आठ धाराका खासै स्वरूप परिवर्तन पाइनँ, तर मन्दिरअगाडिको पोखरीमा स्नान गर्ने र धारामा पुण्य प्राप्तिको कामना गर्दै जाडोको पर्वाह नगरी नुहाउने दर्शनार्थीको भिड उल्लेखनीय थियो । मन्दिरको नजिकै ससाना ढुङ्गाको खात लगाई घर बनाउने र परमार्थमा त्यो घर प्राप्ति हुन्छ भन्ने विश्वास राख्ने जमात पनि देखिन्थ्यो, जुन व्यवस्थित थिएन र हावाले तथा तीर्थयात्रीको लापरबाहीले यत्रतत्र ढलेर छरिएका थिए । तत्कालीन समयमा मन्दिर पुग्न आफन्तबाट बोकिएर जानेभन्दा कुनै उपाय थिएन, तर अहिले घोडा, डोली र मोटरसाइकललगायतको सुविधा रहेछ । ताम्दान (चारजनाले बोक्ने) प्रयोग गर्नेले नेपाली भए रु.चार हजार, भारतीयलाई भारु चार हजार, डोलीमा रु. एक हजार, घोडामा चार सय र मोटरसाइकलमा रु.दुई सय शुल्क तोकिएको रहेछ । मुक्तिनाथधाम विशेषगरी परमार्थमा मोक्ष प्राप्ति र बाँकी जीवन सहज यापनको कामना गरी तीर्थयात्री जाने गरिएको बुझियो । अहिले विशेषगरी दिनको हजार जनाभन्दा बढी तीर्थयात्री आउने गरेको स्थानीयवासीले बताए । केही आधुनिक होटेल र सयौँ मध्यमस्तरका रेस्टुराँ-होटेल तथा केही सुभेनियर पसल खुलेको पाइयो । मुक्तिनाथस्थित बजार क्षेत्रमा एक हजार तीर्थयात्रीसम्म बस्न-खान पुग्ने स्थिति रहेको आकलन ग¥यौँ । त्यहाँ पुग्ने आधाजस्तो तीर्थयात्री त्यस क्षेत्रमा नै वास बसी भोलिपल्ट बिहान वा पूर्वाह्नसम्ममा दर्शन गरी फर्कने रहेछन् । दिउँसो ३ बजेपछि मौसम परिवर्तन भई हावा चल्ने, बादल लाग्ने वा हिउँ झर्न थाल्ने हुँदा त्यसअगाडि नै मन्दिर जाने प्रचलन रहेछ । नजिकै रहेको खोल्साखोल्सीमा हिउँको अवशेष तथा मन्दिरको उत्तरी भागको चुचुरामा अवस्थित थ्रोङ्पासमा भने बाक्लो हिउँ जमेको प्रस्ट देखिन्थ्यो । हामी पुगेको समय मौसम अनुकूल रहेको र घाम लागेको हुनाले चारैतिरको परिदृश्य एकदमै लोभलाग्दो थियो । त्यस्तो अवसर कहिलेकाहीँ मिल्ने रहेछ । भोलिपल्ट मौसम प्रतिकूल भएर दिउँसैदेखि हिउँ पर्न थालेकाले त्यसबाट बच्न ओत लाग्न नपाएर सयौँ यात्री प्रताडित थिए । मैले त्यस्तो अनुभव चिनियाँ नाका कोरालामा पुग्दा पाएको थिएँ । मेरो घडी (एपलवाच) ले दिउँसोको ४ बजाएको थियो जबकि त्यसवेला दिनको २ बजेको थियो-यो चिनियाँ समयसारिणीको कमाल थियो, जो नेपालभन्दा दुई घण्टा पछि थियो र हामी त्यहाँबाट हिँड्नासाथ घडीले २ बजेको सङ्केत गरेको थियो । मेरो यस अगाडिको र अहिलेको मुक्तिनाथ क्षेत्रको भ्रमण गर्दा जादु विकास भएको पाएँ । मुक्तिनाथ मन्दिरबाट तीन-चार किलोमिटर दक्षिणको दूरीमा रहेको पुरानो बजार रानीपौवा भने आफ्नो पुरानै लयमा रहेको र मोटरबाटोछेउमा केही व्यावसायिक भवन निर्माणमा नै अल्झिरहेको देखें ।

कालीगण्डकीको उद्गम दामोदर कुण्ड विवाद
ओहो छुसाङको त कायापलट नै भएको रहेछ । मुक्तिनाथबाट ठाडै पिच बाटोबाट निरन्तर ओरालो झर्दै करिब डेढ घण्टामा हामी छुसाङको वारिपट्टिको भागमा पुग्यौँ जहाँ सुरक्षा जाँचचौकी र कर कार्यालय, बैंक पनि देख्न पाइयो । पहिलेको सम्झना मेरो मानसपटमा झल्झली आयो । जोमसोमबाट पहिलो दिनको वास बस्न छुसाङ पुग्दा त्यस ठाउँमा साना एक-दुई पसल थिए र थ्रोङ्पासबाट उत्तरी पानीढलो भएर ठाडै बगेर आएको सानो खोलाले छुसाङ आइपुग्दा निकै ठुलो जमिनी भागलाई (आधा किलोमिटरजति) बगर बनाएको थियो । मैले छुसाङको वारिपट्टि बस्ने ठाउँ नपाई पाल टाँगेर रात बिताएको थिएँ । अहिले छुसाङ खोलावारि र पारिपट्टि दशौँ आधुनिक भन्न मिल्ने पर्यटकीय रेस्टुराँ, होटेल, लज खुलेका रहेछन् । बिहान त्यस स्थानबाट गाडीमा प्रस्थान गरेर ल्होमाङथाङ/कोरोला नाका पुगी घुमिसकेर १०–१२ घण्टामा जोमसोम वा मार्फा वास बस्न आउन सकिने रहेछ । त्यसैले व्यापारिक दृष्टिकोणले उपयुक्त स्थान भएकाले समर, घमी, ल्होमाङथाङका व्यापारी ती स्थानमा आफ्नो व्यापार प्रवद्र्धन गर्न बसाइँ सर्न थालेको बुझियो । बिहान झिसमिसेमा नै ल्होमाङथाङ/कोरोलाको यात्रा सुरु नगरे उच्च हिमाली भागमा रात बिताउनुपर्ने हुनाले हामी पनि बिहान ६ बजे नै त्यस स्थानबाट प्रस्थान ग¥यौँ । हाल जोमसोम-कोरोला मोटरबाटो कालीगण्डकीको दाहिने भाग भएर निर्माण गरिएको रहेछ । पहिले मेरो ल्होमाङथाङ पैदल भ्रमण कालीगण्डकी पार गरेर प्राकृतिक दृश्यले भरिपूर्ण जादु भूबनोट भएको चैले भन्ने स्थानबाट गरेको थिएँ, चैलेको ठाडो उकालो कष्टसाथ चढेर । अहिले त्यो भूबनोटको दृश्य मोटरबाटेबाट पारिपट्टि मजासँग देख्न सकिन्थ्यो । त्यस बाटाको निर्माणपश्चात् दामोदर कुण्ड त्यही भेगतर्फ पर्ने हुँदा बाटो केही छोटिएको होला भन्ने मैले अनुमान गरें । सर्वाधिक उचाइमा रहेको धार्मिक स्थलका रूपमा परिचित दामोदर कुण्डलाई नै कालीगण्डकीको उद्गमस्थल हो भन्ने विद्वत्जन पनि प्रशस्त भेटिन्छन्, जब कि ल्होमङथाङभन्दा आठ-नौ किलोमिटरमाथि अवस्थित प्रसिद्ध तथा अनौठो छोसेर (पहाडमा प्राकृतिक गुफा रहेको स्थान)को पहाडी भागबाट बगेर आएको खोला नै निरन्तर रूपमा बगेर गएपछि दामोदर कुण्डबाट निस्केको निकास छोसेर पहाडबाट आएको सानो खोलामा मिल्न गएको देखिन्छ । यो मुहानसम्बन्धी बहस विवादित भएकाले निकै लामो मन्थन हुन सक्छ-तथ्य, प्रमाण र भौगोलिक यथार्थमा रहेर यस विषयको निरूपण हुनुपर्नेमा सबै पक्ष सहमत हुनुपर्छ । तत्कालीन समयमा पैदलयात्रीका लागि घमीडाँडा पनि महत्त्वपूर्ण थियो, किनभने बाटाको अन्य भागमा वास बस्नका लागि उपयुक्त ठाउँ थिएन । हाल यसको पनि मुहार परिवर्तन भएको रहेछ । हुन त मुस्ताङको माथिल्लो भेग एक किसिमको हिमाली मरुभूमि नै हो र बस्ती क्षेत्रभन्दा अन्य भाग सुक्खा बालुवायुक्त भएको र वनस्पतिविहीन (केही काँडाजन्य बिरुवा) क्षेत्र नै हो । घमीडाँडा केही हरियालीयुक्त, पानीको सुविधा र खेतीजन्य भूभाग अन्य स्थानभन्दा बढी समथर भाग भएकाले बस्ती पनि बाक्लो नै थियो । त्यसैले मध्यजाडोको समयमा ल्होमाङथाङवासी घमीडाँडामा नै बसेर जाडो समाप्त भइसकेपछि आफ्ना स्थानमा फर्कन्थे भन्ने पनि सुनिन्थ्यो । मुस्ताङका पूर्वराजा पनि त्यत्तिकै उचाइमा रहेको समर भन्ने स्थानमा आफ्नो गृष्मकालीन दरबारमा जाडोका समयमा बस्न आउने भन्ने सुनेकाले सो कुरा यथार्थ हो भन्ने अनुमान गर्न सकिन्छ । मुस्ताङे पूर्वराजाको गृष्मकालीन दरबार संरक्षण अभावमा भग्नावशेषका रूपमा देख्न सकिन्छ ।

फलेकमा शौच
तत्कालीन समयको एउटा अचम्म लाग्ने घटना सम्झँदा म अहिलेसम्म पनि सन्न हुन्छु । घमीडाँडामा रात बिताएर म बिहान दैनिक कर्म गर्न शौचालय खोजिरहेको थाहा पाएर होटेल साहुनी (पूर्वराजाकी भान्जी) ले मलाई एउटा अँध्यारो कोठा देखाइदिइन् । शौचालयभित्र पसेर हेर्दा त्यहाँ पानी थिएन, काठको फलेक बिच्छ्याइएको कोठामा फलेकमा सानो प्वाल परेको भाग मात्र थियो । मैले अनुमान गरेअनुसार त्यहीँ नित्य कर्म पूरा गरेँ-डराई-डराई (थाहा नभएर) । मलाई त्यहाँको शौचालयको व्यवस्था थाहा नभएर नै आशङ्का भएको थियो । हुन त त्यस्तै शौचालयको चलन रसुवा जिल्लाको दुर्गम गाउँमा बस्दा थाहा पाएको थिएँ । त्यहाँको साहुनीलाई सोध्दा दिसाले कोठा भरिएपछि त्यो दिसापिसाब गर्ने कोठा घरको तलाभन्दा मुनिको भागमा रहने र कोठामा सानो ढोका राखेको र हिउँदमा त्यसलाई झिकेर खेतबारीमा प्रयोग गरिनाले कहिल्यै नभरिने थाहा भयो । अहिले घमीडाँडा बजार पक्की र आधुनिक घरले भरिभराउ भएर बजारोन्मुख भएको देखेर म अचम्भित भएँ ।

असंरक्षित मुस्ताङ दरबार
मुस्ताङको समर पनि भौतिक रूपमा प्रगतिका गतिमा उक्लिँदै रहेछ । पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई आकर्षित गर्ने खालका होटेल/लजको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको रहेछ । ल्होमाङथाङमा बिहानको खानाका लागि पहिले नै जानकारी दिइएको हुँदा समस्या भएन । त्यहाँको मौसम निकै सफा र घमाइलो थियो, तैपनि घामले छेक्न नसक्ने चिसोले केही विचलित गराउँथ्यो । खाना अर्थात् भात तत्कालै पाक्नासाथ खाइहाल्नुपथ्र्यो, नत्र सेलाउन दिएमा काँचो पल्टन सक्ने हुँदा तुरुन्तै खाइयो । ल्होमाङथाङमा पुरानो अग्लो पर्खालले घेरिएको पूर्व र पश्चिम क्षेत्रमा मोटरबाटो बनेको थियो जहाँ पिच पनि गरिएको थियो । छुसाङभन्दा माथि उक्लेपछि ग्राभेल गरिएको बाटो थियो जुन त्यति कष्टप्रद थिएन । अन्य पहाडी भागमा ग्राभेल रोड पनि निकै अप्ठ्यारो हुन्थ्यो, जबकि त्यहाँको भूभाग देख्दा नराम्रो बाटो भन्न सकिने खालको थिएन । करिब पाँच-सात किलोमिटर क्षेत्रभित्र रहेको ल्होमाङथाङको घेरिएको पर्खाल कतै अतिक्रमित त कतै भग्नावशेषका रूपमा देखियो । त्यस क्षेत्रभित्र केही नयाँ गुम्बा निर्माण भएको र केही जीर्णोद्धार भइरहेका रहेछन् । पूर्वराजाको मुस्ताङ दरबार त्यति रौनक नभए पनि जेनतेन जोगाएर राखिएको रहेछ । तर, त्यस्तो ऐतिहासिक र पुरातात्त्विक महत्त्वको दरबारलाई संरक्षण गर्नुपर्नेमा कुनै सरकारको तत्परता रहेको पाइएन । मैले विगतमा त्यस दरबारभित्र गई पूर्वराजालाई भेटेर बातचित गरेको घटना मेरो मानसपटलमा ताजा भएर आयो । मैले प्रसङ्गवश उहाँका दाइलाई डोल्पाको से-गुम्बामा भेटेको कुरा पनि स्मरण गराएको थिएँ । पूर्वराजाका ठुल्दाइ राजा हुन छाडेर लामा भई डोल्पाको से-फोक्सुन्डो तालभन्दा माथिको से-गुम्बामा मूल लामाका रूपमा रहेका थिए । म माथिल्लो मुस्ताङको पहिलेको भ्रमणमा घोडामा चढेर त्यहाँको अचम्मित छोसेर गुम्बामा पुगेको थिएँ । पहाडलाई खोपेर भित्री भागमा बस्नयोग्य बनाई गुजारा गरिरहेका परिवारका सदस्यलाई पनि भेट्न पाएको थिएँ । त्यहाँभन्दा केही पर उकालो चढेर चीनको भूभाग त्यता पर्छ भनेर उत्तरतर्फ देखाइएको स्थानलाई हेरेको थिएँ, तर त्यो हेराइ र अनुमान त म यस स्थान अवलोकन गरेपश्चात् भ्रम रहेछ भन्ने लाग्यो । ल्होमाङथाङबाट २२ किलोमिटर टाढा निकै उकालो भाग पार गरेपछि मात्र नेपाल-चीनको कोरोला नाका पुगिने रहेछ । ल्होमाङथाङबाट करिब दुई घण्टाको मोटर यात्रापश्चात् हामी १५ हजार तीन सय ४५ (चार हजार ६ सय मिटरभन्दा बढी) फिट उचाइ रहेको नेपाल-चीनको सिमानामा पुग्यौँ । सीमाबिचको भाग दशगजामा उभिएर फोटो खिच्ने मेरो धोको पूरा हुन सकेन र मैले सीमास्तम्भमा नै फोटो खिचेर आफ्नो रहर पूरा गरेँ । सीमापारि विशाल आधुनिक भवन, सफासुग्घर पहिरन र खाइलाग्दा ज्यान भएका सुरक्षाकर्मी, मन्त्रमुग्ध दृश्य र सफा वातावरणले जो-कोहीलाई पनि भावविह्वल बनाउने रहेछ । चिनियाँ पक्षले दशगजासमेत मिचेर भवन बनाइएको दृश्य देख्दा भने मन कटक्क भयो र ठुलाबाट गरिने अन्यायको नमुना हो भनेर मनलाई आश्वस्त बनाइयो । नेपालपट्टिको भूभागमा करिब ३० वटा कपडाका पाल र त्यहीँबाट भन्सार, अध्यागमन र सुरक्षाका कार्य सञ्चालन भइरहेको दृश्य निकै कारुणिक थियो । बाँकी पालमा सीमामा रहनुपर्ने कर्मचारी र अधिकांश चिनियाँ सामानका पसल थिए । विशेषगरी साना लत्ताकपडा, फास्टफुड, रक्सी, चुरोट र खाद्य सामग्रीका पसल पालभित्र बेच्न राखिएका थिए । जाडो र बढी स्याँठ चल्ने हुँदा धेरैजसोको मुखबाट रक्सीको गन्ध आउने र अनुहारको थोरै भाग देखाएर पूरा शरीर ढाकिएका देखिन्थ्यो र आफ्नै सहयात्रीलाई पनि चिन्न मुस्किल थियो । दिउँसो ४ बजेपछि त्यस क्षेत्रमा यात्रीलाई बस्न निषेध गरिएकामा मैले घडी हेर्दा त्यति नै बज्न लागेको देखँे । अचम्म मानेर त्यहाँको प्रहरीसँग जिज्ञासा राख्दा उसले चिनियाँ समयसीमाअनुसारको भिन्नताले दुई घण्टा छिटो देखाएको बताए । मैले सुरक्षाकर्मीको ब्यारेक र अन्य कर्मचारीको वासस्थानबारेमा चासो राख्दा उसले सबै सुरक्षाकर्मी र कर्मचारी तल झर्छन् भन्ने जानकारी दिए । केही पसले मात्र सामान सुरक्षा र आवतजावत गरिरहने हुँदा त्यस ठाउँमा बस्ने गर्दा रहेछन् । नेपाल क्षेत्रभित्र हजारौँ रोपनी समथर क्षेत्र खाली रहेको र ठाउँठाउँमा हिउँका रास देखिन्थ्यो । हिउँप्रेमी युवा त्यस्तो मुटु छेड्ने जाडामा रमाउँदै हिउँ खेल्दै आनन्द लुटिरहेका थिए । कसैकसैलाई उचाइ लागेर हत्तपत्त तल्लो भागतिर लैजाँदै गरेको दृश्य पनि देखिन्थ्यो । समग्रमा करिब डेढ घण्टा जति मात्र बस्ने मौका मिले पनि नौलो र आनन्दको अनुभव बटुल्न पाएकामा मन प्रफुल्ल भयो ।

खुला शौचालय
एउटा कुराले मेरो मन खस्रक्क भयो-मैले एउटा कान्छी औँला देखाएर लघुशङ्काको सङ्केत गर्दा नजिकै रहेका सुरक्षाकर्मीले एउटा केही गहिरो भागतर्फ देखाउँदै खुला शौचालय त्यहाँ भएको सङ्केत गरे । किन होला त्यत्रो मान्छेको आवतजावत गर्ने स्थानमा एउटा शौचालय पनि व्यवस्थापन गर्न नसकेको ? हामी त त्यसमा अभ्यस्त छौँ, तर विदेशी जो जन्मजात त्यस्तो बानी छैन, ले के गरी आफ्नो समस्या समाधान गर्लान्, अचम्भित भएँ । (लेखक पूर्वप्रशासक एवम् साहित्यकार हुनुहुन्छ ।)

विदुर-१०, गेर्खुटार, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

रेशमबहादुर पाण्डे