Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

एसइई उत्तीर्ण विद्यार्थीलाई सुझाव

एसइई उत्तीर्ण विद्यार्थीलाई सुझाव
शिवराम ढकाल
५१ मिनेट अगाडी
  • जीवनमा सफल हुने मानिस केवल धेरै नम्बर ल्याउने होइन, सही दिशा रोज्ने, सीप सिक्ने, सोच विकसित गर्ने र समयअनुसार आफूलाई बदल्न सक्ने व्यक्ति हो ।
  •  कृत्रिम बौद्धिकता, स्वचालन, यान्त्रिकीकरण र तथ्याङ्क-आधारित प्रणालीले पुराना धेरै कामको स्वरूप बदलिरहेका छन् ।
  •  त्रुटिरहित बन्न खोज्ने मानिस कहिलेकाहीँ डर, दबाब र तुलनाभित्र हराउँछ ।
  •  विद्यालयले केवल घोकाई र जीपीएमा होइन, विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिनुपर्छ ।
  • आफ्नो क्षमता चिन्नु, समयको माग बुझ्नु र बदलिँदो संसारसँग आफूलाई बदल्न सक्नु हो ।

नेपालमा एसइई परीक्षा सकिएपछि विद्यार्थी र अभिभावकबीच सबैभन्दा धेरै चिन्ता हुने विषय हुन्छ कुन विषय पढ्ने ? धेरैले समाजको हल्ला, अरूको दबाब, जीपीएको चमक वा ‘सबैले यही पढिरहेका छन्’ भन्ने सोचका आधारमा निर्णय गर्छन् । तर जीवनमा सफल हुने मानिस केवल धेरै नम्बर ल्याउने होइन, सही दिशा रोज्ने, सीप सिक्ने, सोच विकसित गर्ने र समयअनुसार आफूलाई बदल्न सक्ने व्यक्ति हो ।

आजको संसार तीव्रगतिमा परिवर्तन हुँदैछ । कृत्रिम बौद्धिकता, स्वचालन, यान्त्रिकीकरण र तथ्याङ्क-आधारित प्रणालीले पुराना धेरै कामको स्वरूप बदलिरहेका छन् । अब केवल प्रोग्रामिङ भाषा जानेर मात्र भविष्य सुरक्षित हुन्छ भन्ने सोच पर्याप्त छैन । कृत्रिम बौद्धिकताले आफैं धेरै काम गर्न सक्छ; त्यसैले भविष्यमा धेरै व्यवसायी कम्पनीलाई त्यस्ता विद्यार्थी चाहिन्छ, जसले कृत्रिम बौद्धिकताले गरेको काम बुझ्न, जाँच्न, सुधार गर्न, तर्क विश्लेषण गर्न र जटिल समस्या समाधान गर्न सकुन् । त्यसका लागि गणित, तथ्याङ्क, तर्कशक्ति, एल्गोरिद् म र स्नायु सञ्जालसम्बन्धी गहिरो ज्ञान आवश्यक हुन्छ ।

विषय छनोटमा विवेक
कम्प्युटर विज्ञान पढ्ने विद्यार्थीले केवल एउटा वा दुईवटा प्रोग्रामिङ भाषा सिकेर मात्र पुग्दैन । गणित, तथ्याङ्क, एल्गोरिद्, यान्त्रिक सिकाई, स्नायु सञ्जाल, आलोचनात्मक सोच र अनुसन्धान-आधारित सिकाइमा बलियो हुनुपर्छ । जुन कलेजले यी विषयलाई गम्भीरतापूर्वक पढाउँछ, व्यवहारिक परियोजना गराउँछ र वास्तविक जीवनका समस्या समाधान गर्न सिकाउँछ, त्यही कलेज रोज्नुपर्छ । केवल ‘विदेशी सम्बन्धन’ छ भनेर नामकै पछि लाग्ने प्रवृत्तिले मात्र भविष्य सुनिश्चित हुँदैन । नेपालका विश्व विद्यालय-जस्तै त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा पनि कृत्रिम बौद्धिकता, तथ्याङ्क विज्ञान र स्नायु सञ्जालजस्ता विषय विस्तार गर्न सकिन्छ र भइरहेका पनि छन् । यदि सही ढङ्गले अनुसन्धान संस्कार विकास गरियो भने नेपालमै पनि उत्कृष्ट जनशक्ति उत्पादन सम्भव छ ।

ब्रेन ड्रेन हैन, ब्रेन गेन
नेपालमा अझै पर्याप्त रूपमा नपढाइएका वा सीमित रूपमा रहेका क्षेत्रमा विदेशमा अध्ययन गरेर फर्किएका नेपाली विज्ञलाई उपयोग गर्न सकियो भने देशले ठूलो फाइदा लिन सक्छ । उदाहरणका लागि कृत्रिम बौद्धिकता, अर्धचालक इन्जिनियरिङ, जैव प्रविधि, अन्तरिक्ष प्रविधि, नविकरणीय ऊर्जा, रोबोटिक्स, साइवर सुरक्षा, उन्नत नर्सिङ र स्वास्थ्य अनुसन्धानजस्ता क्षेत्रमा नेपाललाई आगामी वर्षमा ठूलो जनशक्ति चाहिने छ । त्यसका लागि सरकारले विदेशबाट फर्किएका विशेषज्ञको राष्ट्रिय अभिलेख तयार गर्ने, विश्वविद्यालयमा अतिथि प्राध्यापक र अनुसन्धान अध्यक्षका पद सिर्जना गर्ने, नयाँ विभाग खोल्न प्रारम्भिक लगानी दिने, उद्योग-विश्वविद्यालय सहकार्य बढाउने, अनुसन्धान अनुदान र कर प्रोत्साहन दिने तथा अनलाइन र प्रत्यक्ष शिक्षाको संयोजन गर्ने नीति ल्याउनुपर्छ । यसले ‘ब्रेन ड्रेन’ लाई केही हदसम्म ‘ब्रेन गेन’ मा बदल्न मद्दत गर्छ ।

सिपको सम्मान
सबै विद्यार्थी एउटै बाटोका लागि बनेका हुँदैनन् । यदि कसैको विज्ञानमा क्षमता कमजोर छ भने उसलाई जबर्जस्ती विज्ञान पढाउनु बुद्धिमानी होइन । एसइईपछि नै सीपमूलक शिक्षातर्फ जानु धेरै राम्रो विकल्प हुन सक्छ । सिकर्मी, डकर्मी, प्लम्बिङ, विद्युत् जडान, सिलाइ–कटाइ, फोटोग्राफी, सङ्गीत, नृत्य, सवारीसाधन चलाउने सीप, एनिमेशन, डिजाइन, आतिथ्य, पाककला जस्ता क्षेत्रमा दक्ष व्यक्ति समाजका लागि अत्यन्त आवश्यक हुन्छन् । यस्ता काम सम्मानजनक मात्र होइनन्, व्यवहारिक र धेरै अवस्थामा आर्थिक रूपमा पनि सवल हुन्छन् ।
सबैले डिग्री नै पछ्याउनुपर्छ भन्ने छैन । जीवनमा सफल हुन व्यवहारिक सीप, अनुशासन, संवाद क्षमता र काम गर्ने बानी धेरै महत्त्वपूर्ण हुन्छन् । पढेर मात्र व्यवस्थापक बन्न सकिँदैन-काम गरेर, जिम्मेवारी लिएर र समस्या समाधान गर्दै व्यवस्थापक बन्न सकिन्छ । विज्ञानले काम गर्ने तरिका, तर्कशक्ति र विश्लेषणात्मक सोच सिकाउँछ । त्यसैले प्लस टु तहमा सम्भव भएसम्म विज्ञान पढ्नु उपयोगी हुन सक्छ, तर त्यो पनि आफ्नै क्षमता र रूचीअनुसार हुनुपर्छ ।

जीपीए र व्यक्तित्व
अर्को महत्त्वपूर्ण कुरा-जीपीए मात्र जीवनको अन्तिम सत्य होइन । केही वर्षअघि चार जीपीए ल्याएका धेरै विद्यार्थी आज सामान्य भीडमै हराएका देखिन्छन् किनभने समाजले केवल अङ्क होइन, व्यक्तित्व, संवाद क्षमता, नेतृत्व, सिर्जनशीलता र सहकार्य खोज्छ । त्रुटिरहित बन्न खोज्ने मानिस कहिलेकाहीँ डर, दबाब र तुलनाभित्र हराउँछ तर बुद्धिमत्तापूर्वक निर्णय गर्ने वा विवेकशील व्यवहारिक र परिस्थितिअनुसार चल्न सक्ने मानिस जीवनमा धेरै अघि बढ्छ । विद्यालयले केवल घोकाई र जीपीएमा होइन, विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिनुपर्छ । वक्तृत्वकला, लेखन, खेलकुद, नृत्य, गायन, नाटक, नेतृत्व, व्यङ्ग्य, चित्रकला, सहकार्य र सामाजिक व्यवहारजस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउनुपर्छ । जीपीए तिन वा चार बीचमा भएपनि यदि विद्यार्थीमा आत्मविश्वास, व्यवहारिक ज्ञान, सिर्जनशीलता र संवाद क्षमता छ भने उसले जीवनमा धेरै ठूलो उपलब्धी हासिल गर्न सक्छ ।

निष्कर्ष
एसइईपछि केवल पुस्तकीय शिक्षा होइन, जीवनोपयोगी सीप, प्रविधि बुझाई र उद्यमशील सोच चाहिन्छ । आजको पुस्ताले कृत्रिम बौद्धिकता, स्मार्ट फोन, नेटवर्क, क्लाउड कम्प्युटिङ, कम्प्युटर, गाडी चलाउने सीप र उद्यमशीलता जस्ता विषयलाई जीवनका अवसरका रूपमा बुझ्नुपर्छ । यिनलाई पढाईसँगै जोड्न सके विद्यार्थीले केवल जागिर खोज्ने होइन, अवसर सिर्जना गर्ने क्षमता पनि विकास गर्छन् । अर्थात् भविष्य केवल एउटै बाटोमा छैन । कसैले विज्ञान र प्रविधिमा उत्कृष्ट बन्न सक्छ, कसैले सीपमूलक क्षेत्रमा, कसैले उद्यमशीलतामा । मुख्य कुरा आफ्नो क्षमता चिन्नु, समयको माग बुझ्नु र बदलिँदो संसारसँग आफूलाई बदल्न सक्नु हो । समाजलाई डिग्रीधारी मात्र होइन, सीपधारी, जिम्मेवार र सोच्न सक्ने नागरिक चाहिन्छ । एसइई पास गरेका विद्यार्थीलाई सन्देश यही हो – भीडले रोजेको बाटो मात्र नहेर्नुहोस् । आफ्नो क्षमता, रूची, समयको आवश्यकता र भविष्यको सम्भावना बुझेर निर्णय लिनुहोस् । केवल प्रमाणपत्र होइन, सीप, अनुशासन, समस्या समाधान क्षमता र व्यक्तित्व विकासमा ध्यान दिनुहोस् । भविष्य त्यही व्यक्तिको हुन्छ, जसले बदलिँदो संसारसँग आपूmलाई बदल्न सक्छ । (लिखु-१, ढिकुरे, नुवाकोटका लेखक बैंकर हुनुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

शिवराम ढकाल