- नेपालले सन् २०१७ को बीआरआई समझदारीपत्र र २०२४ को बीआरआई फ्रेमवर्कअन्तर्गत रोकिएका परियोजना अगाडि बढाउन पहल थालेको छ ।
- स्याफ्रुबेँसी-रसुवागढी राजमार्ग मर्मत तथा सुधार आयोजना, चिलिमे-रसुवागढी-केरूङ २२० केभी प्रसारण लाइन आयोजना, नेपाल-चीन अन्तरदेशीय रेलमार्ग आयोजना, काठमाडौँ चक्रपथ सुधार आयोजना, टोखा-छहरे सुरूङमार्ग र हिल्सा-सिमकोट सडक आयोजनाजस्ता परियोजना अगाडि बढाउने विषयमा छलफल हुने ।
काठमाडौँ । नेपालसँग भएको सम्झौतानुसार चिनियाँ पक्षले बीआरआईलाई अगाडि बढाउन पहल थालेको छ । यसका लागि उच्चस्तरीय भ्रमण तथा बैठकको तयारी भइरहेको छ ।
सन् २०१७ को बीआरआई समझदारीपत्र र २०२४ को बीआरआई फ्रेमवर्कका आधारमा विभिन्न परियोजनाहरू अगाडि बढाउन आन्तरिक छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो । यस प्रयोजनका लागि मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग आयोजनाको प्रगति विवरण मागेको छ । सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए । सो क्रममा दुई देशबीच १० आयोजना अघि बढाउने सहमति भएको थियो । तर, विभिन्न कारणले धेरैजसो आयोजना अलपत्र अवस्थामा छन् । ती आयोजना हाल कुन अवस्थामा छन् भन्नेबारे परराष्ट्र मन्त्रालयले खोजीनीति गर्न लागेको मन्त्रालयका एक अधिकारीले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयका अनुसार यही जेठ १९ गते (जुन २) मा ‘नेपाल-चीन सहयोग कार्यक्रम तथा आयोजना कार्यान्वयन सहजीकरण संयन्त्र’ को बैठक बस्ने तयारी गरिएको छ । सो बैठकअघि नै ती आयोजनाबारे मन्त्रालयले अध्ययन गरिसक्ने बताइएको छ । स्रोतका अनुसार उक्त बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गर्नेछन् । यस बैठकपछि लामो समयदेखि रोकिएका आयोजनाले गति लिने विश्वास मन्त्रालयले लिएको छ । मन्त्रालय स्रोतका अनुसार बैठकमा नेपालमा चिनियाँ अनुदान र सहुलियतपूर्ण ऋणमा सञ्चालित आयोजनाको प्रगति समीक्षा गरिने छ । साथै, ढिलासुस्ती भएका कामको समीक्षा गर्दै तिनलाई चाँडो अगाडि बढाउने विषयमा छलफल हुनेछ । विशेषगरी स्याफ्रुबेँसी-रसुवागढी राजमार्ग मर्मत तथा सुधार आयोजना, चिलिमे-रसुवागढी-केरूङ २२० केभी प्रसारण लाइन आयोजना, नेपाल–चीन अन्तरदेशीय रेलमार्ग आयोजना, काठमाडौँ चक्रपथ सुधार आयोजना, टोखा-छहरे सुरुङमार्ग र हिल्सा-सिमकोट सडक आयोजनाजस्ता परियोजना अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ ।
यी आयोजनालाई गति दिन दुई देशबिच उच्चस्तरीय छलफल भई पत्रसमेत आदानप्रदान भएको छ । यस संयन्त्रको बैठकपछि चीनमा पनि अर्को संयुक्त परामर्श संयन्त्रको १७औँ बैठक बस्ने स्रोतले दाबी गरेको छ । उक्त बैठकको मिति पनि तय भइसकेको छ । सो बैठकमा भाग लिन परराष्ट्र सचिव राई आफैँ जाने बताइएको छ । यी दुवै संयुक्त बैठक बस्नुअघि चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष झो पेङ नेपाल भ्रमणमा आउन लागेका छन् । नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ । यद्यपि, यस भ्रमणबारे परराष्ट्र मन्त्रालयले भने अनभिज्ञता प्रकट गरेको छ ।







प्रतिक्रिया