धुन्चे । चौँरीपालन व्यवसाय रसुवा जिल्ला, आमाछोदिङ्मो-३, गत्लाङका १० प्रतिशत कृषकको जीवन निर्वाहको माध्यम बनिरहेको छ । बाबुबाजेको पालादेखि उनीहरूले चौँरीपालन गर्दै त्यसैबाट जीवन धानिरहेका छन् । काम गर्न दुःख भए पनि सन्तोषजनक आम्दानी भएकै कारण यसैलाई निरन्तरता दिइरहेको आमाछोदिङ्मो-३, गोम्बोलेक भन्ने खर्कका कृषक नोसङ तामाङले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मलेसिया र कुवेत गएका साथीहरूको भन्दा पुख्र्यौली पेसा धानेर यसै पेसाबाट घरखर्चलगायत अन्य खर्च कटाएर सन्तोषजनक आम्दानी लिइरहेको छु ।’
आमाछोदिङ्मो गाउँपालिकामा पर्ने गत्लाङ गाउँका ४२ जनाले गोम्बोलेक भन्ने खर्कमा चौँरी पालेका छन् । उनीहरूले ६ महिना लेक र ६ महिना बेँसीमा गोठ राखेर पाल्दै आइरहेका छन् । जाडो महिनामा बेँसी र गर्मी महिनामा लेकमा गोठ राखेर चौँरीको दुध सङ्कलन गरी दुग्ध विकास संस्थानको दुध सङ्कलन केन्द्र गत्लाङमा पु¥याउने गर्छन् । उनीहरूले पुख्र्यौली पेसालाई हराउन नदिई आम्दानीको स्रोत बनाइरहेका छन् । सोही गाउँका अर्का कृषक छलफुङ तामाङले २४ वटा चौँरी पाल्नुभएको छ । उहाँले दुध बेचेर वार्षिक रु.६ लाख कमाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हिमाली क्षेत्रको जङ्गलमा चरेर शुद्ध पानी पिएका, हिमाली जडीबुटी घाँस खाएर हुर्केका, नुन र अन्न नखाएका चौँरीको दुध र यसका अन्य उत्पादनमा पोषिलो र औषधीय गुण हुने भएकाले यसका पारखीहरू खोजीखोजी उपभोग गर्छन् ।’ त्यस्तै, त्यहीँका अर्का कृषक नोसङ तामाङ २० वटा चौँरी पालेर वर्षको रु.चार लाख कमाउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो पुख्र्यौली पेसा हो, जहाँ गए पनि दुःख नै गर्नुपर्ने हुन्छ । हामीले यही पेसा राम्रो ठानेर नै निरन्तरता दियौँ ।’ पछिल्लो पुस्ताले यो व्यवसाय गर्छन् कि गर्दैनन् भन्ने चिन्ता उहाँको छ । उहाँ दैनिक पाँचदेखि १० लिटर दुध गत्लाङकै दुग्ध विकास संस्थानमा बेच्ने गर्नुहुन्छ ।

गत्लाङमा करिब पाँच सय घरधुरीमध्ये ४५ घरधुरी चौँरीपालनमा रहेको पालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो । सो गाउँका अन्य घरधुरीका केही कृषकले होटेल व्यवसाय, होमस्टे सञ्चालन गरेका छन् भने अधिकांशले आलु, बन्दा, सिमी, कालो मुसुरो खेती गरेर आम्दानी लिइरहेका छन् । सोही गाउँका अर्का कृषक निमा तामाङले १६ वटा चौँरीबाट वार्षिक रु.तीन लाख आम्दानी गरेर आम्दानी गरिरहनुभएको छ । आफूहरू पढेलेखेका नभए पनि अनुभव र देखेको भरमा यो व्यवसायलाई निरन्तरता दिइरहेको निमाले बताउनुभयो । चौँरीपालनमा संलग्न पासाङ तामाङले १५ वटा चौँरीबाट रु.पाँच लाख वार्षिक कमाउने बताउनुहुन्छ । गरे के हुँदैन भन्ने उदाहरणीय पात्र बनेर पर्यटन प्रवद्र्धन आम्दानी राम्रो बनाउँदै लगेका अर्का कृषक सेरच्याल तामाङले ४५ वटा चौँरी पालेर वार्षिक रु.१३ लाख कमाउनुहुन्छ ।
पालिकाले पनि कृषकलाई सहज होस् भनेर उनीहरूको आयस्रोत बढाउन सहजीकरण गरिरहेको छ । गत्लाङकै गोम्बोछिरिङ तामाङले ४६ वटा याक, नाक पाल्नुभएको छ । उहाँ याक भाले र नाक पोथी क्रस गराएर चौँरी उत्पादन गरी बेच्ने गर्नुहुन्छ, यसबाट उहाँले वार्षिक रु. ६ लाख आम्दानी गरिरहेको बताउनुहुन्छ । चौँरीपालनबाट राम्रो आयस्रोत बनाएका गल्ताङका कृषकलाई कहिल्यै पनि सदरमुकाम धुन्चे जाने फुर्सद हुँदैन, विदेश जाने त कल्पना गर्न सक्दैनन् ।
चौँरीको उत्पादन कसरी : चौँरीको चौँरी जन्मदैनन्, तर चौँरी उत्पादनका लागि शुद्ध जातको याक, नाक आवश्यक रहन्छ । चौँरीको भालेलाई झोप्क्यो र पोथीलाई चौँरी भनिन्छ । चौँरी भाले झोप्क्यो प्रजननका लागि योग्य हुँदैनन् । यसलाई भारी बोक्न र खेत जोत्न प्रयोग गरिन्छ । नाक र स्थानीय जातको बहरको क्रसबाट जन्मेकालाई डिम्जो चौँरी र याक स्थानीय गाईको क्रसबाट जन्मेकोलाई उराङ चौँरी भनिन्छ ।
संरक्षणका चुनौती : जलवायु परिवर्तनको असर, चरण क्षेत्र घट्दै जानु, गोठ व्यवस्थापनको चुनौती र युवापुस्ताको कम रुचि, दुःख धेरै र कम आम्दानी ।
उपाय : सुधारिएको पालन प्रणाली, पशु स्वास्थ्य सेवा विस्तार, सरकारी तथा सामुदायिक सहयोग र आधुनिक प्रविधिको प्रयोग ।






प्रतिक्रिया