+
Search

ताजा अपडेट +

पपुलर +

लाङ्टाङमा स्याउ सप्रिएपछि…

लाङ्टाङमा स्याउ सप्रिएपछि…
हेमनाथ खतिवडा र सरस्वती न्यौपाने
१२ घण्टा अगाडी

धुन्चे । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल लाङ्टाङ क्षेत्रमा गत पुसमा रोपिएका स्याउका बिरुवा फुलेका छन् । परीक्षणका लागि रोपिएको स्याउ वातावरण अनुकूलित भएर सप्रिन थालेपछि गाउँले खुसी भएका छन् । गोसाईँकुण्ड-४ को लाङ्टाङ र मुन्डु गाउँमा पहिलोपटक स्याउको परीक्षण सफल भएपछि स्थानीय खुसी भएको पालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । समुद्र सतहबाट तीन हजार पाँच सय मिटरको उचाइमा स्याउ खेती सुरु गरिएको हो ।

Utsuk Books & Stationery

नमुना परीक्षणका लागि यहाँ विभिन्न जातको स्याउ रोपेको र परीक्षण सफल भएको स्थानीय फिन्जो तामाङले बताउनुभयो । ‘एक-दुईवटा बोट पहिले रोपिएको भए पनि यसरी नयाँ जातको परीक्षण पहिलोपटक गरिएको हो,’ उहाँले भन्नुभयो, ‘गत मङ्सिरमा रेड डेलिसियस, रोयल डेलिसियस र फुजी जातका ४८ वटा स्याउका बिरुवा रोपेको हो । गाउँमा तीन सय बिरुवा रोपिएको थियो । चार-पाँचवटा बिरुवा मरे पनि धेरैजस्तो बिरुवा सप्रेका छन् ।’ त्यहाँ २० वटा ग्रिनहाउस बनाइएको छ । परीक्षणका लागि १३ प्रजातिका स्याउ रोपिएको थियो । यहाँ स्याउको परीक्षण सफल भएपछि धेरैले स्याउका बिरुवा रोप्ने सोच बनाएका छन् । पर्यटकीय क्षेत्रसमेत रहेको सो गाउँमा आउने पर्यटकले धेरै स्याउ खपत गर्ने स्थानीय ग्याल्बो लामाले बताउनुभयो । पहिले स्थानीय जातका स्याउ रोपे पनि फल्न छाडेपछि अध्ययन अभावले मासिएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोगमा लाङटाङमा गत डिसेम्बरमा स्याउका बिरुवा रोपिएको थियो । यो परीक्षण सफल हुने भएपछि हेरेर धेरैले स्याउ रोप्ने योजना बनाएको स्थानीय तेम्पा तामाङ बताउनुहुन्छ । इसिमोडका अर्गानिक कृषिविज्ञ राजेन्द्र ढकाल भन्नुहुन्छ, ‘लाङ्टाङमा परीक्षण सफल भनिहाल्न मिल्दैन । फल लागेर किसानले लाभ लिएपछि मात्र परीक्षण सफल भएको भन्न सकिन्छ । रोपिएका स्याउका बिरुवा वातावरण अनुकूलित भएकाले बिरुवाको वृद्धि भने भएको छ । केही बिरुवामा फूल फुले पनि बोट परिपक्व नभएकाले टिपेर हटाइएको थियो ।’

त्यस्तै, जलवायु उत्थानशील कृषि अनुसन्धानकर्ता कैलाश भट्ट भन्नुहुन्छ, ‘लाङ्टाङको मुन्डुमा फरक–फरक जातका स्याउका बिरुवा हावापानी मिल्ने ठाउँ भारतको हिमाचल प्रदेशबाट ल्याएर रोपिएको हो, अनुसन्धानकै क्रममा भएकाले कुन राम्रो हुन्छ त्यही जात अघि बढाउने उद्देश्यले परीक्षण भइरहेको छ ।’ चिसो र उच्च-उचाइको अवस्थामा अनुकूलन क्षमता र प्रदर्शन परीक्षण गर्न उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा रातो स्वादिष्ट, गोल्डेन स्वादिष्ट, डार्क सुपर, सुपर गोल्डेन र अन्य प्रजाति पनि रोपेर स्याउ खेती गरिएको इसिमोडका प्रशिक्षक कृष्ण भामले जानकारी दिनुभयो । स्थानीय ५० भन्दा बढी घरपरिवारले आफ्नो घरको बगैँचामा स्याउको बिरुवा रोप्दै स्याउ रोपणमा भाग लिएका थिए । स्थानीयले स्याउका बिरुवावरिपरि बन्दा, प्याजजस्तो तरकारी खेती पनि सँगसँगै गरेर दोहोरो लाभ लिएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

हेमनाथ खतिवडा र सरस्वती न्यौपाने