+
Search

ताजा अपडेट +

पपुलर +

छोरी सशक्तीकरण र युवा उद्यमशीलता मेरो प्रमुख प्राथमिकतामा छ

छोरी सशक्तीकरण र युवा उद्यमशीलता मेरो प्रमुख प्राथमिकतामा छ
त्रिशूली प्रवाह
८ घण्टा अगाडी

सीता थपलिया
प्रतिनिधिसभा सदस्य (समानुपातिक), धादिङ

Utsuk Books & Stationery

यसपटकको संसद्मा धादिङबाट समानुपातिक कोटामा महिला सांसदको सङ्ख्या उल्लेख्य रहेको छ । जिल्लाका सातजनाले यसपटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ । प्रत्यक्ष निर्वाचन दुईवटा क्षेत्र रहेको धादिङबाट प्रत्यक्षतर्फ दुईजना र समानुपातिक निर्वाचनतर्फबाट पाँचजना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सातजनामध्ये पाँचजना महिलाले प्रतिनिधित्व गर्नुभएको छ । धादिङकै एकजना काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको छ । उहाँसहित गणना गर्दा धादिङबाट यसपटक आठजना प्रतिनिधि संसद्मा पुग्नुभएको छ ।

जेन-जी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन गरी बनेको सरकारले गरेको निर्वाचनमा प्रत्यक्षतर्पm धादिङ १ बाट आशिका तामाङ गजुरी-२, चेपाङटारीकी हुनुहुन्छ भने धादिङ-२ बाट बोधनारायण श्रेष्ठ ज्वालामुखी-२, पोखरीथोक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहनुभएका काठमाडौँ-९ बाट निर्वाचित डोलप्रसाद अर्याल धादिङ ज्वालामुखी-२, चिलाउने चौताराका हुनुहुन्छ । उहाँ अहिले सभामुख हुनुहुन्छ । यसैगरी, समानुपातिक सूचीबाट निर्वाचित रास्वपाका केन्द्रीय सहकोषाध्यक्ष बसुमाया तामाङ ज्वालामखी-४ ढोला, नेपाली काङ्ग्रेसकी उर्मिला थपलिया सिद्धलेक-१, नलाङकी हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा.डा.पुष्पराज कँडेल बेनीघाट-रोराङ-३, रिचोकटारका हुनुहुन्छ भने गंगादेवी श्रेष्ठ नीलकण्ठ नगरपालिका-७, तारुखर्ककी हुनुहुन्छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा रुबिभ्याली-४, बोराङकी हुुनुहुन्छ । यसपटक धादिङमा जन्मे-हुर्केका आठजना प्रतिनिधिसभा सदस्य पाउँदा १३ गाउँपालिका रहेको धादिङको ज्यालामुखीले मात्र तीनजना सांसद पाएको छ । महिलाको प्रतिनिधित्व न्यून रहेको यथार्थलाई उल्टाउँदै धादिङले नयाँ रेकर्ड कायम गरेको छ । धादिङबाट सङ्घीय संसद्मा पुरुष दुई र महिला पाँचजनाको प्रतिनिधित्व भएको छ । प्रतिनिधित्वको दृष्टिले यो उत्साहप्रद हो ।

पहिलोपटक संसद् प्रवेश गर्नुभएकी सीता थपलिया नेपाली काङ्ग्रेसबाट समानुपातिकतर्फ सांसद बन्नुभएको छ । शिक्षित, स्वस्थ र आत्मनिर्भर नागरिक निर्माण गर्न सके समृद्ध राष्ट्रनिर्माण सम्भव हुने धारणा राख्ने उर्मिला छोरी सशक्तीकरण र युवा उद्यमशीलतालाई आफ्नो प्रमुख राजनीतिक प्राथमिकता रहेको बताउनुहुन्छ । धादिङको सिद्धलेक-१ मा जन्मी स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएकी उहाँ छोरीलाई परिवार, समाज र राष्ट्रको भविष्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘छोरीहरू केवल परिवारको जिम्मेवारी होइनन्, उनीहरू समाज र राष्ट्रको भविष्य हुन् । गुणस्तरीय शिक्षा, सिपमूलक तालिम र सहज स्वास्थ्यसेवामा उनीहरूको पहुँच सुनिश्चित गरिनुपर्छ ।’ उहाँका अनुसार शिक्षित र स्वस्थ छोरीले मात्र आत्मविश्वासका साथ निर्णय लिन सक्छन् । नेतृत्व गर्न, समाजलाई सही दिशातर्फ अघि बढाउन सक्छन् । त्यसैले शिक्षा र स्वास्थ्यलाई आधार मानेर छोरी सशक्तीकरणमा जोड दिनु अत्यावश्यक छ । युवालाई उद्यमशीलतातर्फ अग्रसर गराउँदै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आफ्नो अर्को प्राथमिकता रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले धेरै युवा बाध्यताले विदेश पलायन भइरहेका छन् । जसले देशको सम्भावनालाई कमजोर बनाइरहेको छ । त्यसै अब युवालाई आफ्नै देशमै अवसर देखाउने, उनीहरूको सिप र क्षमतालाई उपयोग गर्ने तथा उद्यमका लागि आवश्यक ज्ञान, तालिम, लगानी र नीतिगत सहयोग उपलब्ध गराउनुपर्छ ।’ उहाँले बिदेसिएका युवालाई पुनः स्वदेश फर्काएर यहाँकै स्रोत, सम्भावना र बजारको उपयोग गर्दै उद्यममा लगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । शिक्षा प्रणालीलाई व्यावहारिक, सिपमुखी तथा स्वास्थ्य क्षेत्रलाई सुदृढ र पहुँचयोग्य बनाउँदै लैजानु छ । हरेक युवा स्वस्थ, दक्ष र आत्मनिर्भर बन्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएकी थपलियाले विद्यार्थी आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । आन्दोलनका क्रममा गम्भीर घाइते भई लामो समय उपचारमा बस्नुपरेको तथा अश्रुग्यासको असरले देब्रे कानमा स्थायी समस्या देखिएको छ । उहाँको राजनीतिक यात्रा नेपाल विद्यार्थी सङ्घको नीलकण्ठ मावि एकाई उपाध्यक्ष (२०५४) बाट सुरु भई नेपाल विद्यार्थी सङ्घ जिल्ला तहदेखि केन्द्रीय नेतृत्वसम्म विस्तार भएको छ । उहाँ नेपाल विद्यार्थी सङ्घको केन्द्रीय उपाध्यक्ष र महामन्त्री हुँदै विसं २०७९ मा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यसमेत बन्नुभएको थियो । राजनीतिसँगै लेखन र सामाजिक अभियानमा समेत सक्रिय थपलियाका विभिन्न कृति प्रकाशित छन् । छोरी सशक्तीकरण, युवा रोजगारी र उद्यमशीलता विकासमार्फत समृद्ध राष्ट्रनिर्माण गर्ने स्पष्ट दृष्टिकोणका साथ आपूm अघि बढिरहेको उहाँले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह