विदुर । सरकारले जुवातासलगायतका गतिविधिमा प्रतिबन्ध लगाए पनि चालू आर्थिक वर्षको दुई महिनामै २० लाख बुक तास आयात भएको छ ।


नेपालमा चीन, भारत, अमेरिकालगायतका मुलुकबाट तास आयात हुने गरेको छ । चालू आर्थिक वर्षको साउन र भदौमा सबैभन्दा धेरै चीनबाट रू.चार करोड ६७ लाख ८० हजारबराबरको तास आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ । यो अवधिमा भारतबाट रु.५० लाख ५५ हजारबराबरको तास आयात भएको छ । दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै विभिन्न मुलुकबाट तास आयात हुने गरेको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू आवको पहिलो दुई महिनामा नेपालले रू.पाँच करोड १८ लाखबराबरको तास आयात गरेको छ । यस अवधिमा १९ लाख ९२ हजार दुई सय ६५ बुक तास आयातबाट रू.तीन करोड ११ लाख राजस्व सङ्कलन भएको छ ।

मुलुकी अपराध संहिताअनुसार जुवा भन्नाले संयोगका आधारमा कुनै चल वा चलन सम्पत्ति अथवा प्रतिफल प्राप्त गर्ने वा गुमाउने गरी बाजी थापेर खेलिने खेल वा प्रक्रियालाई बुझिन्छ । आफूले जुवा नखेली अरूको हारजितमा बाजी थाप्ने कामलाई पनि जुवाकै रूपमा परिभाषित गरिएको छ । खेलमा प्रत्यक्ष सहभागी नभई अरूको हारजितका आधारमा सम्पत्ति वा प्रतिफल प्राप्त गर्ने वा गुमाउने गरी थपिएको बाजी वा च्याँखे पनि जुवाअन्तर्गत पर्छ । पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा रू.३० हजारसम्म जरिवाना हुन सक्ने अपराधसंहितामा उल्लेख छ । दोस्रोपटक जुवा खेलेमा वा खेलाएमा एक वर्षसम्म कैद र रू.५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
दोस्रोपटकको सजाय भुक्तान गरेपछि पुनः पक्राउ परेमा प्रत्येकपटक थप तीन महिनासम्म कैद र रू.१० हजारसम्म जरिवाना हुन सक्छ । जुवा खेल्न प्रयोग गरिएका सामान र जुवा खेलिएको खालमा प्राप्त सबै चल तथा अचल सम्पत्ति जफत गर्ने व्यवस्था पनि संहितामा छ । तर, सरकारको स्वीकृतिमा सञ्चालन हुने खेल र अधिकारप्राप्त अधिकारीको स्वीकृत्ति लिएर सञ्चालन गरिएको चिट्ठालाई जुवा नमानिने व्यवस्था संहितामा स्पष्ट गरिएको छ ।







प्रतिक्रिया