धुन्चे । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट प्रभावित रसुवाका संस्थागत विद्यालय र विद्यार्थीका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले राहत एवम् शैक्षिक सहयोग शनिबार उपलब्ध गराएको छ ।


प्याब्सन केन्द्रीय कार्यालयको आर्थिक सहयोगमा जिल्लाका अति प्रभावित दुई विद्यालयलाई कुल रू.१२ लाख आर्थिक सहयोग प्रदान गरिएको प्याब्सन रसुवाले जनाएको छ । प्राप्त सहयोगमध्ये बाढीबाट भौतिक क्षति पुगेको उत्तरगयास्थित मोडर्न ट्रिनिटी बोर्डिङ स्कुललाई रू.१० लाख र स्याफ्रुबेँसीस्थित गोसाईंँकुण्ड बोर्डिङ स्कुललाई रू.दुई लाख नगद हस्तान्तरण गरिएको हो । यसैगरी, बाढीका कारण अभिभावक गुमाएका अति प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि समेत विशेष पहल थालिएको छ । प्याब्सन केन्द्रीय विपत् व्यवस्थापन समिति तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा त्यस्ता विद्यार्थीको ६ महिनाको विद्यालय शुल्क मिनाहा एवम् व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । बाढीबाट प्रत्यक्ष प्रभावित भई छात्रावासमा बसेर अध्ययन गरिरहेका एक सय १७ जना विद्यार्थीलाई पहिलो चरणमा अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडासमेत वितरण गरिएको प्याब्सन रसुवाका अध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । विपत्को घडीमा बालबालिकाको पठनपाठन अवरुद्ध हुन नदिन प्याब्सनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने अध्यक्ष लामाले प्रतिबद्धता जनाउनुभयो ।








प्रतिक्रिया