विक्रम संवत् २०८३ भदौ १० गते ल्हेन्दे-भोटेकोसी-त्रिशूली नदीमा बाढी आउँदा आफ्नो निवास क्षेत्र बट्टारका मानिस भागेर उकालो लागिरहेका थिए । कोही पृथ्वीनारायण शाहको दरबार नुवाकोट डाँडातिर कुदेका थिए । हामीचाहिँ आत्तिएनौँ, भागेनौँ ।


बाढीपछि हामी भदौ १४ गते बिहानको खाना खाएर आराम गरिरहेका बखत लुटियौँ । भोटेकोसी–त्रिशूलीमा बाढी आएदेखि दिनरात सरकार जनताको ज्यान बचाउन हेलिकोप्टरद्वारा खोजी गरिरहेको मौका छोपी सो दिन दुईजना लुटेराहरू बिहान १०ः२० बजे हाम्रो बेडरुमसम्मै आई मेरी श्रीमतीको कान लुछी एउटा इयरिङ खोस्दा रक्ताम्मे भई दुखेर उनी रोएकीले छिमेकीले ‘चोर आयो, चोर आयो’ भनेर कराए । एकजनाले मेरो गलाको सिक्री पनि तानेर भागेपछि बाटामा राखिएको भिडियो क्यामराले उनीहरूको फोटो लिएको रहेछ । दुईजना पुलिस अफिसरले भिडियो भेट्टाएर मलाई देखाएपछि मैले पहिचान गरी हो भनेँ, उनीहरूले खोजतलास गरिरहे । चोरलाई छाड्न सकिन्छ, तर डाँकालाई मिल्दैन, किनभने तिनले ज्यान पनि लिन सक्छन् ।

हामी लुटिएको कुरा अमेरिकामा बसेका मेरा छोराछोरी, बुहारी, ज्वाइँ, नातिनातिनाले पनि थाहा पाए । उनीहरूसँग नेपालका बाढीपीडितलाई सहयोग गर्ने कुरा पनि चल्यो । हामीचाहिँ बाढीपछि बट्टारमा पानीको अभाव भएकाले गत भदौ १६ गते काठमाडौँमा भाइ शेषराजका घरमा बस्न गयौँ । कान्छी छोरी राधा विडर (६०), जो फ्लोरिडा राज्यमा बैंकर छिन्, बाढीपीडितलाई सहयोग गर्न भनी भदौ ३० गते अमेरिकाबाट नेपाल आइन् । उनी एक्लै बट्टार गई विदुर-५ का वडाध्यक्ष लीलानाथ न्यौपानेसँग भेटेर पीडितलाई चाहिने आवश्यक सामग्रीबारे बुझेर किनमेल गर्न र बनाउन काठमाडौँ फर्किन् र तयारी पनि गरिन् । राहत सामग्रीका लागि उनका अमेरिकी साथीहरूले पनि सहयोग गरेका थिए । त्यसपछि हामी सपरिवार गत असोज ७ गते आफ्नो घर बट्टार फक्र्यौँ । सोही दिन र अर्काे दिन गरी छोरी राधा र मैले वडाध्यक्ष न्यौपाने र वडासदस्य विनोद चित्रकारका रोहवरमा देवीघाटका विस्थापन भई पिपलटार, पेट्रोल पम्पनजिक स्कुल, खम्पा क्याम्प आदिमा बसेका भोटेकोशी/त्रिशूली बाढीपीडितलाई दुई सय ३५ ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर र ग्यास सिलिन्डर वितरण गयौँ । हामीले २३५ लो–बेड, ५० थान खाना खाने टेबल, दुई सय थान मेच, सोलार लाइट पनि पीडितहरूलाई बाँड्यौँ ।
राहत लिने देवीघाटका पीडितमध्ये कोही–कोही एकै घरका श्रीमान्, श्रीमती, बालबच्चा पनि आए, दोहो¥याई, तेहेयाईसमेत आए । हामीले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापन भई कृष्ण मन्दिरमा रहेका वृद्धवृद्धालाई गएर पनि भेट ग¥यौँ । एकजना बिरामीलाई भने तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोटमा भेट्यौँ । हामी देवीघाटस्थित तादी र जिलिङ जोड्ने बेलिब्रिज तरेर बाढीबाट जाल्पादेवी क्षेत्रलगायत क्षतिग्रस्त स्थानहरू अवलोकन ग¥यौँ । यसरी छोरी राधा दुई हप्ता नेपाल बसिन् र आफ्नो घर फर्किन् ।
जेठा छोरा रेशमराज (५८), जो जर्जियामा ग्लोबल इन्सुरेन्ससम्बन्धी काम गर्छन्, पनि बडादसैँको छेक पारेर गत असोज २३ गते नेपाल आए । हामी ज्येष्ठ नागरिक प्रतिष्ठान हेर्न गयौँ, त्यहाँ बालुवाको थुप्रो लागेको रहेछ । तादी पुल र देवीथान पनि गयौँ, जुन बाढीले पुरिएको छ । त्यहाँको किरियापुत्री घर पनि बाढीले लगेछ । बस्ती सबै पुरिएको रहेछ । रेशम नेपाल आएपछि उनी, म र पहिले तारकेश्वर गाउँपालिका, कात्तिके, भमरा बस्ने माहिला सालाका छोरा हाल इनारपाटी बस्ने बाबुराम ढुङ्गाना हामीलाई लुट्ने अभियुक्तबारे बुझ्न प्रहरी चौकी गयौँ । प्रहरीले अभियुक्त पत्ता लाग्यो, अब पक्रिइन्छ भनेको थियो, अहिले त्यसबारे के भइरहेको छ, थाहा छैन । पछि छोरी राधाले अमेरिका पुगेर वृद्धवृद्धाका लागि भनी सय थान सिरक किनेर पठाइदिएकी छिन् । तीमध्ये २५ थान वडासदस्य चित्रकारमार्फत विदुर-५ पिपलटारमा बाँड्न दिएको छु भने अन्य मेरा घरमा राखेर पीडितलाई वितरण गर्दै छु । रेशम, म, आँपघारी बस्ने भान्जा मुकुन्दराज अर्याल, बट्टार, आदर्श टोल निवासी मधु नेपाल र उनकी पत्नी मञ्जु नयाँ बेलिब्रिज राखिएको बेत्रावती हुँदै धुन्चे पनि गयौँ । त्यहाँको वडा कार्यालयमा हामीले केही जानकारी लियौँ र बाढीपीडितसँग भेट गयौँ । रसुवाका केही पीडित बालबालिकालाई पृथ्वी मावि, विदुरमा ल्याई राखिएको रहेछ ।
हामीले रसुवा र नुवाकोटका करिब ३० अनाथ बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित हुने गरी केही सोच बनाएका छौँ । विसं २०६० मा दर्ता भई हामीले काम गरिरहेको ‘असहाय जेहेनदार तथा जनजातिका लागि शिक्षा’ नामक गैरसरकारी संस्थालाई क्रियाशील बनाउने विचार पनि हामीले गरेका छौँ । अब कान्छा छोरा राजेन्द्रराज (५४), जो फ्लोरिडामा बैंकर छन्, पनि आगामी क्रिसमसको मौका पारी पुसको दोस्रो हप्ता नेपाल आउने भएका छन् । उनीसमेतको सल्लाहमा विद्यालय अध्ययन गर्ने बालबालिका र ज्येष्ठ नागरिकका लागि हामी केही काम गर्ने नै छौँ ।

म अहिले ९२ वर्षको भएँ । हाल मेरो स्वास्थ्य राम्रै छ । स्मरण शक्ति पनि ठिकै छ । बाहिर हिँड्नुपरेमा वाकरको सहायता लिने गर्छु । टोलछिमेकका मानिसहरूसँग दैनिक भेटघाट, कुराकानी, छलफल गरिरहन्छु । मेरा आफन्त, नातेदार, कुलकुटुम्ब पनि भेटका लागि हामीकहाँ आइरहन्छन् । म मेरो फेसबुक पनि दैनिकजसो चलाइरहन्छु र आफ्नो विचार व्यक्त गरिरहन्छु । म एउटा आदर्श टोलको नागरिक पनि हुँ ।
सन्तोषं परमं सुखम् अर्थात् सन्तोष नै परम् सुख हो । सन्तुष्ट मन नै सुखी जीवनको आधार हो । भगवान्को भक्ति गर्नुपर्छ, पापकर्म र कुलतबाट बच्न सक्नुपर्छ । मनमा चिन्ता नलिई आनन्दसँग बस्नुपर्छ, कहिल्यै बुढो होइँदैन । मानवता अपनाएर गरिब–टुहुराको सहायता गर्नुपर्छ भन्ने मेरो मान्यता हो । (विसं २०८३ कात्तिक १७, तारकेश्वर–५ कल्लेरी डाँडा, नुवाकोट हाल : विदुर-४ भीमसेनमार्ग पुरानो पाटी, बट्टार)






प्रतिक्रिया