काठमाडौँ । सम्पादक समाज नेपालले ‘नागरिकको अपेक्षा, जिम्मेवार पत्रकारिता’ नारासहित जलवायु परिवर्तनको असर कम गर्न वातावरण संरक्षणलाई महत्त्व दिएर पत्रकारका लागि पदयात्रा कार्यक्रम तीन वर्षदेखि सञ्चालन गर्दै आइरहेको छ । नुवाकोटको लौके झरनाबाट तीन वर्षअगाडि सुरु भएको पदयात्रा गत वर्ष सिन्धुपाल्चोकको गुफाडाँडा हुँदै यो वर्ष ललितपुर, गोदावरीको चापागाउँ, लेले, देउराली देवीचौरसम्मको स्थलगत अवलोकन तथा देउराली-देवीचौरसम्म पदयात्रा शनिबार सम्पन्न भएको हो ।

गोदावरी नगरपालिकासँगको सहकार्यमा समाजले आयोजना गरेको अवलोकन तथा पदयात्रा कार्यक्रममा सञ्चारमाध्यमका सम्पादक, प्रकाशक, सञ्चारकर्मी तथ सञ्चार क्षेत्रका सय जनाभन्दा बढी पत्रकार तथा सञ्चारकर्मीको सहभागिता थियो । देवीचौर देउरालीमा आयोजना गरेको पदयात्राका क्रममा स्थानीय समीर तामाङले गहुँबारीको सामान्य परिचय गराउनुभएको थियो । सञ्चारकर्मीको विकास र क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको समाजका महासचिव श्याम डोटेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सम्पदा तथा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी नगरपालिका सहयोगमा चापागाउँ, लेले, देउराली देवीचौरसम्मको स्थलगत अवलोकन तथा देउराली देवीचौरसम्म पदयात्रामा आएका हौँ ।’ सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको क्षमता विकास तथा व्यावसायिक सिप अभिवृद्धिका लागि पत्रकारिता प्रशिक्षणलगायतको कार्यक्रम सञ्चालन गदै विभिन्न स्थानीय तह तथा विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा अवलोकन तथा पदयात्रा कार्यक्रम हरेक वर्ष गरिरहेको समाजका संरक्षक किरण वैधले बताउनुभयो ।
समाजका अध्यक्ष पुरू रिसालले सम्पादक समाजले विभिन्न अवस्थाका सञ्चारकर्मीको विकासमा काम गर्दै आएको हुँदा सबै पक्षको सहयोग र सहकार्यमा अगाडि बढिरहेको बताउनुभयो । गोदावरीका नगरप्रमुख गजेन्द्र महर्जनले स्थानीय सम्पदा र नगरपालिकाले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमको जानकारी गराउनुभएको थियो । सञ्चारकर्मी र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको पदयात्रा कार्यक्रमपछि देवीचौरमा आयोजित कार्यक्रममा उपप्रमुख मुना अधिकारीले स्थानीय क्षेत्रमा रहेका प्राकृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार र आन्तरिक पर्यटन प्रवद्धनमा सञ्चारकर्मीको भूमिका र सहयोग आवश्यक भएको बताउनुभयो । सो कार्यक्रममा पे्रस काउन्सिल नेपालका कार्यकारी प्रमुख झविन्द्र भुसालले समाजले पत्रकारिता क्षेत्रको विकासमा गर्ने विभिन्न कार्यक्रममा सहभागी भएर सञ्चारकर्मीको व्यावसायिक विकासमा सहयोग गर्ने प्रतिवद्र्धता जनाउनुभयो । नेपाल पत्रकार महासङ्घ ललितपुरका सभापति रामहरि कार्कीले लतिलपुर क्षेत्रमा क्रियाशील सञ्चारकर्मी तथा सञ्चार क्षेत्रले निर्वाह गदै आएको भूमिका र अवस्थाको चर्चा गर्दै यो कार्यक्रमले गोदावरी क्षेत्रको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने बताउनुभयो ।
जौबारीभ
न्दा अलिमाथि छ गहुँबारी । ललितपुरको गोदावरी नगरपालिका-७, देवीचौर जौबारीसँगै गहुँबारीले पनि परिचित छ । स्थानीय समीर थिङ तामाङका अनुसार विगतमा यहाँ गहुँ उत्पादन हुने भएकाले यसको नाम नै गहुँबारी रहन गएको हो । तर, यतिवेला भने बारीमा गहुँ छैन । गहुँबारी होइन, अहिले मकैबारी देखिन्छ । आँगनका डिलमा मकैका बोटभन्दा हरिया गाँजाभाङका बोट पनि उम्रिएका छन् । गाँजाभाङका बोट देखेपछि एक पत्रकारले ठट्टा गर्दै भन्नुभयो, ‘गहुँबारी होइन, भाङबारी राख्नुपर्ने रहेछ ।’ अर्का पत्रकारले जिज्ञासा राख्नुभयो, ‘यहाँ प्रहरी आइपुग्दैन कि ?’ तामाङले मुस्कुराउँदै जवाफ दिनुभयो, ‘प्रहरी भाङ काट्न आउँछन् । यो रोप्नुपर्ने होइन, आफैँ उम्रिन्छ, फलिरहन्छ । यो रोप्नुपर्ने चिज होइन ।’ त्यसपछि एक पत्रकारले लख काट्नुभयो, ‘आफ्नै लागि लगाएको हो, व्यवसायका लागि त होइन होला ।’ अर्का पत्रकार बोल्नुभयो, ‘गाईवस्तु पाल्ने मान्छेलाई औषधिका लागि पनि चाहिन्छ ।’ खेती गरेर बेचबिखन गरेको भए नष्ट गर्न आउने भन्न मिल्थ्यो, समाजको पदयात्रामा सहभागी अर्का पत्रकारले भन्नुभयो, ‘अचार खान पनि मिल्छ । गाईवस्तुले पातलो दिसा ग¥यो भने औषधिका रूपमा पनि दिने गरिन्छ । हरेक चिजलाई लागुऔषध मात्रै गन्न मिल्दैन नि ।’ यसैबिच सुरु भयो ‘निलो क्रान्ति’ को प्रसङ्ग । अर्का पत्रकारले हाँस्दै भन्नुभयो, ‘यहाँ पनि निलो क्रान्ति आएछ ।’ रातो टीकासँगै सेतो, निलो र रातो रङका खाँदाले पत्रकारको स्वागत गरिएको थियो ।
पदयात्रा टोली सुन्तलीडाँडातर्फ अघि बढ्दै सामुदायिक वनमा प्रवेश गरेपछि टोलीको अगुवाइ पञ्चकन्याको समूहसँगै वडा नं ७ की वडासदस्य विनिता नेपालीले गर्नुभयो । उहाँले बाघखोरको बाटोबारे जानकारी दिँदै भन्नुभयो, ‘यो बाघलाई खोर थाप्ने ठाउँ हो ।’ त्यसपछि एक पत्रकारले थप्नुभयो, ‘खोरमा पार्ने, त्यसको जानकारी सरकारलाई गराउने, अनि मार्न आदेश आएपछि मात्र मार्ने चलन थियो ।’ वडासदस्य नेपालीले पनि विगत सम्झिँदै भन्नुभयो, ‘धेरै वर्षअघि बाघले धेरै दुःख दिन्थ्यो । पुर्खा, बाजे र हजुरबुबाले बाघलाई यहीँ खोर थाप्थे । त्यसैले यसको नाम बाघखोर रह्यो ।’ गहुँबारीबाट अगाडि बढेपछि सुन्तलीडाँडा, पाथीभरा पिकनिक स्पट हुँदै स्वर्गद्वारी मन्दिरसम्म सिमेन्टेड सिँढी निर्माण गरिएको छ । बाघखोर हुँदै मोटरबाटोमा निस्कन करिब १५ मिनेटको गोरेटो बाटो पर्छ । वडासदस्य नेपालीका अनुसार मोटरबाटो नबन्दासम्म विद्यार्थी यही बाटो हुँदै विद्यालय जाने गर्थे । उहाँले अगाडिको यात्राबारे जानकारी दिँदै भन्नुभयो, ‘माथि बालाजी शालिग्राम धाम बन्दै छ । त्यहाँ जान सिँढी निर्माणको तयारी भइरहेको छ । अलि कठिन ठाउँ भएकाले बजेट विनियोजन गरेका छौँ ।’ यस क्रममा सिमेन्टेड सिँढीभन्दा ढुङ्गा-माटोकै सिँढी वातावरणका लागि बढी उपयुक्त हुने सुझाव पनि वडासदस्य नेपालीलाई पत्रकारले दिए ।
वडा नम्बर ७ का अध्यक्ष मथुराप्रसाद बजगाईं बज्रबाराहीदेखि नै पदयात्रा टोलीसँगै सहभागी भई बाटोको जानकारी गराइरहनुभएको थिथियो । मौसम पनि अनिश्चित थियो – छिनछिनमा पानी पर्ने, घाम लाग्ने र फेरि बादल लाग्ने । बाघखोरको बाटो हुँदै मोटरबाटोमा निस्कँदै गर्दा केहीबेर ओत लाग्नुपर्ने अवस्था आयो । तर, क्षणभरमै पानी रोकियो । संयोगले बस पनि आइपुग्यो । देवीचौरको देउरालीमा निर्माण गरिएको भ्युटावरबाट काठमाडौँ उपत्यका छर्लङ्ग देखिन्थ्यो । टावरमाथि उभिएर पदयात्रा टोलीका सदस्य देखिएका स्थानको नाम लिँदै थिए, ‘ऊ त्यो विमानस्थल, त्यो धरहरा ।’ तर, पत्रकारिताका अध्येता तोया गौतमले भन्नुभयो, ‘आफू बस्ने ठाउँ टोखा नदेखिएको बताउनुभयो ।’ भ्युटावरमै छोटो औपचारिक कार्यक्रम भयो । स्वर्गीय गोविन्द वियोगी संस्थापक रहेको समाजले पदयात्रा कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे समाजका महासचिव डोटेलले जानकारी गराउँदै, वर्तमान अवस्थामा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि सञ्चार क्षेत्रले जागरुकताकासाथ काम गर्नुपर्ने बताउनुभयो । ‘काठमाडौँभन्दा पर स्थानीय समुदाय, आमनागरिकको अपेक्षा के हो त ? हामी यति सुन्दर ठाउँमा छौँ । हामी यति राम्रो ठाउँमा बसेका छौँ । यो ठाउँको प्रचारप्रसार भइदिए यहाँका नागरिकको ग्रामीण पर्यटन प्रवद्र्धन पनि होला,’ उहाँले भन्नुभयो । यसले स्थानीयको आर्थिकस्तर वृद्धि हुने उहाँको विश्वास थियो । ‘यहीँको स्थानीय उत्पादन, मान्छे आउन थालेपछि खपत होला । जीवनस्तर बढ्ला भन्ने उहाँहरूको अपेक्षा हुन सक्छ, बुझ्नुहोला,’ महासचिव डोटेलले भन्नुभयो । उहाँले राजनीतिका कुराको मात्रै अपेक्षा नगर्न पनि अनुरोध गर्नुभयो । ‘अहिले एआईको अपेक्षा नगरौँ । वास्तविक ग्रामीण भेगमा रहेका यहाँका जनताको अपेक्षा, आमनागरिकको अपेक्षा के छ ? देशको केन्द्रको राजनीतिसँग मात्रै मतलब छ कि यहाँका स्थानीय कुरासँग पनि सरोकार छ ?’ उहाँले प्रश्न गर्नुभयो । समाजले यस्ता विषय उठाउँदै कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । वडा नं. ७ का अध्यक्ष बजगाईंले प्रचारप्रसारको अभावका कारण देवीचौर ओझेलमा परेकोले प्रचार-प्रसारको लागि सहयोग गरिदिन अनुरोध गर्नुभयो ।
प्रेस काउन्सिलका कार्यकारी प्रमुख भुसालले काठमाडौँबाट नजिकैको दूरीमा रहेको रमणीय देवीचौरको उचित प्रचार-प्रसार हुन सके आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । ‘अब समुदायसँग पत्रकार,’ उहाँले भन्नुभयो, ‘समुदायले पत्रकारलाई कसरी हेरेको छ ? समुदायले पत्रकारितालाई कसरी हेरेको छ ? त्यो अन्तरक्रिया हुने कुरा हो, बुझ्ने कुरा हो ।’ पत्रकारिताको वर्तमान प्रवृत्तिबारे चर्चा गर्दै उहाँले भन्नुभयो, ‘नेताले के बोल्यो ? कसले के बोल्यो ? सहरकेन्द्रित पत्रकारिता, गतिविधि-आधारित पत्रकारिता, कार्यक्रम–आधारित पत्रकारिता धेरै भएको सन्दर्भ छ ।’ यस्ता कार्यक्रमले पर्यटन प्रवद्धन, समुदायको जीवनस्तर उकास्ने प्रयास तथा यहाँका उत्पादन र अवस्थाबारे स्टोरी तथा कन्टेन्ट उत्पादन गर्न पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । पत्रकारितालाई हेर्ने दृष्टिकोण राम्रो नभइरहेको प्रसङ्ग उल्लेख गर्दै भुसालले भन्नुभयो, ‘किन भएन ? हामीले दिने कन्टेन्ट सही, यथार्थपरक र अलि खोजी गरेर समुदायले चाहेको कुरा दिन सकिरहेका छौँ कि छैनौँ ? त्यसमै यो कुरा भर पर्छ ।’ यसले पत्रकार आचारसंहिताको पालना हुने, विश्वासिलो र जिम्मेवार पत्रकारिताको प्रवद्र्धन हुने भएकाले सम्पादक समाजसँग काउन्सिलले आगामी दिनमा के-कस्तो साझेदारी गर्न सक्छ, बसेर छलफल गरौँला ।’
उपप्रमुख अधिकारीले पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले विभिन्न किसिमका कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । ‘असाध्यै रमणीय वातावरण भएको ठाउँ भए पनि प्रचारप्रसार कम भएका कारण मानिसको आवतजावत पनि कम भएको छ,’ उपप्रमुख अधिकारीले भन्नुभयो, ‘कार्यक्रम आयोजना गरेर यो ठाउँको प्रवद्धन गर्न सहयोग गर्नुभएकोमा समाजलाई आभार व्यक्त गर्न चाहन्छु ।’ उहाँले भ्युटावर निर्माण भएपछि होटेल तथा पसल फस्टाउन थालेको बताउनुभयो । साथै, भौगोलिक रूपमा दुर्गम रहेका नगरपालिकालाई बढी बजेट विनियोजन गर्नुपर्ने माग पनि उहाँले राख्नुभयो । ‘हिजो भवन थियो, विद्यार्थी थिएनन् । आज विद्यार्थी धेरै छन्, तर भवन नपुगेको अवस्था छ,’ उहाँले भन्नुभयो । नगरप्रमुख महर्जनले जिल्ला अस्पताल निर्माण अन्तिम चरणमा पुगेको बताउँदै नगर अस्पतालबाट एम्बुलेन्ससहितको सेवा प्रदान भइरहेको उल्लेख गर्दै भन्नुभयो, ‘१४ वटै हेल्थपोस्टमा डाक्टरसहितको सुविधा दिइरहेका छौँ । यीलगायत शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा पनि तीव्रगतिमा काम गरिरहेका छौँ ।’ आयआर्जनका लागि पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न सके गाउँमै बसेर जीविकोपार्जन गर्न सकिने विषयलाई विशेष प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । गोदावरीदेखि लेलेसम्म आउने हाइकिङ रूट निर्माण भइसकेको जानकारी पनि उहाँले दिनुभयो । ‘हरेक वडामा प्रसिद्ध मन्दिर छन् । मन्दिर नभएको वडा नै छैन । चार बाराहीमध्ये दुईवटा गोदावरी नगरपालिकाभित्र छन् । १२ वर्षे मेला लाग्ने स्थल पनि नगरभित्र पर्छ । चार नारायणमध्ये एक नारायण पनि यहीँ छ,’ नगरप्रमुख महर्जनले बताउनुभयो । उहाँले गोदावरी नगरपालिका धार्मिक पर्यटनको केन्द्रका रूपमा पनि अगाडि बढिरहेको उल्लेख गर्नुभयो । ‘अन्य ठाउँमा जलवायु परिवर्तनको असर देखिँदै गएको छ । तर, गोदावरी नगरपालिका यस्तो ठाउँ हो, जहाँ फुल्चोकीको उचाइदेखि लिएर देवीचौर, जुन करिब तीन हजार मिटरको उचाइमा छ, त्यस्तो रमणीय वातावरणमा यहाँ आइदिनुभएकोमा स्वागत गर्दछु,’ नगरप्रमुख महर्जनले भन्नुभयो । उहाँले गोदावरी नगरपालिकाका सबै वडा घुम्न पनि आग्रह गर्नुभयो ।






प्रतिक्रिया