+
Search

ताजा अपडेट +

पपुलर +

काङ्ग्रेस-कम्युनिस्टको लुछाचुँडीले बागमतीमा १० महिनादेखि सभामुख खाली

काङ्ग्रेस-कम्युनिस्टको लुछाचुँडीले बागमतीमा १० महिनादेखि सभामुख खाली
त्रिशूली प्रवाह
३८ मिनेट अगाडी

हेटौँडा । बागमती प्रदेशमा विगत १० महिनादेखि सभामुख पद खाली छ । सत्तारूढ दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच भागबन्डा नमिल्दा बागमती प्रदेशमा गत भदौ महिनादेखि सभामुख रिक्त रहेको हो ।

Utsuk Books & Stationery

तत्कालीन सभामुख भुवनकुमार पाठकले जेन-जी आन्दोलनका क्रममा भदौ २४ मा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । त्यसपछि असोज १ मा राजीनामाको पत्र प्रदेश सभामा औपचारिक रूपमा पठाएका थिए । प्रदेश सभा सचिवालयले उक्त राजीनामाको औपचारिक सूचना दुई महिनापछि मङ्सिर ४ मा मात्रै सार्वजनिक गरेको थियो । त्यसयता बागमतीमा सभामुख पद खाली छ । काङ्ग्रेस र एमालेबिच आन्तरिक शक्ति सन्तुलन र भागबन्डा नमिल्दा नियुक्त हुन नसकेको सांसद बताउँछन् । सभामुखले राजीनामा दिएपछि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्नुपर्ने प्रदेश सभा नियमावलीमा उल्लेख छ । यद्यपि, लामो समयसम्म सभामुखजस्तो पद खाली रहनु राम्रो नहुने तत्कालीन सभामुख भुवनकुमार पाठकले बताउनुभयो । ‘जेन-जी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ पाठकले भन्नुभयो, ‘तत्कालै सभामुख चयन हुनुपर्ने हो, तर झन्डै ११ महिना हुन लाग्यो नियुक्त हुन सकेको छैन ।’ सभामुखजस्तो महत्त्वपूर्ण पद यति लामो समयसम्म खाली राख्न नहुने उहाँको तर्क छ । सभामुख चयनका वेला बागमतीमा एमाले, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) र राप्रपा मिलेर प्रदेश सभामा निर्वाचन भएको थियो । भागबन्डामा माओवादीले मुख्यमन्त्री, राप्रपाले सभामुख र एमालेले उपसभामुख पाएका थिए । अहिले राजनीतिक समीकरण फेरिएको छ । यहाँ काङ्ग्रेस र एमाले सत्तामा छन् । एमालेबाट निर्वाचित भएकी उपसभामुखमा अप्सरा चापागाईं छन् । सभामुख चयनका विषयमा बारम्बार कुरा उठे पनि नियुक्त हुन नसकेको उपसभामुख चापागाईं बताउँछिन् । ‘मैले त बारम्बार सभामुख नियुक्त हुनुपर्यो भनेकी छु,’ उहाँले भन्नुभयो, ‘राजनीतिक दलबिच सहमति हुन सकेको छैन ।’ सभामुखले कानुन प्रमाणीकरण गर्नुपर्छ । यद्यपि, सभामुख नहुँदा सभामुखको काम उपसभामुखले विषय कानुनमा उल्लेख भएको काम नरोकिएको उहाँको भनाइ छ । ‘पहिलाको सीमा पनि यस्तै समस्या थियो । उपसभामुखले नै काम-कारबाही अगाडि बढाउनुभएको थियो । अहिले यहाँ सभामुखले गर्ने सम्पूर्ण काम गर्ने गरिएको छ,’ उहाँले भन्नुभयो, ‘सभामुख नहुँदा काम-कारबाही अड्काउन त भएन ।’ उहाँले सभामुख नहुँदा कामको चाप बढी भएकोसमेत बताउनुभयो ।

 

बागमती प्रदेशमा एमालेले सभामुख खोजिरहेको छ, तर सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने कानुनी प्रावधानमा उल्लेख छ । उपसभामुख चापागाईंले सभामुखको दाबी गरेको खुल्न आएको छ । काङ्ग्रेस बागमती प्रदेशको संसदीय दलका सचिव मीनकृष्ण महर्जन एक साताभित्र सभामुखको निर्वाचनको विषयमा टुङ्गोमा पुग्ने दाबी गर्छन् । ‘साउनको पहिलो साताभित्र मन्त्रिमण्डल पुनर्गठन हुन्छ । यससँगसँगै सभामुख नियुक्तिको विषय पनि अगाडि बढ्छ,’ उहाँले भन्नुभयो । सभामुखमा एमाले र काङ्ग्रेस दुवैको दाबी रहेको उहाँले बताउनुभयो । ‘पार्टीबिच कुरा मिलेको छैन । दुवैको दाबी छ,’ उहाँले भन्नुभयो, ‘एउटै पार्टीले सभामुख र उपसभामुख लिन मिल्दैन ।’ बागमती प्रदेश सभामा काङ्ग्रेसको ३६, एमालेको २५ (निमित्त सभामुखबाहेक), राप्रपाको १२, नेमकिपाको तीन, हाम्रो नेपाली पार्टीका दुई प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह