+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका सम्पदा नयाँ सम्भावनाको सँघारमा

नुवाकोटका सम्पदा नयाँ सम्भावनाको सँघारमा
रिना खनाल
१ घण्टा अगाडी

विदुर । काठमाडौँको उत्तरतर्फ रहेको इतिहास, पुरातत्त्व र सम्पदाले भरिपूर्ण छ – नुवाकोट । सङ्घीय राजधानीबाट झन्डै दुई घण्टाको दूरीमा रहेको भए पनि अहिलेसम्म पर्यटनबाट यथासम्भव फाइदा उठाउन सकेको छैन । तर, अहिले भइरहेको सम्पदा पुनर्निर्माणले नयाँ सम्भावनाको सँघारमा उभ्याएको छ । सँगसँगै यसले नेतृत्वको इमानदारी र जवाफदेहितासम्बन्धी गम्भीर प्रश्न पनि उब्जाएको छ ।

Utsuk Books & Stationery

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको साततले दरबार र वरपरका सम्पदाको पुनर्निर्माण अहिले चिनियाँ सरकारको सहयोगमा भइरहेको छ । नेपाल र चीन सरकारबिच भएको सम्झौताअनुसार चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजको सहभागितामा साततले दरबार, तुलजा भवानी, रङमहल, गारदघरलगायतका संरचनाको संरक्षण कार्य अघि बढिरहेको छ । मल्लकालीन वास्तुकलामा बनेको यो मूल संरचनालाई भूकम्पले क्षतिग्रस्त तुल्याएको थियो । अहिले भइरहेको पुनर्निर्माण कार्यले यी संरचनालाई फेरि उभ्याउने मात्र होइन, नुवाकोटलाई नेपालकै एक प्रमुख सांस्कृतिक तथा पुरातात्त्विक स्थलको रूपमा स्थापित गर्ने आधार पनि तयार गरिरहेको छ । यसका साथै नुवाकोटमा निर्माणाधीन रहेको स्वयम्भूसँग सम्बन्धित सम्पदाले पनि विशेष महत्त्व राख्छ । जसले नेपाल र भोट (चीन) बिचको ऐतिहासिक धार्मिक-सांस्कृतिक सम्बन्धलाई उजागर गर्छ । यसरी हेर्दा नुवाकोट केवल स्थानीय सम्पदा मात्र नभई क्षेत्रीय सभ्यताको सांस्कृतिक सेतुको रूपमा पनि उभिन सक्ने देखिन्छ । यति धनी ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा हुँदाहुँदै पनि नुवाकोटले अहिलेसम्म पर्यटनबाट फाइदा उठाउन सकेको छैन । यसको प्रमुख कारण उपयुक्त पर्यटकीय पूर्वाधार र बसोबासको अभाव नै हो । त्यसैले होमस्टे मोडल एक व्यावहारिक र प्रभावकारी विकल्पको रूपमा अघि बढाउनुपर्छ ।

काठमाडौँबाट छोटो दूरी भएकाले सर्वसाधारण विशेषतः साताको शनिबार र आइतबार बिदाको सदुपयोग गर्न चाहने पर्यटकका लागि नुवाकोट एक दिनको वा एक रातको सजिलो र आकर्षक गन्तव्य बन्न सक्छ । गाउँका परम्परागत घरलाई सम्पदा गाउँको मापदण्डअनुरूप संरक्षण गर्दै तिनैलाई होमस्टेमा रूपान्तरण गर्ने हो भने स्थानीयवासीलाई प्रत्यक्ष आर्थिक लाभ पुग्नुका साथै परम्परागत जीवनशैली, स्थानीय परिकार, हस्तकला र संस्कृति पर्यटकसमक्ष जीवन्त रूपमा प्रस्तुत गर्न सकिन्छ । साततले दरबारपरिसर, तुलजा भवानी र वरपरका ऐतिहासिक सम्पदाका साथै वरपरका स्थलको भ्रमणसँगै स्थानीय होमस्टेमा बसेर नुवाकोटको संस्कृति बुझ्ने अवसरले पर्यटकलाई दीर्घकालीन रूपमा तान्न सक्छ । यसका लागि केही ठोस कदम आवश्यक देखिन्छन् । पहिलो दरबार क्षेत्र पुनर्निर्माण सम्पन्न भएसँगै एकीकृत पर्यटकीय गुरुयोजना तयार गर्ने, दोस्रो स्थानीय समुदायलाई होमस्टे सञ्चालनको तालिम र आर्थिक सहजीकरण गराउने, तेस्रो सडक तथा यातायात पूर्वाधारलाई थप सहज बनाउने र चौथो दरबार क्षेत्रको सम्पदा मापदण्डलाई नै गाउँभरि लागू गरी एकरूपता कायम राख्ने । धेरैजसो ठाउँमा देखिने समस्या के हो भने सम्पदा वा पूर्वाधार निर्माण भइसकेपछि मात्र स्थानीयले फाइदा लिने सोच बनाउँछन्, जुन धेरैजसो ढिलो हुन्छ । दरबार क्षेत्र पूर्ण रूपमा तयार भइसकेपछि पर्यटकको आवागमन एकैचोटि बढ्ने सम्भावना छ र त्यो वेलासम्म स्थानीय पूर्वाधार, सिप र व्यवसाय तयार नभए त्यो अवसर बाहिरका लगानीकर्ताले टिप्ने खतरा हुन्छ । त्यसैले स्थानीय तह (नगरपालिका) ले अहिल्यैदेखि होमस्टे तालिम, ऋण सहजीकरण, ट्राभल एजेन्सीसँग समन्वय र सचेतना कार्यक्रम सुरु गर्नुपर्छ ।

नुवाकोट अब केवल इतिहासको पानाभित्र सीमित रहनुहुँदैन । चीन सरकारको सहयोगमा भइरहेको सम्पदा पुनर्निर्माणले खोलेको यो अवसरलाई नुवाकोटलाई होमस्टे आधारित पर्यटन गन्तव्यमा रूपान्तरण गर्ने अभियानसँग जोड्न सके यसले नुवाकोटको आर्थिक उन्नति र सांस्कृतिक संरक्षण दुवैलाई सँगसँगै अघि बढाउन सक्छ । काठमाडौँबाट सहज दूरी र चीन जाने राजमार्गबाट ६ किलोमिटर मात्र टाढा रहेकोले पर्यटक सहजै घुमेर फर्कन सक्ने अवस्था पनि नुवाकोटको अतिरिक्त बलियो पक्ष हो । यो ऐतिहासिक भूमिले आफ्नो साँचो चमक फेरि पाउने दिन टाढा छैन । बाँकी काम भनेको समुदाय, स्थानीय तह र नेतृत्व तिनैले पारदर्शिता, समान जवाफदेहिता र अहिल्यैदेखिको सक्रिय तयारी साथ अघि बढ्नु जरुरी छ । नत्र राम्रो नियतले सुरु भएको अवसर पनि अन्ततः हातबाट फुत्किन सक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रिना खनाल