+
Search

ताजा अपडेट +

पपुलर +

दशैंपछि रसुवामा पर्यटक आगमन

गोसाईँकुण्ड र लाङ्टाङ पदमार्गमा चहलपहल बढ्दै

दशैंपछि रसुवामा पर्यटक आगमन
ज्ञानेन्द्र न्यौपाने
५४ मिनेट अगाडी

धुन्चे । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीपछि ठप्प रहेको रसुवाको पर्यटकीय गतिविधि वेत्रावतीस्थित फलाखुखोलामा गत महिना बेलिब्रिज निर्माणपछि पुनः सुरु भएको छ । शरद ऋतुको आगमनसँगै मौसममा सुधार र रसुवा–नुवाकोटको सिमाना वेत्रावतीस्थित बेलिब्रिज निर्माण भएपछि रसुवाको हिमाली क्षेत्रमा पर्यटक आउन थालेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी ऋषिराम ढकालले जानकारी दिनुभयो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

भोटेकोशीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा रहेको सडक, पुल तथा पर्यटकीय पूर्वाधारमा क्षति पुर्याएपछि प्रभावित बनेको रसुवाको पर्यटन क्षेत्रमा सडक तथा पदमार्ग पुनः सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि बढेको छ । दसैँपछि जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य गोसाईँकुण्ड र लाङ्टाङ पदमार्गमा पर्यटकको आगमन वृद्धि हुँदै जाने आशा होटेल व्यवसायीले गरेका छन् । बाढीले क्षति पुर्याएको नुवाकोटको ढुङ्गेदेखि वेत्रावतीसम्मको सडकखण्डमा आवागमन सहज बन्दै गएको तथा फलाखुखोलामा बेलिब्रिज निर्माण भएपछि काठमाडौँबाट धुन्चेसम्म सवारीसाधनमार्फत पुग्न सकिने अवस्था बनेको छ । सडकमार्ग सञ्चालनमा आएसँगै गोसाईँकुण्ड, लाङ्टाङ तथा तामाङ सम्पदा मार्गको भ्रमण गर्न चाहने आन्तरिक र बाह्य पर्यटकलाई राहत पुगेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । कात्तिक लागेसँगै हिमाली पदयात्राका लागि दैनिक उल्लेखनीय पर्यटक आउन थालेको निकुन्जका कर्मचारी दिलीप सिंहले जानकारी दिनुभयो । लाङ्टाङ क्षेत्रको पदमार्गमा दैनिक २० देखि २५ जनासम्म पर्यटकको आगमन भइरहेको गोसाईँकुण्ड–४ का वडाध्यक्ष डिण्डुप तामाङले बताउनुभयो । बाढीपछि सडक तथा पुलको क्षतिले पर्यटकको आवागमन प्रभावित भएको अवस्थामा वैकल्पिक पदमार्ग, स्थानीयस्तरका जनताले फड्के पुल बनाएको र नेपाली सेनाले बेलिब्रिज जडान गरेपछि पर्यटकीय गतिविधि पुनः सञ्चालन गराउन सहयोग पुगेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

Suzuki New Bike & Scooter

हिमाल, हिमनदी र धार्मिक आस्थाको गन्तव्य
समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाईँकुण्ड रसुवाको प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य हो । धार्मिक आस्थासँगै हिमाली भू–दृश्यको अवलोकन गर्न चाहने पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ । त्यसैगरी, लाङ्टाङ उपत्यका, क्याङ्जिन, हिमनदी, हिमालको मनोरम दृश्य, तामाङ समुदायको मौलिक संस्कृति तथा वेशभूषा, वनजङ्गल र जैविक विविधताले रसुवाको पर्यटनलाई विशिष्ट बनाएको छ । भोटेकोशी बाढीबाट प्रभावित वेत्रावती, त्रिशूलीबजार र स्याफ्रुबेँसीलगायतका टिमुरे सीमावर्ती क्षेत्रको अवस्था अवलोकन गर्न चाहने आन्तरिक तथा बाह्य आगन्तुकको सङ्ख्या दसैँपछि बढ्न थालेको बताइएको छ । विनाशकारी बाढीले टिमुरेमा भने अन्तर्राष्ट्रिय सीमा क्षेत्र र भन्सारलगायत सुरक्षा निकायको सम्पूर्ण भौतिक संरचना बगाएको छ । अहिले टिमुरेमा सशस्त्र प्रहरी बलको मात्र उपस्थिति रहेको छ । स्याफ्रुबेँसीदेखि टिमुरेसम्म सडकमार्ग नरहेकाले गाउँगाउँ र भिर हुँदै जोखिम मोलेर दिनभरिमा पनि टिमुरे पुग्न नसक्ने अवस्था अहिले रहेको छ । बाढीपछि ज्यान जोगाएर विस्थापित भएका टिमुरेका बासिन्दा थातथलो नफर्किएसम्म उक्त क्षेत्रमा पर्यटकीय गतिविधि नबढ्ने रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो । स्थानीय पर्यटन व्यवसायीका अनुसार हिमाली प्राकृतिक सम्पदा, धार्मिक स्थल र सांस्कृतिक जीवनशैलीलाई एउटै यात्रामा अनुभव गर्न सकिने भएकाले रसुवामा विविध रुचिका पर्यटकलाई आकर्षित गर्ने सम्भावना रहेको वृद्धिम होमस्टेका अध्यक्ष ङवाङफिन्जो तामाङले जानकारी दिनुभयो । वृद्धिम र पेल्गोमा होमस्टे सञ्चालनमा रहे पनि भोटेकोशी तर्ने पैदल मार्गको पुल छिटो निर्माण गरिदिन सङ्घ तथा प्रदेश र स्थानीय सरकार एवम् नेपाल पर्यटन बोर्डलाई आग्रह गरिएको अध्यक्ष तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाढीले असर नगरेको वृद्धिम क्षेत्रका २७ घरमा होमस्टे सञ्चालनमा छन् । ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमको सहयोगमा दुई दशक अगाडिदेखि होमस्टे सञ्चालन भइरहेको छ ।’ होमस्टेमा आएका पाहुनाको सेवाबाट प्राप्त आयले आवश्यक खाद्यान्न खरिद गरी जीविकोपार्जन गर्दै आएका स्थानीयवासीलाई बाढीले भोटेकोशीको पुल बगाउँदा समस्या भइरहेको छ । सडकमार्ग बन्द हुँदा वृद्धिम, खाम्जिङ, शेर्पागाउँ पाहुनाको सम्पर्कबाट टाढा बन्न बाध्य बनाएको र राज्य तथा दाताले हेलिकोप्टरबाट पु¥याएको राहत खाद्यान्न अपुग हुन थालेको वृद्धिमका बासिन्दाले बताएका छन् । वृद्धिम तथा खाम्जिङ र शेर्पागाउँतर्फ सामान ढुवानीका लागि हेलिकोप्टरबाहेक अन्य विकल्प नभएको बताइएको छ ।

काठमाडौँबाट धुन्चे पुग्न सहज
सडकमार्ग हुँदै काठमाडौँबाट नुवाकोटको शिवपुरी, छहरे, ढिकुरे, विदुर, ढुङ्गे, वेत्रावती र रसुवाको कालिकास्थान, धुन्चे पुग्न सकिन्छ । सडकको अवस्था अनुकूल हुँदा बस, विद्युतीय सवारीसाधन (इभी) तथा टाटा सुमोजस्ता सवारीमार्फत यात्रा गर्न सकिने इभीचालक जय रिमालले बताउनुभयो । अवरुद्व सबै मार्ग भने सञ्चालनमा आउन बाँकी छ । बाढीका कारण अवरुद्ध भएको आन्तरिक तथा बाह्य पर्यटकको आवागमन क्रमशः सहज बन्दै गए पनि यात्राअघि सडकको पछिल्लो अवस्था बुझेर यात्रा गर्न उपयुक्त हुने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले सुझाव दिनुभएको छ । विशेषगरी वर्षापछिको पहिरो, सडक कटान र नदीकिनारका जोखिमयुक्त स्थानमा क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ । यसैगरी, स्थानीय बासिन्दाको जनश्रमदानमा स्याफ्रुबेँसीस्थित भोटेकोशी खोलामा फड्के पुल निर्माण गरिएपछि तामाङ सम्पदामार्गका गोल्जुङ, गत्लाङ, चिलिमे तातोपानी तथा नाकथली पुग्न सहज भएको चिलिमेका स्थानीय बहादुर तामाङले जानकारी दिनुभयो । भोटेकोशी खोलामा फड्के पुल निर्माणसँगै सडक विभागले बेलिब्रिज निर्माण थालेकाले छिट्टै सडक सञ्जालबाट गोल्जुङ, गत्लाङ, चिलिमे, तातोपानी, पार्वतीकुण्ड, सोमदाङ आवतजावत सहज हुने बताइएको छ । फड्के पुल निर्माणपछि स्थानीय बस्ती, संस्कृति र प्राकृतिक सम्पदालाई जोड्ने पदयात्रा प्रवद्र्धनमा समेत सहयोग पुगेको छ ।

लाङ्टाङ जाने पदमार्ग सुरक्षित
लाङ्टाङ क्षेत्रको भ्रमण गर्न चाहने पर्यटकका लागि धुन्चेबाट ठुलोभार्खु, सानुभार्खु, ब्राबल, ठुलोस्याफ्रु, पहिरो होटेल, बम्बु र रिम्चे हुँदै लाङ्टाङ पुग्न सकिने व्यवस्था रहेको गोसाईँकुण्ड–४ लाङ्टाङका वडाध्यक्ष डिण्डुपले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बाढीको प्रत्यक्ष असर नपरेको ठुलोस्याफ्रुतर्फको पदमार्गमा वर्षायामका कारण अवरुद्ध भएका केही स्थान स्थानीय सरकारको पहलमा सफा तथा सुधार गरिएको छ भने गाउँपालिकामार्फत प्रदेश सरकारको आर्थिक सहयोगमा पदमार्ग मर्मतसम्भार भएको छ ।’ पदमार्गको अवस्था ठाउँअनुसार फरक हुन सक्ने भएकाले पर्यटकले स्थानीय निकाय, निकुञ्ज कार्यालय र होटेल व्यवसायीसँग पछिल्लो जानकारी लिएर यात्रा गर्न उपयुक्त हुनेसमेत उहाँले बताउनुभयो ।

पर्यटकको रोजाइमा प्रकृति र संस्कृति
रसुवामा आउने पर्यटकले हिमाल र हिमनदी मात्र नभई उकाली–ओराली, भन्ज्याङ, चौतारी, झरना, तालतलैया, वनस्पति, वन्यजन्तु तथा चराचुरुङ्गीको समेत अवलोकन गर्न पाउँछन् । तामाङ समुदायको मौलिक संस्कृति, वेशभूषा, रहनसहन र स्थानीय खानपानले यात्रालाई थप अर्थपूर्ण बनाउने रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटनको विकासले होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई मात्र नभई किसान, भरिया, यातायात व्यवसायी, स्थानीय उत्पादनका व्यापारी र अन्य श्रमिकलाई समेत रोजगारी तथा आम्दानीको अवसर प्रदान गरिरहेको छ ।’ पर्यटक आगमन बढाउने प्रयाससँगै स्थानीय कृषि उत्पादनलाई पर्यटन बजारसँग जोड्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र स्थानीय समुदायलाई पर्यटनबाट प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गर्नुपर्ने सुझाव उहाँले स्थानीयवासी र पालिकालाई दिनुभएको छ ।

पर्यटकका लागि खाने, बस्ने सहज सुविधा
बाढीअघि नै गोसाईँकुण्ड पदयात्रामा जाने पर्यटकका लागि चन्दनबारी क्षेत्रमा पर्याप्त खाद्यान्न भण्डारण गरिएकाले खान र बस्नका लागि सहज भएको होटेल व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो । पदयात्राका क्रममा आवश्यक खाना, आवास र आधारभूत सुविधाको उपलब्धता सुनिश्चित गर्नु पर्यटन पुनरुत्थानका लागि महत्त्वपूर्ण मानिन्छ । हिमाली क्षेत्रमा मौसम चाँडै परिवर्तन हुन सक्ने भएकाले पर्यटकले न्यानो कपडा, आवश्यक औषधि, पिउने पानी र उपयुक्त पदयात्रा सामग्री साथमा लैजानुपर्नेसमेत उहाँले सुझाव दिनुभयो । लामो तथा उचाइमा गरिने पदयात्रामा शारीरिक तयारी, मौसमको जानकारी र आवश्यकताअनुसार स्थानीय गाइडको सहयोग लिँदा यात्रा सहज हुनेछ ।

पर्यटन प्रवद्र्धनका लागि समन्वय
रसुवा र नुवाकोटका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउन नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सडक तथा पदमार्गको अवस्था सुधार हुँदै गएको सन्देश स्वदेश तथा विदेशका पर्यटकसम्म पुर्याउन सके पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउन सहयोग पुग्नेछ । पर्यटन प्रवद्र्धनका लागि नियमित प्रचार–प्रसार, पदयात्रा मार्गको नक्सा र दूरीसम्बन्धी जानकारी, भरपर्दो आवास, स्वच्छ खाना, प्रशिक्षित गाइड, उद्धार तथा सञ्चारको व्यवस्था र पर्यटकमैत्री व्यवहार आवश्यक हुन्छ । पर्यटकीय गन्तव्यसम्म पुग्ने बाटो खुलेको जानकारी दिनुका साथै त्यहाँ उपलब्ध सेवा र सम्भावित जोखिमबारे स्पष्ट सूचना दिनु पनि उत्तिकै जरुरी छ ।

सन् १९५० देखि सुरु भएको पर्यटनलाई बाढीपछि पुनर्जीवन दिन चुनौती
गत वर्ष साढे ५८ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको तथ्याङ्कले देखाएको र रसुवामा यस वर्ष भोटेकोशी बाढीका कारण पर्यटन आवागमन प्रभावित भएको जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बताउनुभयो । बाढीले मानव बस्ती, झोलुङ्गे पुल र मोटरेबल पुलमा क्षति पुर्याएपछि पर्यटकको आवागमनमा बाधा पुगेको उहाँको भनाइ छ । वेत्रावतीस्थित फलाखुखोलामा बेलिब्रिज निर्माण भएपछि आवागमन सहज बनाउन ठुलो राहत पुगेको उल्लेख गर्नुभयो । बाढी प्रभावित क्षेत्रका बासिन्दाको हित तथा पुनस्र्थापनाका लागि विभिन्न निकायसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । बाढीले क्षति पु¥याएका संरचनाको पुनर्निर्माणसँगै पर्यटन व्यवसायलाई पुनःस्थापित गर्न होटेल, रेस्टुरेन्ट, यातायात, पदयात्रा सेवा र स्थानीय उत्पादनको बजारलाई एकीकृत रूपमा अघि बढाउन सरोकारवाला निकायसँग पहल भइरहेको उहाँले बताउनुभयो । नेपालमा आधुनिक अन्तर्राष्ट्रिय पर्यटनको विकास सन् १९५० को दशकदेखि तीव्र रूपमा अघि बढेको मानिन्छ । सन् १९५० मा अन्नपूर्ण प्रथमको सफल आरोहण र सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि नेपालको हिमाली भूगोलले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको थियो । नेपाल सन् १९५१ मा औपचारिक रूपमा अन्तर्राष्ट्रिय पर्यटनका लागि खुला भएको पर्यटकका विषयमा लेखिएको इतिहास पाइन्छ । त्यसयता हिमाल आरोहण, पदयात्रा, धार्मिक पर्यटन, सांस्कृतिक भ्रमण र वन्यजन्तु अवलोकन नेपालको पर्यटनका प्रमुख आधार बनेका छन् । व्यापक पर्यटन सम्भावनाभित्र रसुवाले लाङ्टाङ, गोसाईँकुण्ड र तामाङ सम्पदा मार्गमार्फत आफ्नो छुट्टै पहिचान बनाएको छ । रसुवाको पर्यटन विकासलाई थप व्यवस्थित बनाउन ऐतिहासिक पदमार्गको अभिलेखीकरण, स्थानीय संस्कृति तथा मौलिक सम्पदाको संरक्षण, पर्यटकको तथ्याङ्क व्यवस्थित सङ्कलन र पर्यटनबाट प्राप्त आम्दानी स्थानीय समुदायसम्म पु¥याउने कार्यक्रम ल्याउन आवश्यक छ ।

भोटेकोशी बाढीपछि आवागमन सहज हुनु रसुवाको पर्यटन क्षेत्रका लागि सकारात्मक सुरुवात हो । तर, दीर्घकालीन पुनरुत्थानका लागि पुल र सडक निर्माणसँगै पदमार्गको नियमित मर्मत, जोखिमको पूर्वसूचना, आपत्कालीन उद्धार, स्वास्थ्य सेवा, सञ्चार सुविधा, स्वच्छता र पर्यावरण संरक्षणमा जोड दिनुपर्ने देखिन्छ । त्यसैगरी, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, स्थानीय तह, पर्यटन व्यवसायी, होटेल सञ्चालक, ट्रेकिङ कम्पनी र पर्यटनसम्बद्ध संस्थाबिच समन्वय गरेर साझा प्रचार अभियान सञ्चालन गर्न सकिन्छ । आन्तरिक पर्यटकका लागि छोटो अवधिका भ्रमण प्याकेज तथा विदेशी पर्यटकका लागि व्यवस्थित पदयात्रा कार्यक्रम तयार गर्न सके पर्यटकको बसाइ अवधि र स्थानीय खर्च बढाउन सहयोग पुग्नेछ । बाढीले क्षति पु¥याएका क्षेत्रको पुनर्निर्माणसँग दिगो पर्यटन विकासमा रूपान्तरण गर्नु नै रसुवाको पर्यटन क्षेत्रको प्रमुख चुनौती र अवसर दुवै रहेको छ । अबको प्राथमिकता सडक खुलाउनेभन्दा पर्यटक टिकाउने हुनुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने