धुन्चे । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले त्रिशूली र भोटेकोशी नदीमा रहेका दर्जनभन्दा बढी मोटरेबल पुल बगाएपछि अवरुद्ध बनेको उक्त क्षेत्रमा कात्तिकभित्रै बेलिब्रिज निर्माणका लागि तीव्र गतिमा काम अघि बढाइएको छ । बाढीले नुवाकोटको त्रिशूलीपारि र रसुवाको उत्तरी क्षेत्रमा सडक यातायात सञ्जाल अवरुद्ध भएको थियो । ती क्षेत्रमा पुनः सडक सञ्चालन गर्ने उद्देश्यले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वय र सहयोगमा बेलिब्रिज जडानका लागि आवश्यक फाउन्डेसन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।


स्याफ्रुबेँसीमा सवारीसाधन आवतजावत गर्न सक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा निर्माण कार्य भइरहेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेको पुल र सडक सफा गर्नेलगायत सडक सुचारू गर्न भइरहेको निर्माण कार्यको स्थलगत अवलोकन तथा अनुगमन गर्नुभएको थियो । केन्द्रीय सरकारअन्तर्गत सडक विभागमार्फत निर्माण हुन लागेको उक्त पुलका लागि नदीको वारिपारि पिलर ठड्याउने काम सुरु भइरहेको छ । स्याफ्रुबेँसीस्थित भोटेकोशीमा ७३ मिटर लामो बेलिब्रिज निर्माण हुने बताइएको छ । पुल निर्माण सम्पन्न भएपछि बाढीबाट प्रभावित स्थानीय बासिन्दाको आवतजावत सहज हुनुका साथै उत्तरी रसुवाको सडक यातायात सञ्चालनमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाका अनुसार पुलका दायाँबायाँ १५ मिटर अग्ला पिलर रहनेछन् भने पुलको लम्बाइ ७३ मिटर हुनेछ । सो बेलिब्रिज जडान कात्तिकभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ २४सै घण्टा काम भइरहेको प्रजिअ पाण्डेले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । यसैगरी, बाढीका कारण आवतजावतमा अवरोध पुगेको स्याफ्रुबेँसी–वृद्विम जोड्ने फड्के पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्ठा (स्टिल केबल/सामग्री) उपलब्ध गराएको छ । सामग्री उपलब्ध भएसँगै सो क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउन फड्के पुलको काम पनि सँगसँगै अघि बढाइएको प्रशासनले जनाएको छ । स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कात्तिक मसान्तभित्रै यातायात सञ्चालनमा ल्याउनेगरी बेलिब्रिजको काम सक्न निर्माण व्यवसायी र प्राविधिकलाई निर्देशन दिएको छ । बाढीले स्याफ्रुबेँसीस्थित भोटेकोशीको पुल बगाएपछि उत्तरी रसुवाका बासिन्दालाई वारपार गर्न निकै कठिन भएको थियो । बाढीबाट प्रभावित कतिपय बासिन्दालाई हेलिकोप्टरबाट उद्धार गर्नुपरेको थियो भने तत्काल आवतजावतको विकल्पका रूपमा कोक्रे तुइन राखिएको थियो । तर, उक्त व्यवस्थाबाट सहज र भरपर्दो सेवा उपलब्ध हुन नसकेपछि स्थानीय बासिन्दा आफैँ जुटेर जनश्रमदानमार्फत फड्के पुलसमेत निर्माण गरेका थिए । त्यसपछि पैदल यात्राका लागि केही सहज भए पनि सवारीसाधन सञ्चालनको समस्या भने कायमै छ ।
रसुवाका पूर्वजिल्ला सभापति मिलन तामाङले स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण हुनु सकारात्मक भए पनि जिल्लाका अन्य जोखिमयुक्त स्थानमा पनि यस्ता पुल निर्माण गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । तामाङका अनुसार स्याफ्रुबेँसीको पुरानो बजार जाने भोटेकोशी, ठुलो स्याफ्रुबाट लाङ्टाङ जाने प्रमुख मार्गमा पर्ने लाङ्टाङ खोला, रोङ्गा, वृद्धिम–रोङ्गा क्षेत्रको भोटेकोशी तथा टिमुरे र दालफेदीलगायतका स्थानमा पनि बेलिब्रिज निर्माण गर्न आवश्यक छ । उहाँले एउटा स्थानमा मात्रै पुल निर्माण गरेर उत्तरी रसुवाको सडक समस्या पूर्ण रूपमा समाधान नहुने उल्लेख गर्दै बाढीबाट क्षतिग्रस्त तथा जोखिममा रहेका स्थानको पहिचान गरी प्राथमिकताका आधारमा पुल निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । भदौ १० गतेको बाढीले उत्तरी रसुवाको सडक तथा पुल पूर्वाधारमा पु¥याएको क्षतिले स्थानीय बासिन्दाको दैनिक जीवन, स्वास्थ्य सेवा र पर्यटन आवागमनमा गम्भीर प्रभाव पारेको छ । स्याफ्रुबेँसीमा निर्माण हुन लागेको बेलिब्रिजले तत्कालको सडक सम्पर्क सहज बनाउन सहयोग गर्ने भए पनि अन्य स्थानमा समेत भरपर्दो पुल निर्माण र सडक पूर्वाधारको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
विदुर नगरपालिकाद्वारा निर्माणाधीन नुवाकोटको विदुर-१, ढुङ्गेबाट त्रिशूली जलविद्युत् केन्द्रको पावर हाउस जोड्ने ७० मिटर लम्बाइको बेलिब्रिज निर्माणको काम गत असोज २३ गतेबाट कात्तिक २१ गते सम्पन्न गर्ने गरी तीव्र गतिमा भइरहेको छ । दिनरात नभनी निर्माण व्यवसायी सिद्धकाली निर्माण सेवा, रामेछापले काम गरिरहेको जानकारी विदुर नगरपालिकाले दिएको छ । सडक विभागले बेलिब्रिज सहयोग रहेको छ भने अन्य आर्थिक जिम्मा विदुर नगरपालिकाको रहेको छ । नगरपालिकाले डिपिआर बनाएर पुल प्रतिस्पर्धामा सिद्धकाली निर्माण सेवाले ठेक्का लिएको छ । उक्त निर्माणाधीन पुलको रकम भने सार्वजनिक गरिएको छैन । हिउँदको ६ महिना सञ्चालन हुने पुल निर्माणमा करोडौँ रुपैयाँ खर्च भएको भनी नगरवासीले विरोध पनि गरेका छन् । बाढी गएको दुई महिनामा अन्य क्षेत्रमा पनि अध्ययन गरेर पुल निर्माण गर्न अन्य क्षेत्रका प्रभावितले नगरपालिकालाई अनुरोध गर्दै आएका छन् । त्रिशूलीको पुल निर्माण भइरहेको क्षेत्र विद्युत् प्राधिकरणको पर्ने भएकाले ठुला सवारीसाधन सञ्चालनका लागि सामरी दोभान हुँदै हात्तीगौँडा निस्कनुपर्ने भएको छ । प्राधिकरणले नगरपालिकालाई पत्र पठाएर पावरहाउस क्षेत्रमा हेभी गाडी सञ्चालन गर्न रोक लगाउँदै पुलबाट त्रिशूली बजारतर्पm चारपाङ्ग्रे हल्का सवारीसाधन मात्र गुडाउन अनुमति दिएको छ ।





प्रतिक्रिया