विदुर । बौद्ध जागरण केन्द्र जिल्ला शाखा नुवाकोटको आयोजना र बेलकोटगढी–४ नुवाकोटका लामा गुरु शेरब लामाको नेतृत्वमा त्रिशूली बाढीपीडितलाई शनिबार राहत वितरण गरिएको छ ।


तान साउथ कोरिया बुद्धिस्ट संस्था, बौद्ध जागरण केन्द्रका संरक्षक क्यब्जे लोसाङ नाम्ग्यल रिन्पोछे फाउन्डेसन नेपाल, तान साउथ कोरिया लामा गुरुको टिम जिन्दा, बौद्ध जागरण केन्द्र केन्द्रीय समिति र नाम्ग्याल रिन्पोछे ज्यङछुवलिङ गुम्बालगायतको समन्वयमा नुवाकोट बट्टारस्थित साङ्गे छोइलिङ गुम्बाको प्राङ्गणमा राहत सामग्री प्रदान गरिएको हो । ४५ घरपरिवारलाई ग्यासचुलो, कुकरलगायतका भान्साको सम्पूर्ण सामग्री र नगद साथै दुई सय २० जना विद्यार्थीलाई न्यानो कपडा टोपी, ज्याकेट र आवश्यक शैक्षिक सामग्री वितरण भएको हो । कोरियाली बौद्ध धर्म लामा गुरुहरू, बौद्ध जागरण केन्द्र केन्द्रीय कार्यालय टिम र बौद्ध जागरण केन्द्र जिल्ला शाखा नुवाकोटको टिमसहितको उपस्थितिमा शेरब लामालगायतले राहत वितरण गर्नुभएको हो । आवश्यक सामग्री राहतस्वरूप उपलब्ध गराएकोमा पीडित एवम् स्थानीयले खुसी व्यक्त गरेका छन् । यसअघि पनि बौद्ध जागरण केन्द्र केन्द्रीय कार्यालयको विशेष सहयोग र जिल्ला शाखा नुवाकोटको आयोजनामा कम्बल, सिरक, नगद, आवश्यक सामग्री वितरणका साथै मृतक दुई सय ६१ जनाको संयुक्त घेवापूजा गरिएको थियो ।






प्रतिक्रिया