+
Search

ताजा अपडेट +

पपुलर +

‘जीवनको पाठशाला’ वर्णित त्यतिखेरको अमेरिका

‘जीवनको पाठशाला’ वर्णित त्यतिखेरको अमेरिका
रामचन्द्र भट्ट
१ घण्टा अगाडी

मलाई मनमा उब्जिरहने एउटा जिज्ञासा छ, ‘अमेरिकामा आएका पुराना नेपालीले देखेको यहाँको परिवर्तन कस्तो छ ? त्यतिखेरको अवस्था उहाँहरूका वर्णनमा कस्तो हुन्छ होला ? त्यतिखेरको अमेरिकी राजनीति कस्तो थियो ?’

Utsuk Books & Stationery

झन्डै डेढ दशक अमेरिका बसाइमा ३०-३५ वर्षभन्दा बढी बसेका पुराना व्यक्ति कमै भेटेको छु । उहाँहरूबाट यता अमेरिकाका पुराना कुरा सुन्न र जान्न पाउँदा असाध्यै रमाइलो र चाखलाग्दो लाग्छ । त्यही सन्दर्भमा अमेरिका आउनुभएको समय पारेर नुवाकोट गोस्र्याङका बाबुराम अधिकारी बालाई गत वैशाखतिर फोन गरेँ । उहाँ पाँच दशकअघि अमेरिका आएर यतै बसोबास गर्नुभयो । त्यतिखेर सम्भवतः यो आलेख पढ्नेमध्ये धेरै जन्मिएकै पनि थिएन । उहाँ छोराबुहारीसँग जर्जिया राज्यको एटलान्टामा हुनुहुन्थ्यो । म टेक्सासको ड्यालस । दूरीका हिसाबले आठ सय माइल अर्थात् एक हजार दुई सय ९० किलोमिटर । फोनमा कुरा हुँदै गर्दा उहाँले भन्नुभयो, ‘भट्ट बाबु मैले मेरो भोगाइ र जीवनीबारे एउटा सानो किताब पनि लेखेको छु । त्यसबाट धेरै कुरा बाबुले थाहा पाउनुहुन्छ । म बुहारी मैनालाई भनेर तपाईंको ठेगानामा पोस्ट गर्न लगाउँछु ।’ केही दिनमै अधिकारी बाले लेख्नुभएको पुस्तक ‘जीवनको पाठशाला’ मेरो घरको मेलबक्समा आइपुग्यो । जुन किताबलाई केही घण्टामै पढेर सिध्याएँ । अमेरिकी भोगाइ मात्र नभएर आजभन्दा नौ दशकअघिको नुवाकोटको अवस्था, बाल्यकाल, बालविवाह, पढाइप्रतिको लगाव र मृगतृष्णा अनि सरकारी सेवामा प्रवेश अनि त्यसले सिर्जना गरेका अवसरको सँगालो रहेछ पुस्तक । दुई दशकदेखि रिटायर्ड लाइफ आफ्नै ठाउँ नुवाकोट पुगेर व्यतीत गरिरहनुभएका उहाँले आफ्नो गाउँमा शिक्षाको ज्योति बाल्न गरिरहनुभएको सत्कर्मको जानकारी पनि रहेछ पुस्तक । जीवनको लामो समय अमेरिकामा बिताएर पछिल्ला केही दशकयता नेपालमै निवृत्त जीवन बिताइरहनुभएको छ उहाँ । नेपालमा पनि आफ्नै गाउँ, अनि आफ्नै ठाउँ नुवाकोटमा समाजसेवामा लागिरहनुभएको छ ।

अमेरिकाको पूर्वी दक्षिणी राज्य फ्लोरिडा जसलाई अमेरिकामा बोलीचालीमा ‘सनसाइन स्टेट’ पनि भनिन्छ । त्यहाँ आएर पाँच दशकअघि बसोबास थाल्नुभएको थियो । अमेरिकामा हरेक दिन सूर्योदय हुँदा पहिलो किरण यही राज्यमा पर्छ । त्यही भएर सनसाइन स्टेट भनिएको हो । यसपटक उहाँ कहिले फ्लोरिडाको सेन्ट अगस्टिन त कहिले जर्जियाको एटलान्टामा छोराछोरीका साथ रमाइरहनुभएको थियो । फेसबुकमा उहाँ र म कहिले जोडियौ ठ्याक्कै यकिन त छैन । तर, चार-पाँच वर्षदेखि निरन्तर सम्पर्कमा छौँ हामी । गत वर्ष नेपाल गएको वेलामा भतिजको ब्रतबन्ध हुँदा पिपलटार घरमै आएर उहाँले आशीर्वाद दिनुभएको थियो, भलाकुसारी पनि भएको थियो । जुन वेला म जन्मिएको पनि थिइनँ । त्यसवेला अधिकारी बा अमेरिका आइसक्नुभएको थियो । अहिले सुगमका रूपमा दर्ज हुने गोस्र्याङको कल्लेरी गाउँ आठ दशकअघि महादुर्गम थियो । न मोटरबाटो, न बिजुली, न कुनै विद्यालय, न त कुनै पूर्वाधार । विकास भन्ने के हो र कस्तोलाई विकास भन्ने अवधारणा नै नबसिसकेको अवस्थाबिच सामान्य परिवारमा जन्मिएर अहिले उहाँले गरेको प्रगतिलाई हेर्ने हो भने हाम्रो पुस्ताले अवसर पाएर पनि केही गर्न नसकेकोजस्तो महसुस मलाईचाहिँ हुन्छ । मैले थाहा पाउँदासम्म पनि गाउँघरका घर खरले छाएका थिए । धनीले ढुङ्गा (स्लेट) ले छाउने चलन थियो । विसं २०३० को दशक उत्तरार्धदेखि बल्ल जस्तापाताको सुरुवात भएको हो । कल्लेरी गाउँमा जन्मिएर अनेक हन्डर खेप्दै, राणाहरूको नजिक बसेर पढ्दै उहाँले जुन हिसाबले सरकारी सेवा, बडो मिहिनेत गरेर राजधानीमै सम्पत्ति जोड्ने मात्र गर्नुभएन पछिल्ला वर्षमा गाउँमा शिक्षाको विकासका लागि गर्नुभएको योगदान स्तुत्य छ ।

आज अमेरिकामा झन्डै चार लाखको हाराहारीमा नेपाली छन् । तर, आजभन्दा ५२ वर्ष पहिले विसं २०३१ मा यो विशाल देशमा औँलामा गन्न सकिने नेपाली थिए । अमेरिकाभरिमा त्यतिखेर सम्भवतः ५० जना नेपाली पनि थिएनन् । अहिलेजस्तो टेलिफोन सर्वसुलभ थिएन, अहिलेजस्तो सामाजिक सञ्जालको व्यापकताले भौगोलिक रूपमा जतिसुकै टाढा भए पनि नजिक बनाउने प्रविधि कल्पनाबाहिरको विषय थियो । त्यतिखेर नेपाल सरकारको परराष्ट्र सेवाअन्तर्गतको सहचरी पदमा पोस्टिङ भएर वासिङटन आउनुभएका बाबुराम बा पदावधि सकिएपछि छोराछोरीको शिक्षादीक्षा र भविष्यका लागि अमेरिका बस्ने निधोमा पुग्नुभयो । अहिलेजस्तो इमिग्रेसन कानुनमा कडाइ थिएन त्यतिखेर । त्यसो हुँदा वासिङटनको जागिरको पदावधि सकिएपछि नेपाल नफर्किएर फ्लोरिडा सर्नुभयो । एउटा नासुस्तरको सरकारी कर्मचारीको जीवनले युटर्न लियो । त्यतिखेर नासु त निकैमाथिको दर्जा थियो, मुखिया, खरिदारसमेत निकै सम्मानित पद मानिन्थे । उहाँले आफ्नो जन्मदेखि लिएर अहिलेसम्म आइपुग्दा आपूmले भोगेका विषयलाई सारसङ्क्षेपमा लेखेर जीवनको पाठशाला पुस्तक केही महिनाअघि मात्र सार्वजनिक गर्नुभएको हो । जन्मदेखि लिएर बिहे भन्ने कुरा नबुझ्दै भएको बालविवाह, पढाइका लागि भारतको दिल्लीदेखि काठमाडौँमा डेरा गरेर बस्दाको पीडा, सरकारी जागिर सबैलाई सङ्क्षिप्तमा पुस्तकमा उल्लेख गर्नुभएको छ । १० वर्षको उमेरमा बिहे भएको कुरा पढ्दा र सुन्दा अहिलको पुस्तालाई महाअनौठो लाग्छ । तर, नेपालमा विसं २००७ को प्रजातन्त्र आउनुभन्दा पनि पहिले राणा शासनकालमा यस्तै चल्थ्यो । किनकि समाज, संस्कार, परिवेश त्यतिखेर त्यस्तै थियो । उहाँको बिहे विसं २००२ मा भएको तथ्य पुस्तकमा उल्लेख गर्नुभएको छ । जतिखेर विसं २०३१ मा उहाँ सहचरी भएर वासिङटनस्थित दूतावासमा आउनुभयो, त्यतिवेला सरदार यदुनाथ खनाल राजदूत हुनुहुन्थ्यो । खनालले बिचमै छाडेर काठमाडौँ फर्किएपछि पदमबहादुर खत्री राजदूत भएर आउनुभएको तथ्य उहाँले पुस्तकमा उल्लेख गर्नुभएको छ ।

सरकारी जागिर छाडेर अमेरिका बस्नुभएका उहाँले सन् १९८७ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले असल आचरणमा रहेका आप्रवासीलाई ग्रिनकार्ड दिने गरी ल्याएको योजनाअन्तर्गत स्थायी बसोबास पाउनुभएको थियो । त्यतिखेर अमेरिकी सरकारले सन् १९८२ देखि निरन्तर अमेरिका बसिरहेको, सरकारलाई तिर्नुपर्ने सबै शुल्क र कर तिर्न सक्ने ३० लाख आप्रवासीले यो नीतिअन्तर्गत ग्रिनकार्ड पाएका थिए । लेखक अधिकारीले अमेरिका बस्ने निधो गरेर फ्लोरिडा सरेको, त्यहाँ व्यवसाय गर्दा पटकपटक लुटिएको, स्टोर लुटपाटमा परेर घाइते भएका विवरणदेखि लिएर छोराछोरीका पढाइ, बिहेदानका प्रसङ्ग, अमेरिकी जीवनशैलीबारे समेत सङ्क्षिप्त रूपमा उल्लेख गर्नुभएको छ । अहिले त अमेरिका नेपाली समाजमा ठुलो रहस्य र चासोको देशका रूपमा लिइन्छ । अहिले नेपालबाट उडेको अर्को दिन अमेरिका आइपुगिन्छ । तर, त्यतिखेर कम्तीमा तीनवटा देशको ट्रान्जिट पार गर्दै तीन-चार दिन लगाएपछि मात्र आइपुगिन्थ्यो । अहिले पनि उहाँका दुई छोरा, दुई छोरीलगायत परिवारका अधिकांश सदस्य अमेरिकाका विभिन्न राज्यमा छन् । उहाँ भने विसं २०५१ देखि अमेरिका छाडेर नेपालमै शिक्षा, समाजसेवामा रमाइरहनुभएको छ । आफ्नो जन्मथलो कल्लेरीगाउँको शंखादेवी माविलाई नमुना स्कुल बनाउन ९१ वर्षको उमेरमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ ।

जीवनको पाठशाला पुस्तक पढ्दै गर्दा मानिसको जीवनमा शिक्षाको कति महत्त्व रहेछ भन्ने बुझ्न सहजै सकिन्छ । अहिले पढ्न चाहनेका लागि सबै कुरा सहज छन् । तर, त्यतिखेर पढ्नका लागि उहाँले कति हन्डर खेप्नुपरेको थियो, यातायातको विकास नहुँदा हिँडेर काठमाडौँ, त्यहाँबाट कैयौँ दिन लगाएर दिल्ली पुग्नुपर्ने अवस्थाबिच उहाँले गर्नुभएको प्रगति पढ्दा सानोतिनो प्रतिबद्धताले त्यो पूरा भएन । सानो आकारको भए पनि पुस्तकले तत्कालीन नुवाकोटको परिवेश, अभाव, पीडालाई बाहिर ल्याएको छ । शिक्षाको क्षेत्रमा अहिले वडापिच्छे नै दर्जनौँ स्कुल छन् । त्यतिखेर जिल्लामै पनि एउटै स्कुल थिएनन् । त्यतिखेरको समाजको वस्तुस्थिति, शासन व्यवस्थाको अवस्थाबारे पनि पुस्तकबाट थुप्रै जानकारी पाउन सकिन्छ । नेपाल फर्किनु केही दिनअघि मात्र परिवारका सदस्यले उहाँको वैवाहिक जीवनको ८१औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेका रहेछन् । उहाँले गएको वैशाख चौथो हप्ता मेसेज गर्नुभयो । ‘जेठ पहिलो हप्ता (मे २३ तारिख) आफ्नो ८१औँ वैवाहिक वार्षिकोत्सव मनाउने कार्यक्रम राखिएको छ । बाबु तपाईं पनि सहभागी हुन निम्तो गरेँ,’ उहाँले लेख्नुभएको थियो । तर, मेरी छोरीको युनिभर्सिटी ग्य्राजुएसन त्यही समयमा भएकोले सहभागी हुन सकिनँ । उहाँको दम्पतीको दीर्घजीवनको शुभकामना व्यक्त गरेँ । (लेखक भट्ट हाल अमेरिकाको टेक्सासमा रहनुभएको छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

रामचन्द्र भट्ट