सुविना प्रधान
प्रबन्धक
राष्ट्रिय वाणिज्य बैंक, धुन्चे, रसुवा

अर्थशास्त्र विषयमा स्नातकोत्तर उपाधिलगत्तै बैंकिङ करिअर रोज्नुभएकी भोजपुरकी सुविना प्रधानको सुरुको जागिरे जीवन नै रसुवाको धुन्चेबाट सुरु भयो । विसं २०७९ पुस १० गते धुन्चेमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा आएपछि पहिलोपटक त्यसैको धुन्चे शाखाका सहायक शाखा प्रबन्धकका रूपमा काम गर्दा गर्दै उहाँको विसं २०८२ वैशाख १ गतेदेखि सोही शाखाको प्रबन्धकमा पदोन्नति भयो । शाखा प्रबन्धक प्रधानसँग बैंकको हालको गतिविधिबारे रसुवा संवाददाता सरस्वती न्यौपानेले गरेको कुराकानीको सङ्क्षिप्त सार :
राष्ट्रिय वाणिज्य बैंकका देशभर र रसुवामा कति शाखा छन् ?
बैंकको रसुवामा रहेका दुई शाखासहित देशभर तीन सय २१ शाखा सञ्चालनमा रहेका छन् । रसुवाको कालिकास्थान पहिलो र धुन्चेमा दोस्रो शाखा खुलेको हो ।
तपाईंले सर्वसाधारणबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
महिला नेतृत्वप्रति ग्राहक र स्थानीय समुदायको सकारात्मक धारणा रहेको छ । राम्रो टिमवर्क र सेवाप्रतिको प्रतिबद्धताले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सहज भएको छ । सेवाग्राहीलाई बैंकबाट पाउने सुविधा सहज, छिटो र छरितो रूपमा उपलब्ध गराइरहेका छौँ । बैंकको सेवा पहिलो आउनेलाई पहिला र पछि आउनेले पालोअनुसार दिने व्यवस्था रहेको छ । धुन्चे शाखा महिलाको नेतृत्वमा महिला मात्रै कर्मचारीबाट सञ्चालन भइरहेको छ । हामी चारजना शाखामा छौँ, प्रबन्धकमा म, सहायक शाखा प्रबन्धकमा लक्ष्मी उपाध्याय, कर्जा इन्चार्जमा विनिता दाहाल र खजान्चीमा जानुका श्रेष्ठ रहनुभएको छ । सबै महिला भएकाले काम गर्न सहज भएको छ ।
त्यही शाखामा सहायक र प्रमुख भएर काम गर्दा कस्तो अनुभव गरिरहनुभएको छ ?
अरू पदमा रहेर काम गर्दा तोकिएको कार्यक्षेत्रभित्रमा रहेर तोकिएको समयमा तोकिएको काम-जिम्मेवारी पूरा गरेपछि सुख पाइन्छ । तर, प्रबन्धक भइसकेपछि सम्पूर्ण शाखाको सञ्चालन, कर्मचारी व्यवस्थापन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा निर्देशन पालना गर्दै संस्थाको उद्देश्य हासिल गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । प्रमुख भएर काम गर्दा २४सै घण्टा जिम्मेवारी बोकिरहनुपर्ने, सफलता र असफलताको भागेदार बन्नुपर्छ । प्रमुख भएर काम गर्दा जिम्मेवार र व्यस्त भइरहेकी छु ।
बैंकले गर्ने काम र दिने सुविधा के-के छन् ?
बैंक खुलेदेखि हालसम्म यस शाखाले निक्षेप सङ्कलन तथा कर्जा विस्तार, डिजिटल बैंकिङ सेवा, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैङ्किङ पहुँच बढाएको, विप्रेषण सेवा विस्तार तथा ग्राहक सेवामा निरन्तर सुधार गर्दै उल्लेखनीय उपलब्धि हासिल गरिरहेको छ । शाखाले बचत तथा चल्ती खाता खोल्ने मुद्दति निक्षेप, विभिन्न प्रकारका कर्जा, रेमिट्यान्स सेवा मोबाइल बैंकिङ, इन्टरनेट, क्युआर पेमेन्ट, कनेक्ट आइपिएस तथा अन्य आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
जिल्लाको आर्थिक गतिविधि विस्तारमा बैंकको भूमिका के छ ?
बैंकले कृषि, पशुपालन तथा मझौला उद्यमका साथै उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गरी स्थानीयवासीको आय-आर्जनमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । सेवाग्राहीको मागअनुसार बैंकको नियमअनुसार उद्योग-व्यवसाय विस्तार र प्रवद्र्धनमा विभिन्न शीर्षकमा लगानी गरेका छौँ । यहाँ बचत र लगानी गर्ने संस्कार बसाएका छौँ । बैंकले ग्राहकको आवश्यकताअनुसार लगानी गरिरहेको छ । यहाँ विशेषगरी कृषि, होटेल व्यवसाय, व्यापार, घरकर्जा तथा अन्य साना व्यवसाय सम्बन्धित कर्जा बढी माग हुने गरेको छ । त्यही क्षेत्रमा बढी कर्जा लगानी भएको छ ।
वित्तीय साक्षरता बढाउन बैंकले के-कस्ता कार्यक्रम गरिरहेको छ ?
बैंकले विद्यालय तथा स्थानीय समुदायमा वित्तीय साक्षरता कार्यक्रम, बचत गर्ने बानीको विकास, डिजिटल बैंकिङलगायतका सम्पूर्ण वित्तीय कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय वाणिज्य बैंकलाई नै किन रोज्ने ?
यस शाखामा तीन हजारभन्दा बढी सक्रिय ग्राहक रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकलाई नै रोज्नुको मुख्य कारण ग्राहकको विश्वास, सरकारी स्वामित्व, सुरक्षित र भरपर्दो सेवा, देशव्यापी शाखा सञ्जाल, छिटो र ग्राहकमैत्री सेवा, प्रतिस्पर्धी ब्याजदर तथा विविध निक्षेप कर्जा र रेमिट्यान्स सेवा-सुविधा रहेकाले हो ।
बैंकबाट कुन-कुन क्षेत्रमा कर्जा लगानी भएको छ ?
बैंकबाट कुल कर्जा लगानीमध्ये कृषिमा ३० प्रतिशत, व्यापार-व्यवसायमा ४० प्रतिशत र बाँकी अन्य क्षेत्रमा माग र बैंकको नियमअनुसार कर्जा प्रवाह गरेका छौँ ।
बैंक सञ्चालनमा के-कस्ता चुनौतीको सामना गरिरहनुपरेको छ ?
वर्षायाममा बाढी र पहिरोको कारण सडक अवरुद्ध तथा यातायातमा समस्या, विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध हुने भएकाले ग्राहक सेवामा वेलावेला प्रभाव पर्ने गरेको छ । हरेक चुनौतीलाई टिमवर्कबाट पार लगाउँदै सेवालाई चुस्त-दुरुस्त बनाएका छौँ । बैंकले समस्या र चुनौतीको बाबजुद पनि बचत तथा चल्ती खाता खोल्ने मुद्दति निक्षेप, विभिन्न प्रकारका कर्जा, रेमिट्यान्स सेवा, मोबाइल बैङ्किङ, इन्टरनेट, क्युआर पेमेन्ट, कनेक्ट आइपिएस तथा अन्य आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकमैत्री सेवा प्रवाह गर्ने, वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउने, डिजिटल बैंकिङ सेवा विस्तार र प्रयोग बढाउने, छिटो र सरल गुणस्तरीय सेवा प्रदान गर्न कर्जा विस्तार, ग्राहकको गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको छ ।
अघिल्लो वर्षभन्दा गत वर्ष कारोबारमा सुधार भएको छ त ?
अघिल्लो वर्षभन्दा गत वर्ष बैंकिङ कारोबार बढेको छ । बैंकले लगानी गरेको कर्जाको नियमअनुसार साँवा, ब्याज असुलीमा अघिल्लो वर्षभन्दा गत वर्ष सन्तोषजनक सुधार भएको छ । मैले प्रबन्धकको जिम्मेवारी सम्हालेदेखि सेवाग्राहीसँग भेटघाट बाक्लो बनाउँदै उहाँहरूको समस्यालाई नजिकबाट केलाउने र समाधान गर्ने गरेकी छु । जसको कारणले कर्जा लगानीको भाका नाघेको कारोबारको सङ्ख्या घटेको छ । कर्जा लगानी बढेको छ । केही वर्षदेखि जिल्लामा होटेल व्यवसाय, कृषि, व्यापार तथा साना उद्यम क्षेत्रमा कर्जाको माग बढेको छ ।






प्रतिक्रिया