विदुर । विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष विश्वका एक सय २० भन्दा बढी राष्ट्रमा एकैपटक उत्सवको रूपमा मनाउने गरिएको छ । आमाको दुधको महत्त्वलाई उजागर गर्न सन् १९९२ देखि अगस्ट १-७ मा विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइन्छ । यसको सुरुवात सन् १९९१ मा स्तनपान प्रवद्र्धनका लागि विश्व गठबन्धन (डब्लुएबिए) स्थापनापश्चात् १९९२ देखि निरन्तर विस्तार भइरहेको छ । यस वर्ष पनि अगस्ट १-७ अर्थात् विसं २०८३ साउन १६ देखि २२ गतेसम्म ‘दिगो जीवनको स्वास्थ्य सुरुवात, प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने नाराका साथ विश्वमा मनाइरहेको छ ।


स्तनपान सप्ताहको उद्देश्य स्तनपानको महत्त्वबारे सूसुचित गराउने, समुदायमा स्तनपानको जिम्मेवारी महसुस गराउने र स्तनपानको समर्थनमा बहस पैरवी गर्ने रहेको छ । हालको स्तनपानको अवस्था वा जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क हेर्ने हो भने एक घण्टामा स्तनपान गराउने ५५ प्रतिशत छन् भने पूर्ण स्तनपान गराउने ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउने ९४ प्रतिशत रहेका छन् । त्यसैगरी, बोतल फिडिङ २२ प्रतिशत पुगेको छ । सम्पन्न परिवार र उच्च शिक्षा लिएका परिवारमा आमाको दुधको सट्टामा आमाको दुधको प्रतिस्थापन गर्ने वस्तु प्रयोग बढ्दै गएको देखिन्छ ।
बालबालिकाका लागि आमाको दुध अमृतसमान छ । बच्चा जन्मेको एक घण्टाभित्र आमाको दुध चुसाउन सुरु गर्नुपर्छ र सुरुको बिगौती दुध नफ्याँकी चुसाउनुपर्छ । सुरुको बिगौती दुधमा रोगविरुद्ध लड्ने शक्ति हुने हुँदा यसलाई बालबालिकाको पहिलो खोपको रूपमा लिइन्छ । यसले बाल मृत्युदरमा हुने सम्भावना कम हुन्छ । बालबालिकालाई ६ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ । ६ महिनासम्म बालबालिकालाई आमाको दुधमा पर्याप्त मात्रामा खाना उपलब्ध हुन्छ । उसलाई पानी पनि आवश्यक पर्दैन र दिनुहुँदैन पनि । तर, स्तनपान दैनिक आठ-दशपटक गराउनुपर्छ । आमालाई आफ्नो दुध मात्र खुवाउँदा दुध नपुग भएको थाहा पाउन बच्चाको वृद्धि अनुगमन गरी तौल वृद्धि भए-नभएको र बच्चाले २४ घण्टामा कम्तीमा चारपटक पिसाब गरे-नगरेको हेरेर थाहा पाउन सकिन्छ । बच्चा ६ महिना पुगेपश्चात् थप खाना (पोषिलो हरेक बार खाना चारका खाना) साथै स्तनपान गराउनुपर्छ । यसरी स्तनपान गराइयो भने बालबालिकाको सुनौला एक हजार दिनमा हुने मानसिक विकासमा सहयोग पुग्छ । सुनौला हजार दिन भन्नाले गर्भ रहेदेखि दुई वर्ष उमेरसम्मको समय हो, जसमा बालबालिकाको ८० प्रतिशत दिमागको विकास हुन्छ । स्वास्थ्यकर्मीको सल्लाहमा सही आसन र सही सम्पर्कमा स्तनपान गराउँदा स्तनपान राम्रो हुन सक्छ र बच्चाले राम्रोसँग स्तनपान गर्न सक्नुका साथै पर्याप्त पौष्टिक तत्त्व प्राप्त गर्न सक्छ भने आमाको स्तन गानिने वा घाउ हुने सम्भावना रहँदैन ।
साधारणतया स्तनपान गराउने कार्य एक आमाको जस्तो देखिए पनि यसमा घरपरिवार, समुदाय, स्वास्थ्यकर्मी, कार्यस्थलका सहकर्मीलगायत सबैको महत्त्वपूर्ण भूमिका रहन्छ । नेपाल सरकारले स्तनपानको महत्त्वलाई ध्यानमा राखेर ६ महिना सुत्केरी बिदा दिने ऐन संशोधन प्रस्ताव गरेको छ । स्वास्थ्यकर्मीले उचित परामर्श दिनुपर्छ भने घरपरिवार, समुदाय, कार्यस्थलका सहकर्मीले सहयोग गर्नुपर्दछ । नेपाल सरकारले सबै कार्यालयमा स्तनपान गराउन स्तनपान कक्ष राख्नुपर्ने व्यवस्था गरेको छ । सुत्केरी आमाले स्तनपान गराउँदा दुध कम आएको अनुभूति हुन पनि सक्छ, तर स्तनपान गराउने आमाले सामान्य अवस्थामा भन्दा थप दुईपटक पोषिला खाना (हरेक बार खाना चारका खाना) खाएको र स्वास्थ्य अवस्था राम्रो भएमा पर्याप्त दुध उत्पादन हुन्छ र सुत्केरी आमाको दुखाइ व्यवस्थापन साथै मानसिक तनाव कम गर्न सहयोग पुग्छ । (प्रायोजित) सिलवाल जनस्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य निरीक्षक हुनुहुन्छ ।)






प्रतिक्रिया