+
Search

ताजा अपडेट +

पपुलर +

इतिहासबाट नसिके धर्मको अस्तित्व सङ्कटमा

इतिहासबाट नसिके धर्मको अस्तित्व सङ्कटमा
??
आँशु तोया
१ घण्टा अगाडी

धर्मको मूल उद्देश्य मानवलाई सत्य, करुणा, सहिष्णुता, नैतिकता र आत्मिक शान्तिको मार्गमा डोर्याउनु हो । तर, जब धर्मलाई आत्मशुद्घिको माध्यमभन्दा बढी सत्ता, सम्पत्ति, भिड र प्रभाव बढाउने साधन बनाइन्छ, त्यहीँबाट धर्मको पतन सुरु हुन्छ । इतिहासले देखाएको सत्य यही हो कि धर्मलाई बाह्य प्रदर्शन, अन्धभक्ति, विभेद र व्यापारमा रूपान्तरण गरिँदा त्यसको वास्तविक अस्तित्व नै सङ्कटमा पर्छ ।

Utsuk Books & Stationery

युरोपको १४औँ शताब्दी धार्मिक इतिहासको एउटा महत्त्वपूर्ण मोड थियो । त्यस समय धार्मिक संस्थामा भ्रष्टाचार, इन्द्रियसुख, पदको किनबेच, पापमोचनको नाममा धन असुली तथा धर्मको नाममा आमजनताको शोषण व्यापक भएको थियो । धर्मले मानिसलाई मुक्ति दिनुपर्नेमा डर, नियन्त्रण र आर्थिक शोषणको माध्यम बन्न थालेपछि समाजमा असन्तोष बढ्दै जान्छ । त्यसपछि क्रमशः धार्मिक सुधारका आन्दोलन उठ्दा पुराना धार्मिक संरचनामाथि प्रश्न उठाउँदै धेरै मानिस संस्थागत धर्मबाट टाढिँदै जान्छन् । इतिहासले देखायो कि धर्म बाहिरबाट होइन आफ्नै विकृत व्यवहारका कारण कमजोर हुन सक्छ । नेपालमा पनि केही वर्षयता चिन्ताजनक प्रवृत्ति देखिन थालेका छन् । धर्मका नाममा चमत्कार बेच्ने, ग्रहदोष हटाइदिने भन्दै लाखौँ रुपैयाँ असुल्ने, मोक्ष वा स्वर्गको आश्वासन दिएर आर्थिक लाभ लिने, सामाजिक सञ्जालमार्फत अन्धविश्वास फैलाउने, जात, सम्प्रदाय वा विश्वासका आधारमा मानिसलाई विभाजित गर्ने तथा आपूm मात्रै सत्य र अरू सबै गलत भन्ने प्रवृत्ति बढ्दै गएको अनुभव धेरैले गरेका छन् ।

धर्मको नाममा हुने यस्ता गतिविधिले केही व्यक्तिलाई आर्थिक लाभ पुग्न सक्छ, तर धर्मलाई भने गम्भीर क्षति पुर्याउँछ । जब मानिसले धर्मलाई सेवा, सदाचार र आत्मअनुशासनभन्दा बढी ठगी, व्यापार वा विभाजनसँग जोड्न थाल्छ तब नयाँ पुस्तामा धर्मप्रतिको विश्वास कमजोर बन्छ । धर्मप्रतिको आस्था हराउनुको मुख्य कारण धर्म स्वयम् होइन, धर्मको आवरण ओढेर गरिने अनैतिक व्यवहार हो । धर्मले मानिसलाई जोड्नुपर्ने हो, तर यदि धर्मकै नाममा घृणा, श्रेष्ठताको भावना र विभेद फैलाइन्छ भने त्यसले समाजलाई टुक्र्याउँछ । कुनै पनि धर्मले हिंसा, ठगी, घृणा वा अन्यायको शिक्षा दिँदैन । यी सबै मानवीय कमजोरी हुन् जसलाई धर्मको आवरण दिइन्छ । नेपाल धार्मिक सहिष्णुताको उदाहरण मानिएको देश हो । यहाँ विभिन्न धर्म र संस्कृतिका मानिस शताब्दीयौँदेखि एक-अर्काको पर्वमा सहभागी हुँदै आएका छन् । यही सम्पदा हाम्रो सबैभन्दा ठुलो शक्ति हो । यदि अतिवाद, अन्धभक्ति र धार्मिक व्यापारलाई समयमै निरुत्साहित गर्न सकिएन भने यसले सामाजिक सद्भावमा असर पार्न सक्छ । आज आवश्यक कुरा धर्म परिवर्तन गराउनु होइन, धर्मको चरित्र परिवर्तन गर्नु हो । मन्दिर, गुम्बा, चर्च, मस्जिद वा अन्य कुनै पनि आस्थास्थलको वास्तविक गरिमा त्यतिवेला मात्र रहन्छ, जब त्यहाँबाट सत्य, सेवा, करुणा, समानता र नैतिकताको सन्देश प्रवाह हुन्छ । धर्मका नाममा ठगी गर्ने, विभेद फैलाउने वा मानिसको डर र विश्वासको दुरुपयोग गर्ने प्रवृत्तिलाई सबै धर्मका अनुयायीले अस्वीकार गर्नुपर्छ । धर्मको सबैभन्दा ठुलो शत्रु अर्को धर्म होइन; धर्मभित्रै पलाएको अतिवाद, लोभ, पाखण्ड र असहिष्णुता हो ।

यदि इतिहासबाट शिक्षा लिन सकिएन भने युरोपले भोगेको धार्मिक अविश्वासको अवस्था कुनै पनि समाजले दोहो¥याउन सक्छ । धर्मलाई बचाउने उपाय धर्मको प्रचार बढाउनु मात्र होइन, धर्मको आचरण सुधार्नु हो । जब धर्म मानवताको पर्याय बन्छ, तब मात्र धर्म जीवित रहन्छ; तर जब धर्म व्यापार, विभेद र अतिवादको साधन बन्छ, तब धर्मको अस्तित्व आफैँ सङ्कटमा पर्न थाल्दछ ।

तारकेश्वर-१, नुवाकोट

 

प्रतिक्रिया

लेखकको बारेमा

आँशु तोया