+
Search

ताजा अपडेट +

पपुलर +

काङ्ग्रेसका दुवै पक्ष सक्रिय

काङ्ग्रेसका दुवै पक्ष सक्रिय
त्रिशूली प्रवाह
५५ मिनेट अगाडी

काठमाडौँ । पुरानो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको आन्तरिक कलह वारपारको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले काङ्ग्रेस विशेष महाधिवेशन विवादबारे यसअघिको फौसला पुनरवलोकनको निस्सा दिएसँगै हौसिएको संस्थापन इतर समूहले गगन थापाको नेतृत्वलाई थप दबाब दिइरहेको छ । नेपाली काङ्ग्रेसका दुवै पक्षका नेताहरू पार्टीको आधिकारिकता लिनका लागि आ-आफ्नै तयारीमा भएभरको शक्ति प्रयोग गरेर जुटेका छन् ।

Utsuk Books & Stationery

तत्कालीन सभापति शेरबहादुर देउवा साउन २८ गते बिहीबार काठमाडौँ फर्कने भएपछि तत्कालीन संस्थापन पक्ष केही उत्साहित देखिएको छ । विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको यसअघिको फैसलामा निस्सा दिएपछि त्यसबाट नेतृत्वमा पुगेको संस्थापन पक्ष दबाबमा छ । देउवालाई काठमाडौँमा स्वागत गर्दै २९ गते राष्ट्रिय भेलामा उतार्ने काङ्ग्रेस इतर पक्षको विशेष तयारी छ । अदालतबाट निस्सा प्राप्त भएपछि पार्टीको आधिकारिता आपूmहरूले पाउने आशामा रहेको इतर पक्षले मंगलबार नै १५औँ महाधिवेशनको तयारी राख्न केन्द्रीय कार्यालयमा निवेदन दिएको छ । अदालतको निस्सासहित निवेदन दिएको इतर पक्ष अदालतबाट पार्टीको आधिकारिकता पाउनेमा ढुक्क छ । दुवै पक्ष आफूहरूसँग पार्टीका सबै तह र तप्का नेताहरूसँगै रहेको देखाउने रणनीतिसहित भेलालाई उपयोग गर्न लागेका छन् । इतर पक्षको भेलामा नेता शेखर कोइराला पनि सहभागी हुने भएका छन् । कोइरालानिकटका कतिपय नेताहरू अहिलेको संस्थापन पक्षतर्फ लागे पनि विशेष महाधिवेशनको विपक्षमा उभिएका उहाँ इतर पक्षको भेलामा सहभागी हुने घोषणा गरिसक्नुभएको छ । अदालतले विशेष महाधिवेशनका विषयमा निस्सा नदिएको भए शुक्रबारदेखि सुरु हुने काङ्ग्रेसको इतर पक्षको भेलाले नयाँ पार्टी गठनको पूर्वअभ्यास सुरु गर्ने थियो । सनातन हिन्दु राज्यसहितका मुद्दालाई अघि सार्दै काङ्ग्रेसका संस्थापकमध्येका एक बिपी कोइरालाका कान्छा छोरा शशांकको संयोजकत्वमा नयाँ पार्टीको अभ्यास थाल्ने थिए । उता विशेष महाधिवेशनबाट आएको नेतृत्व १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउने पक्षमा थियो, तर अदालतले निस्सा दिएपछि उनीहरू अलमलमा परेका छन् । पार्टी एकताको पहल नगरेको भन्दै आलोचना खेपिरहेको विशेष महाधिवेशनबाट आएका सभापति गगनकुमार थापाले मंगलबार नेता शेखर कोइरालालाई भेटेका छन्, तर पार्टी विवाद समाधानका विषयमा दुई नेताबिच छलफल केन्द्रित रहेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । सभापति थापासहितका नेताहरू पुराना संस्थापन पक्षका केही नेतालाई केन्द्रीय समितिमा ल्याएर महाधिवेशनमा जाने पक्षमा छन्, तर अर्को पक्ष १४औँ महाधिवेशनबाट आएका सबैलाई केन्द्रीय समितिमा समावेश गर्नुपर्ने पक्षमा छ । दुवै आ-आफ्नै अडानमा रहेपछि काङ्ग्रेस विवाद पेचिलो मात्र होइन, विभाजनोन्मुख बनेको छ ।

नुवाकोटमा भने थापा नेतृत्व काङ्ग्रेसको भन्दा इतर पक्षमा नेता/कार्यकर्ता थपिने क्रम बढिरहेको छ । काङ्ग्रेसका सदाबहार नेता अर्जुननरसिंह केसी, सहमहामन्त्री बहादुरसिंह लामा, केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी, संविधानसभा सदस्य एवम् नुवाकोटका चारपटक जिल्ला सभापति रहनुभएका जगदीश्वरनरसिंह केसी, संस्थापन पक्षमा लागे पनि धेरै नेता-कार्यकर्ता काङ्ग्रेस इतर पक्षको भेला र बैठकमा उपस्थित हुन थालेका छन् । नुवाकोटमा काङ्ग्रेस इतर पक्षको नेतृत्व डा. प्रकाशशरण महतले गर्नुभएको छ । गत शनिबार क्षेत्र नं १ ले काठमाडौँमा गरेको भेलामा जिल्ला सभापति रमेश महत, बागमती प्रदेश कार्यसम्पादन समिति सदस्य प्रमोद रिमाल, बद्रीप्रसाद मुडभरी, जिल्ला उपसभापति सन्तमान तामाङ, जिल्ला कार्यसमितिका सचिव वैैकुण्ड मिश्र, सहसचिव उत्तम पाठक, क्षेत्र नं. १ का सभापति धु्रव श्रेष्ठ, पूर्वक्षेत्रीय सभापति अर्जुन न्यौपाने, पूर्वमन्त्री कल्पना नेपाली, नेता महेन्द्र थिङ, कृष्ण लामा, प्रदेश सभापति रामजी पौडेललगायत तीन सय जनाभन्दा बढी नेता-कार्यकर्ता र काङ्ग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । क्षेत्र नं. २ मा पनि पूर्वजिल्ला सभापति धु्रव अधिकारी, जिल्ला कार्यसमितिका सचिव श्रीराम श्रेष्ठ, क्षेत्रीय सचिव धु्रव ढकाल, प्रदेश सभापति गणेशमान लामा, प्रदेश सचिव अच्युत रिजाललगायत काङ्ग्रेसको इतर पक्षमा खुलेका छन् ।

इतर पक्ष राष्ट्रिय भेला आयोजक समितिका संयोजक एवम् पूर्वमहामन्त्री शशांकको नेतृत्वमा देउवालाई बिहीबार विमानस्थलमै भव्य स्वागत गर्ने तयारीमा जुटेको छ । साउन २८ को दिउँसो देउवा काठमाडौँ फर्किने तयारी छ । विमानस्थलमै हजारौँ कार्यकर्ताले स्वागत गर्ने तय भएको राष्ट्रिय भेला प्रचार समितिका संयोजक मीन विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह