+
Search

ताजा अपडेट +

पपुलर +

साउनमा दुप्चेश्वरको भेटी रू.२८ लाख

साउनमा दुप्चेश्वरको भेटी रू.२८ लाख
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

समुन्द्रटार । दुप्चेश्वर–५ स्थित नेपालको पशुपतिनाथको पर्यायको रूपमा परिचित दुप्चेश्वर मन्दिरको साउन महिनाको भेटी रू.२७ लाख ९८ हजार सात सय ४२ सङ्कलन भएको छ । शिवको महिमाको महिना साउनमा अरू महिनाभन्दा भक्तजनको उपस्थिति उल्लेख्य हुने भएकाले अरू महिनाको तुलनामा साउनमा भेटी सङ्कलन बढ्ने गरेको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोमबार सन्ध्या आरती र शनिबार मध्याह्न गरिने आरतीबाट समेत उल्लेख्य भेटी सङ्कलन हुने गरेको छ ।

Utsuk Books & Stationery

मन्दिरमा चढाएको भेटी पारदर्शी हुन थालेपछि दुप्चेश्वरको आम्दानी बढेको हो । नुवाकोट जिल्लास्थित दुप्चेश्वर गाउँपालिकाले विसं.२०८० वैशाखदेखि चढाइएका भेटी सङ्कलनलाई पारदर्शी बनाउँदै मन्दिरका पुजारी र कर्मचारीलाई तलब सुविधाको व्यवस्था गरेपछि आम्दानी बढेको छ । दुग्धेश्वर मन्दिरलाई व्यवस्थित गर्दै महादेवका नाममा रहेको जग्गा संरक्षण गरी आवश्यक थप भौतिक पूर्वाधार निर्माण गर्न पालिकाले दुप्चेश्वर विकास कोष स्थापना गरेको छ जसमार्फत मन्दिरमा भक्तजनले चढाएका भेटी दैनिक गणना गरी सार्वजनिक गर्ने गरिएको छ । कोषले सङ्कलित भेटी मन्दिरका नाममा रहेको सामाजिक सञ्जाल फेसबुक पेजबाट दैनिक सार्वजनिक गर्दै आइरहेको छ । मन्दिरमा भक्तजनले क्युआरमार्फत पनि भेटी चढाउन र दान दिन सक्ने व्यवस्था गरिएको कोषका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यातायातको सहजतासँगै भक्तजन आउने क्रम बढेको छ । सोमबार, बिहीबार र शनिबार भक्तजन बढी आउने गरेका छन् । भेटी सङ्लनलाई व्यवस्थित तथा सेवा–सुविधाको व्यवस्थापन गर्दा मन्दिरको आम्दानी बढेको कोषका अध्यक्ष तथा दुप्चेश्वर पालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताउनुभयो । कोषले मन्दिरपरिसरमा ढुङ्गाको कलात्मक एक सय आठ धारा निर्माण गरिसकेको छ ।

काठमाडौँबाट उत्तर–पश्चिम ६३ किलोमिटर दूरीमा रहेको सो मन्दिर नुवाकोट सदरमुकाम विदुरदेखि ३४ किलोमिटर उत्तर–पूर्वमा छ । बागमती प्रदेश, काठमाडौँमा रहेको पशुपतिनाथपछि प्रसिद्ध मन्दिरमा दर्शन गर्ने भक्तजनको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको आस्थाको प्रतीक दुग्धेश्वरमा प्रत्येक वर्ष मङ्सिर पूर्णिमामा मेला लाग्ने गरेको छ, मेला पाँच दिनसम्म चल्छ । मन्दिरमा धान्य पूर्णिमाको अघिल्लो दिन चतुर्दशीदेखि पूर्णिमासम्म मेला लाग्छ । भक्तजनले पूजा-आराधना गर्ने तथा भगवान् शिवप्रति आस्था प्रकट गर्दै आफूले चाहेको वर माग्ने चलन छ । यहाँ मागेको पाइने र आँटेको पुग्ने विश्वास गरिन्छ । विशेषतः सो धार्मिक स्थलमा पहिले गाईको दुध र दाम्लो आदि चढाइन्थ्यो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह