बेत्रावती । पूर्वयुवराज्ञी एवं हिमानी ट्रस्टकी संरक्षक हिमानी शाहले रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडित परिवारलाई गत महिना राहत सामग्री वितरण गर्नुभएको छ ।


उत्तरगया गाउँपालिका-५ का अध्यक्ष यमनाथ आचार्यकानुसार गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीका कारण घरबारबिहीन तथा अप्ठ्यारोमा परेका उत्तरगया-५, माझगाउँका पीडित परिवारलाई पूर्वयुवराज्ञी शाह तथा उहाँकी सुपुत्री पूर्णिका शाहसहितको टोलीले प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । हिमानी ट्रस्टद्वारा आयोजित राहत वितरण कार्यक्रममा संरक्षक शाहले बाढीका कारण ठूलो क्षति ब्यहोर्नुपरेका परिवारप्रति समवेदना तथा सहानुभूति प्रकट गर्नुभयो । बाढीले आश्रय गुमाएका तथा दैनिक जीवनयापनमा समस्या झेल्दै आएका विस्थापित परिवारको पीडामा मलम लगाउन ट्रस्टका तर्फबाट कम्बल (ब्लाङ्केट), प्रेसर कुकरलगायतका अत्यावश्यक घरायसी राहत सामग्री उपलब्ध गराइएको थियो । आपतकालीन समयमा पीडितलाई प्रत्यक्ष भेटेरै दुःखसुखमा साथ दिन पूर्वयुवराज्ञी शाह स्वयम् परिवारसहित माझगाउँ पुग्नुभएपछि स्थानीय बाढीपीडितले खुशी व्यक्त गर्दै ट्रस्टप्रति आभार प्रकट गरेका छन् ।








प्रतिक्रिया