+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोसी बाढीबाट निजी भवन र व्यवसायमा रू.७९ अर्ब क्षति

प्रभावित घरको सङ्ख्या पहिलेभन्दा कम

भोटेकोसी बाढीबाट निजी भवन र व्यवसायमा रू.७९ अर्ब क्षति
त्रिशूली प्रवाह
८ घण्टा अगाडी

विदुर । गत १० भदौमा भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका निजी घरपरिवार र व्यावसायिक प्रतिष्ठानमा रू.७९ अर्ब १७ करोडबराबरको क्षति भएको सर्वेक्षणले देखाएको छ । राष्ट्रिय योजना आयोगले तयार गरेको बाढी प्रभावित घरपरिवार तथा व्यावसायिक प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनले सोबराबरको क्षति आकलन गरेको छ । बाढीबाट निजी घरपरिवारतर्फ मात्रै रू.६९ अर्ब ५७ करोडको क्षति भएको छ । बाढीले व्यवसाय तथा प्रतिष्ठानतर्फ रू.नौ अर्ब ६० करोडको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रतिवेदनअनुसार बाढीले रू.३५ अर्ब ४४ करोडबराबरको पाँच सय सात दशमलब ९७ हेक्टर जमिन क्षतिग्रस्त गराएको छ । यो जग्गामा ३६ सय १० परिवारको स्वामित्व थियो । त्यस्तै, घरतर्फ भने रू.२५ अर्ब २१ करोडबराबरको क्षति भएको प्रारम्भिक विवरण छ । त्यसमा घर भएको जग्गा (५४ दशमलव ६५ हेक्टर क्षेत्रफल) को क्षति रू.१३ अर्ब २६ करोड मूल्याङ्कन गरिएको छ । घरमा भएको क्षति (निर्माण लागत) भने रू.११ अर्ब ९५ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी बहुमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुमा रू.पाँच अर्ब दुई करोडबराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । २३ सय ३० परिवारको बहुमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तु बाढीबाट प्रभावित भएको छ । यस्तै, ११ सय १५ घरपरिवारले प्रयोग गर्ने सवारीसाधनमा भने रू.एक अर्ब २४ करोडको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, स्थायी प्रकृतिका घरायसी वस्तुमा ३१ सय ८७ परिवारको एक अर्ब ४५ करोड रुपैयाँ र अस्थायी प्रकृतिका घरायसी वस्तुमा २७ सय ६९ परिवारको ६६ करोड ३५ लाख रुपैयाँबराबरको क्षति भएको छ । यसैगरी खेतबारीमा भएको बालीमा २९ सय ५१ परिवारको रू.२३ करोड २१ लाख, भण्डारमा भएको खाद्यान्नमा १८ सय ७६ परिवारको र १० करोड ४१ लाख र पशुपक्षी तथा माछामा एक सय ११ परिवारको रू.२१ करोड ४२ लाख क्षति भएको छ । योबाहेक व्यवसाय तथा प्रतिष्ठानतर्फ रू.नौ अर्ब ६० करोड क्षति भएको छ । यसरी घरपरिवार र व्यावसायिक प्रतिष्ठानमा गरेर कुल रू.७९ अर्ब १७ करोड क्षति भएको छ । प्रतिवेदनअनुसार बाढीबाट ६ हजार आठ सय १७ घरपरिवार प्रभावित भएका छन् । रसुवामा १९ सय २०, नुवाकोटमा ३८ सय ४१, गोरखामा एक सय आठ र धादिङमा नौ सय ४८ घरपरिवार बाढीबाट प्रभावित भएको तथ्याङ्क छ ।

Suzuki New Bike & Scooter

बाढीबाट चार जिल्लाका १८ सय ३८ वटा व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् । त्यसमा थोक तथा खुद्रा व्यापारका सात सय ७४ वटा व्यवसाय प्रभावित भएका छन् । यसैगरी आवास तथा खाद्य सेवाका तीन सय ३७ वटा व्यवसाय प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । कृषि, वन तथा मत्स्यपालनतर्फ एक सय ६६ वटा व्यवसाय प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, औद्योगिक उत्पादनका ७०, यातायात तथा भण्डारणका ३१ र निर्माणका ४७ वटा व्यवसाय बाढीबाट प्रभावित भएका छन् । यस्तै, खानी तथा उत्खननका ११, विद्युत्, ग्यास तथा पानीका एक, सञ्चार तथा सूचना प्रविधिका सात र वित्तीय सेवाका १७ व्यवसाय प्रभावित भएका छन् । प्रतिवेदनअनुसार बाढीबाट ३२ हजार आठ सय ७२ जना प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । धादिङमा चार हजार पाँच सय ८४, गोरखामा ६ सय ५८, नुवाकोटमा १७ हजार नौ सय ५४ र रसुवामा नौ हजार ६ सय ७६ जना बाढीबाट प्रभावित भएका छन् । प्रभावितमध्ये १६ हजार सात सय १४ पुरूष र १६ हजार ८० महिला रहेका छन् ।

बाढीबाट प्रभावित घर ४,१५१, पूर्ण क्षतिग्रस्त २,९८९
आयोगको सर्वेक्षणले प्रभावित घरको सङ्ख्या भने कम देखाएको छ । यसअघि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा सात हजार पाँच सय ७० घर प्रभावित भएको देखिएको थियो । आयोगको सर्वेक्षणले भने तीन हजार ६७ घरधनीका ४१ सय ५१ घर बाढीमा परेको देखाएको छ । पहिला अनुमान गरेभन्दा ३४ सय १९ कम घर प्रभावित भएको देखिएको छ । त्यसमा रसुवामा आठ सय ८२ घरधनीका १२ सय ३६, नुवाकोटमा १६ सय ८६ घरधनीका २२ सय ५६ र धादिङमा चार सय ८० घरधनीका ६ सय ३० र गोरखामा १९ घरधनीका २९ भवन संरचनामा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार दुई हजार नौ सय ८९ (७२ दशमलव शुन्य एक प्रतिशत) भवन संरचना बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । एक सय ४१ (तीन दशमलव चार प्रतिशत) संरचना ढल्किएर बसेका छन् । यसैगरी, तीन सय दुई (सात दशमलव २८ प्रतिशत) भवन आंशिक रूपमा क्षति भएका, पाँच सय आठ (१२ दशमलव २४ प्रतिशत) भवन संरचना माटो तथा लेदोले पुरिएका र एक सय ९२ (चार दशमलव ६३ प्रतिशत) भवनमा सामान्य क्षति पुगेको देखिएको छ । बाँकी १९ (शुन्य दशमलव ४६ प्रतिशत) वटा संरचनाको क्षतिको प्रकार उल्लेख गरिएको छैन । आयोगका सदस्य अर्जुनजङ्ग थापाले सर्वेक्षणका क्रममा बाढीबाट प्रभावित घरधुरीको सङ्ख्या पहिले अनुमान गरिएभन्दा कम देखिएको बताउनुभयो । ‘‘यसअघि स्ट्यालाइट इमेजका आधारमा प्रारम्भिक तथ्याङ्क निकालिएको थियो । त्यसवेला साढे सात हजारभन्दा बढी घर बाढीबाट प्रभावित भएको अनुमान गरिएको थियो । स्ट्यालाइट इमेज देखिएका प्रतीक्षालय, गोठ, टनेलका भवन, बस स्टेसनलगायत सबैलाई घरका रूपमा गणना गरियो । त्यसले गर्दा त्यसवेला सङ्ख्या धेरै देखियो । तर, सर्वेक्षणका क्रममा स्थलमै गएर वास्तविक पीडितसँग कुरा गरेर तथ्याङ्क सङ्कलन गरिएको छ । त्यो क्रममा प्रभावित घरको सङ्ख्या पहिलाको भन्दा कम देखियो । क्षति रकम पनि अनुमानभन्दा कम देखियो,’’ उहाँले भन्नुभयोे ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह