हेटौँडा । बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिनुभएको छ । बागमतीले यसै हप्ता सातौँ मुख्यमन्त्री पाउने भएको छ । प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको थियो । राजीनामा दिनुअघि बानियाँले आफ्नो करिब एकवर्षे कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख कामको २८ बुँदे प्रगति विवरण प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो ।

एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो । सोहीअनुसार उहाँले भदौ १ गते विश्वासको मत लिन प्रस्ताव अघि बढाउनुभएको थियो । तर, प्रदेश सभामा आफ्नो पक्षमा स्पष्ट बहुमत जुट्ने अवस्था नरहेपछि उहाँले विश्वासको मतको प्रक्रिया अघि नबढाई राजीनामा दिनुभएको हो । बानियाँको पक्षमा नेपाली काङ्ग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीको मात्रै समर्थन रहेको थियो । नेकपा र एमाले विपक्षमा रहेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने तयारीमा थिए । बानियाँ विसं २०८२ साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । त्यसको केही दिनपछि साउन २७ गते उहाँले प्रदेश सभाबाट ६३ मतसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो । उहाँभन्दा अगाडि विसं २०८१ साउन ९ गतेदेखि बहादुरसिंह लामाले बागमती सरकारको नेतृत्व गर्नुभएको थियो । काङ्ग्रेसभित्रको आन्तरिक विवादका क्रममा बानियाँ पक्षले संसदीय दलमा अविश्वास प्रस्ताव अघि बढाएपछि लामाले मुख्यमन्त्री पद गुमाउनुप¥यो । त्यसपछि बानियाँ मुख्यमन्त्री बन्नुभयो । बानियाँको राजीनामासँगै बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । नेकपा र एमालेबिचको सत्तासाझेदारीअनुसार अब एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने तयारी गरेको छ । तर, एमालेभित्रै संसदीय दलको नेताको विषयमा विवाद रहेकाले नयाँ मुख्यमन्त्रीको नाम तत्काल टुङ्गो लाग्ने अवस्था छैन ।

एमालेका वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध आफ्नै दलका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । भक्तपुरका किरण थापामगरलाई संसदीय दलको नेता बनाउन माग गर्दै १६ जना सांसदको हस्ताक्षरसहित साउन २७ गते प्रस्ताव दर्ता भएको हो । संसदीय दलको नेतृत्व विवाद टुङ्गिएपछि मात्रै एमालेले मुख्यमन्त्रीको उम्मेदवार तय गर्ने तयारी गरेको छ । बागमतीमा हाल एक सय चार सदस्य छन् । निर्वाचित एक सय १० सदस्यमध्ये ६ जना प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि प्रदेश सभा सदस्य सङ्ख्या घटेको हो । प्रदेश सभामा काङ्ग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका तीन सांसद छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा नयाँ मुख्यमन्त्री छान्नका लागि भदौ ४ सम्मको समय दिइएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि आज बिहीबार अपराह्नसम्ममा दाबी पेस दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्रीमा एमालेका किरण थापा मगरले दाबी पेस गर्नुभएको छ । बुधबार राप्रपा र नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । एमाले र नेकपा गठबन्धनबिचको भागबन्डाअनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । एमालेले मंगलबार थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । एक सय चार सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थनसहित थापाले बहुमतको दाबी पेस गर्नुभएको हो । प्रदेश सरकार निर्माणका विषयलाई लिएर राप्रपामा विवाद उत्पन्न भएको छ । एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभामा संसदस्य दलले सहमति प्रदान गरेपनि पार्टी केन्द्रले हस्तक्षेप गरेपछि राप्रपामा सत्तामा जाने र नजाने दुई लाइन देखिएको छ ।






प्रतिक्रिया