+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशीले २४ पुल बगाउँदा त्रिशूली वारपारमा समस्या

रसुवा–नुवाकोट–धादिङका सदरमुकाम र बजारसँगको सम्पर्क बिच्छेद

भोटेकोशीले २४ पुल बगाउँदा त्रिशूली वारपारमा समस्या
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । चीनको ल्हेन्दे खोलाबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा गत भदौ १० गते आएको महाप्रलयकारी हिमबाढीले रसुवा–नुवाकोट–धादिङका २४ वटा पक्की मोटरेबल पुल पूर्ण रूपमा क्षति भएपछि तीन जिल्लाका बासिन्दाको दैनिकी कष्टकर बनेको छ । विध्वंसकारी बाढीपछि त्रिशूली वारि र पारिको सम्पर्क टुटेको छ ।

Utsuk Books & Stationery

रसुवाको टिमुरेदेखि उत्तरगया गाउँपालिकाको वेत्रावतीसम्म त्रिशूली नदी वारपार गर्ने कुनै माध्यम नहुँदा त्रिशूलीपारिका बासिन्दाको सदरमुकाम र बजारसम्म सम्पर्क विच्छेद भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । जिल्लाको त्रिशूलीपारिका डाँडागाउँ, ठुलोगाउँ, मैलुङ, हाँकु, चिलिमे, थुमन, स्याफ्रु, पार्वतीकुण्ड, गोल्जुङ, गत्लाङ गाउँवासीको बाढीपछि जनजीवन कष्टकर बनेको छ । उक्त क्षेत्रमा उत्पादित दुध, आलुलगायत तरकारी बिक्रीमा समस्या भइरहेको छ भने खाद्यान्न उत्पादन न्यून हुने गरेको छ । त्यस क्षेत्रका अधिकांश बासिन्दाले बाहिरबाट खाद्यान्न खरिद गरेर लैजान्थे । बाढीले उक्त क्षेत्रमा जाने सबै पुल बगाइदिएपछि खाद्यान्न लान नसक्दा भोकमरी हुन सक्ने अवस्था रहेकाले सरकारलाई छिट्टै ध्यान दिन आग्रहसमेत रसुवा नागरिक समाज रसुवाका अध्यक्ष तामाङले गर्नुभयो । सरकारले वेत्रावती र स्याफ्रुबेँसीमा एक्रो ब्रिज हाल्ने तयारी गरेर बाढीले क्षति पुर्याएको सडक मर्मत थालेको छ । नुवाकोटबाट फलाँखु खोलाको पुल तरेर ग्रामीण सडक नौकुण्ठ हुँदै धुन्चेसम्म हल्का र कम वजन बोक्ने सवारीसाधन दुःख–कष्ट गर्दै पुगिरहेका छन् । बाढीपछि राहत सामग्री नौकुण्ड सडकमार्ग हुँदै साना सवारीसाधनले र हेलिकोप्टरले पु¥याएको थियो ।

महाप्रलयकारी बाढीले नुवाकोट जिल्लाभित्रका त्रिशूली नदीमाथि बनेका मोटरेबल पुल र झोलुङ्गे पुल सबै बगाएपछि सदरमुकाम र त्रिशूली पारिपट्टिको सम्पर्क विच्छेद भएको छ । पुल नभएको कारण वारिपारि आवतजावत गर्न समस्या भएकाले त्रिशूली पारिपट्टिका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । सदरमुकामसँगको सम्पर्क टुटेको छ । झन्डै डेढ हप्तापछि विदुरको देवीघाटमा एकवटा, सिमुटारको इन्द्रायणी चौरमा दुईवटा र विदुर–४ को सिमचौर–विदुर–१२ को गौरीबेँसीमा एकवटा तुइन जडान भएपछि त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम र बजार आवतजावत गर्न केही सहज भएको छ । सरकारको स्वीकृति लिएर नेपाल निर्माण व्यवसायी महासङ्घले विदुर–१, ढुङ्गेको बुद्ध मन्दिर र त्रिशूली–१ को इन्टेकमुनि कटहर बोटसँगै झोलुङ्गे पुल निर्माण गर्न थालिसकेको छ । सरकारले त्रिशूलीबजार जोड्न ह्युमपाइप राखेर त्रिशूली नदीमा अस्थायी पुल बनाउने कार्य सुरु गरेको छ । दसैँभित्र दुवै पुल निर्माण भएर सञ्चालन हुने जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ । त्रिशूली नदी वारपार गर्न गल्छीदेखि वेत्रावतीसम्म एक्रो ब्रिज आवश्यकताअनुसार जडान गर्न प्राविधिक अध्ययन भइरहेको छ । गल्छी–देवीघाट सडकखण्डको तादी नदीमा एक्रो ब्रिज गत हप्ता जडान भएर सञ्चालन भइसकेको छ । गल्छीदेखि विदुरसम्म सडकमार्ग सञ्चालन भइसकेकाले तराईबाट नुवाकोट खाद्यान्न, निर्माण सामग्री ढुवानीमा सहज भइरहेको छ । त्रिशूली नदी वारपार गर्न मोटरेबल पुल नहुँदा त्रिशूलीपारि खाद्यान्न पु¥याउन समस्या भइरहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । बाढीले त्रिशूली नदीको सबै पुल बगाए पनि गल्छीको एउटा पुल बाँकी रहेकाले गल्छीबाट पुल तरेर त्रिशूलीपारि हुँदै कोलनीसम्म वैकल्पिक सडकमार्ग जोडिएकाले साना सवारीसाधन र एम्बुलेन्स गुडाउन सहज भएको उहाँले जानकारी दिनुभयो ।

चारवटा पक्की पुल पूर्ण रूपमा र एउटा पक्की पुल आंशिक रूपमा क्षति भएपछि धादिङ जिल्लाको सदरमुकामसहित त्रिशूलीपारिका बासिन्दाको दैनिकी कष्टकर बनेको छ । त्रिशूली नदीमाथिको फोस्टार जाने पुल आंशिक र स्यालटार, जहरे, घाटबँेसी फुर्केखोला पुल पूर्ण रूपमा क्षति भएको छ । त्रिशूली नदीका विभिन्न स्थानमा रहेको १७ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । पुलमा भएको क्षतिका कारण जिल्लाका विभिन्न स्थानीय तहबिचको सडक तथा पैदल आवागमन प्रभावित भएको छ । बाढीले पृथ्वी राजमार्गबाट धादिङबेँसी सदरमुकाम जोड्ने फुर्केखोला–परेवाटारको पक्की पुलसमेत बगाएपछि सदरमुकाम र राष्ट्रिय राजमार्गबिचको नियमित सडक सम्पर्क विस्थापित भएको छ । फुर्केखोला–परेवाटार पुल धादिङका आठ स्थानीय तहसँगै गोरखाका दुई स्थानीय तह तथा मनास्लु पर्यटन पदमार्गतर्फ आवतजावत गर्ने नागरिक र पर्यटकका लागि महत्त्वपूर्ण सडक सम्पर्कका रूपमा रहेको थियो । यो पुल भएर दैनिकजसो करिब दुई सय यात्रुवाहक, एक सय ५० मालवाहक तथा दुई सय ५० देखि तीन सय दुईपाङ्ग्र्रे र साना सवारीसाधन आवतजावत गर्ने गरेको झुर्केखोलाका स्थानीयको भनाइ छ । यस क्षेत्रसँग प्रत्यक्ष रूपमा दुई लाखभन्दा बढी जनसङ्ख्या प्रभावित भएका छन् ।

बाढीले पुल बगाएपछि वैकल्पिक रूपमा प्रयोग भइरहेका कच्ची सडकले नियमित आवागमनको चाप धान्न नसकेको स्थानीय व्यवसायी शुभलाल श्रेष्ठले बताउनुभयो । बर्खायाम, त्यसमाथि कच्ची सडक सवारीचालक र यात्रुले हैरानी खेपिरहेका छन् । त्रिशूली नदी उत्तरतर्फका नागरिकलाई दैनिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा समस्या परेको छ । खाद्यान्न, औषधि तथा अन्य दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ हुनुका साथै बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउनसमेत समस्या भएको उहाँले बताउनुभएको छ । त्यसैगरी, त्रिशूली नदी दक्षिणतर्फका नागरिकलाई धादिङबेँसी सदरमुकाममा रहेका अड्डा–अदालत तथा अन्य सरकारी सेवाका काममा समस्या परेको छ । सडक सम्पर्क सहज नहुँदा सेवाग्राहीलाई सदरमुकाम पुग्न कठिनाइ भएको र प्रशासनिक तथा न्यायिक कामका लागि हुने नियमित आवतजावत प्रभावित भएको स्थानीय बताउँछन् । पुलको पुनर्निर्माण तथा तत्काल वैकल्पिक व्यवस्था गर्न माग गर्दै धादिङका नागरिकले सामाजिक सञ्जालमा अभियान सञ्चालन गरेका छन् । अभियानमार्फत तत्काल बेलिब्रिज वा अन्य वैकल्पिक पुलको व्यवस्था गरी यातायात सञ्चालन गर्न तथा दीर्घकालीन रूपमा स्थायी पुल पुनर्निर्माणको काम अघि बढाउन माग गरिएको छ ।

स्थानीयले चीन सरकारले नेपाललाई उपलब्ध गराएको एक सय मिटर लम्बाइका बेलिब्रिजमध्ये आवश्यक संरचना फुर्केखोला–परेवाटारमा प्रयोग गर्न माग गरेका छन् । स्थानीय अनिल अधिकारीले बाढीपछि राहत तथा उद्धारसँगै क्षतिग्रस्त पूर्वाधारको पुनस्र्थापनालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । ‘चीन सरकारले नेपाललाई एक सय मिटर लम्बाइका बेलिब्रिज उपलब्ध गराइसकेको अवस्थामा त्यसलाई ढिलाइ नगरी तत्काल फुर्केखोला–परेवाटारमा प्रयोग गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण होस्,’ अधिकारीले भन्नुभयो । उहाँका अनुसार कामलाई प्राथमिकता दिए दसैँअघि नै अस्थायी पुल सञ्चालन गर्न सकिने अवस्था रहेको छ । चाडपर्व नजिकिँदै जाँदा जिल्लामा आवतजावत बढ्ने भएकाले तत्काल वैकल्पिक पुलको आवश्यकता महसुस भएको छ । पुल नहुँदा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा, बिरामीको ओसारपसार, अड्डा–अदालतका काम तथा अन्य अत्यावश्यक सेवामा थप समस्या हुँदै गएको नीलकण्ठ–३ का अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

स्थानीयका अनुसार फुर्केखोला पुल पुनर्निर्माण कुनै राजनीतिक दल वा व्यक्तिविशेषको विषय नभई नागरिकको सहज आवागमन, स्थानीय अर्थतन्त्र, अत्यावश्यक सेवा र समग्र जनजीवनसँग जोडिएको साझा सरोकार हो । त्यसैले तत्काल अस्थायी पुलको व्यवस्था गरी आवागमन सञ्चालन गर्न र दीर्घकालीन रूपमा स्थायी पुल पुनर्निर्माणको प्रक्रिया शीघ्र अघि बढाउन सरकार तथा सम्बन्धित निकायसँग माग गरिएको छ । धादिङमा बाढीबाट क्षतिग्रस्त भएका ६ पक्की र १७ झोलुङ्गे पुलको पुनर्निर्माणसँगै आवश्यक स्थानमा तत्काल वैकल्पिक संरचना निर्माण गर्न सकेमा प्रभावित नागरिकको दैनिक जीवन सहज हुने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह