भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर–३, देवीघाटलगायत आसपासका क्षेत्रमा पुर्याएको क्षति हामी स्थानीय बासिन्दाका लागि कहिल्यै नबिर्सने पीडादायी घटना बनेको छ । बाढी आएको केही समयसम्म हामीमध्ये धेरैलाई अवस्था यति भयावह बन्छ भन्ने अनुमानसमेत थिएन । तर, आकस्मिक रूपमा आएको ठुलो बाढीले केही समयमै घर, पसल, व्यवसाय, सडक, पुल, खेतबारी तथा विभिन्न भौतिक संरचनामा ठुलो क्षति पुर्यायो । धेरै परिवारले वर्षौँको मिहिनेतबाट जोडेको सम्पत्ति गुमाउनुपर्याे भने कतिपयको जीविकोपार्जनको आधार नै बाढीमा बग्यो ।

देवीघाट केवल एउटा बस्ती वा बजार मात्र होइन, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको क्षेत्र पनि हो । जालपा भगवतीको पवित्र धाम, त्रिशूली नदीको संगम क्षेत्र तथा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको दाहसंस्कार स्थल एवम् ऐतिहासिक पहिचानका कारण देवीघाटको आफ्नै विशेष महत्त्व छ । तर, यसपटकको बाढीले सबै भौतिक संरचनासँगै स्थानीयको मनोबल र भविष्यप्रतिको चिन्ता थपेको छ । बाढीपछिको पहिलो आवश्यकता राहत र पुनस्र्थापना हो भने त्यसपछि दीर्घकालीन रूपमा ‘व्यवस्थित बस्ती विकास’ हो । विगतमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा भएका अव्यवस्थित संरचना र कमजोर पूर्वतयारीका कारण विपत्को असर अकल्पनीय व्यहोर्नुपर्यो । अब पुरानै शैलीमा बस्ती निर्माण गर्ने कि अहिलेको विपत्तिबाट पाठ सिक्दै ‘सुरक्षित, व्यवस्थित र विपत्–प्रतिरोधी बस्ती’ विकास गर्ने बहस जरुरी छ । पहिले बाढीबाट क्षति भएका घर तथा संरचनाको वास्तविक क्षतिको वैज्ञानिक मूल्याङ्कन र कुन ठाउँ बसोबासका लागि सुरक्षित छ, कुन क्षेत्र जोखिमयुक्त छ र कहाँ पुनर्निर्माण गर्न मिल्छ प्राविधिक अध्ययन आवश्यक छ । नदीको प्राकृतिक बहाव क्षेत्र र जोखिमयुक्त भूभाग पहिचान गरी भविष्यमा त्यस्ता स्थानमा अनियन्त्रित निर्माण रोक्नुपर्छ ।
देवीघाटको ‘तटीय क्षेत्रमा दीर्घकालीन तटबन्ध तथा नदी नियन्त्रण योजना’ आवश्यक छ । तर, तटबन्ध निर्माण गर्दा तत्कालीन समस्या समाधान हुने गरी मात्र होइन, नदीको प्राकृतिक बहाब, भूगोल र भविष्यमा आउन सक्ने ठुलो बाढीलाई समेत ध्यानमा राखेर वैज्ञानिक डिजाइन गर्नुपर्छ । आवश्यक ठाउँमा बलियो तटबन्ध, ग्याबियन, नदीकिनार संरक्षण तथा हरित क्षेत्र निर्माण गर्न सकिन्छ । त्यसैगरी, ‘पूर्वसूचना प्रणाली’ स्थापना गर्नु आजको प्रमुख आवश्यकता हो । भोटेकोशी तथा त्रिशूली नदीको जलस्तर मापन गर्ने आधुनिक उपकरण, साइरन, मोबाइल एसएमएस तथा स्थानीय सूचना प्रणाली विकास गरिनुपर्छ । अचानक बाढी आउँदा स्थानीय बासिन्दालाई समयमै सुरक्षित स्थानमा सार्न सकिने गरी प्रत्येक टोलमा ‘विपत् व्यवस्थापन समिति र सुरक्षित स्थान’ पहिचान गरिनुपर्छ । बाढीपछि सडक तथा पुलको अवस्था पनि गम्भीर विषय बनेको छ । देवीघाटलाई नुवाकोटका अन्य क्षेत्रसँग जोड्ने सडक, पुल तथा वैकल्पिक मार्गलाई सुरक्षित र भरपर्दो बनाउनुपर्छ । आपत्कालीन अवस्थामा एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी तथा उद्धार टोली सहज रूपमा पुग्न सक्ने आपत्कालीन पहुँच मार्गको व्यवस्था आवश्यक छ ।
देवीघाटका अधिकांश परिवारको मुख्य आयस्रोत व्यापार, कृषि र पशुपालन हो । बाढीले पसल, गोदाम, कृषि उत्पादन, पशुधन र व्यावसायिक सामग्रीमा क्षति पुर्याएको अवस्थामा केवल घर पुनर्निर्माण गरेर मात्र उहाँहरूको जीवन सामान्य हुँदैन । त्यसैले स्थानीय व्यवसायी र प्रभावित परिवारलाई सहुलियतपूर्ण ऋण, पुनर्कर्जा, ब्याजमा राहत, व्यवसाय पुनस्र्थापना सहयोग तथा आवश्यक अनुदानको व्यवस्था गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका प्रभावित ग्राहकको अवस्था पनि संवेदनशील छ । बाढीका कारण व्यवसाय नै बन्द भएको अवस्थामा तत्काल पुरानै किस्ताबन्दीमा ऋण तिर्न कठिन हुन सक्छ । त्यसैले सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ग्राहकको वास्तविक क्षतिको मूल्याङ्कन गरी प्रत्येक घटनाको आधारमा आवश्यक सहजीकरण गर्न सकेमा पुनः व्यवसाय सञ्चालनमा ठुलो सहयोग पुग्नेछ । त्यस्तै, बाढीले जालपादेवी मन्दिर तथा आसपासको धार्मिक–ऐतिहासिक सम्पदामा पुर्याएको क्षतिलाई पनि सामान्य भौतिक क्षतिको रूपमा मात्र हेर्नुहुँदैन । यो देवीघाटको पहिचानसँग जोडिएको सम्पदा हो । पुरातत्त्वविद्, इन्जिनियर तथा सम्बन्धित धार्मिक संस्थाको समन्वयमा यसको संरक्षण तथा पुनर्निर्माण गरिनुपर्छ । जालपा क्षेत्रलाई भविष्यमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा अझ व्यवस्थित बनाउन सकिन्छ ।
बस्ती विकास गर्दा विद्यालय, स्वास्थ्यचौकी, खानेपानी, सार्वजनिक शौचालय, पार्किङ, बजार व्यवस्थापन, फोहोर व्यवस्थापन तथा खुला स्थानको पनि योजना बनाउनुपर्छ । विपत्को समयमा मानिस जम्मा हुन सक्ने खुला तथा सुरक्षित स्थान हरेक टोलमा हुनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा देवीघाटको विकास स्थानीय बासिन्दाको सहभागितामा हुनुपर्छ । बाहिरबाट योजना बनाएर मात्र होइन, यहाँका स्थानीयको अनुभव, आवश्यकता र सुझावलाई प्राथमिकतामा राखिनुपर्छ । बाढीबाट प्रभावित परिवार, स्थानीय जनप्रतिनिधि, व्यवसायी, नागरिक समाज, युवा, महिला समूह तथा सम्बन्धित सरकारी निकायबिच समन्वय गरी दीर्घकालीन विकास योजना बनाउन आवश्यक छ । आज हामीले भोगेको पीडा भोलिका पुस्ताले फेरि भोग्नु नपरोस् भन्ने नै हाम्रो मुख्य उद्देश्य हुनुपर्छ । प्राकृतिक विपत्ति पूर्ण रूपमा रोक्न नसकिए पनि ‘क्षति न्यूनीकरण र पूर्वतयारी’ भने गर्न सकिन्छ । त्यसैले अहिलेको बाढीलाई केवल राहत र क्षतिको घटनाका रूपमा नहेरी ‘देवीघाटको नयाँ र सुरक्षित विकासको अवसर’का रूपमा लिनुपर्छ । सरकारका तीनै तह–सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गरेर विशेष देवीघाट पुनर्निर्माण तथा बस्ती विकास योजना आवश्यक छ । जोखिमयुक्त क्षेत्रको अध्ययन, सुरक्षित आवास, तटबन्ध, सडक तथा पुल, खानेपानी, विद्युत्, सम्पदा संरक्षण, व्यवसाय पुनस्र्थापना र विपत् पूर्वतयारीलाई एउटै योजनामा समेटिनुपर्छ ।
अन्त्यमा, भोटेकोशी बाढीले दिएको पीडा हामी कहिल्यै बिर्सन सक्दैनौँ । तर, यो पीडाबाट सिकेर अब ‘पहिलेभन्दा सुरक्षित, पहिलेभन्दा व्यवस्थित र पहिलेभन्दा सुन्दर देवीघाट’ बनाउने सङ्कल्प गर्न सकिन्छ । हामी स्थानीय बासिन्दा सरकार, जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र सम्पूर्ण नागरिक समाजसँग यही अपेक्षा राख्छौँ । देवीघाटलाई राहत पर्खिरहेको बस्ती मात्र होइन, विपत् प्रतिरोधी, व्यवस्थित र समृद्ध बस्तीका रूपमा विकास गरौँ ।
दिनेश अधिकारी
विदुर–३, माझगाउँ, देवीघाट






प्रतिक्रिया