+
Search

ताजा अपडेट +

पपुलर +

जालपादेवीको मौलिक स्वरूप स्थानान्तरण गर्ने कि ?

जालपादेवीको मौलिक स्वरूप स्थानान्तरण गर्ने कि ?
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

गत भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको हिमबाढीपछि विदुर–५ देवीघाट क्षेत्रमा अकल्पनीय क्षति भएको छ । बाढीपछि यहाँ रहेका ‘धार्मिक तथा ऐतिहासिक मन्दिर र सम्पदाको सुरक्षा’ के हुने हो भन्ने विषयमा स्थानीयवासीमा अहिले चासो र चिन्ता बढेको छ । वर्षाैँदेखि मानिसको आस्था र नेपालको इतिहाससँग जोडिएको मन्दिरलाई जोखिममा रहेको स्थानमै राखिरहनु उचित हुन्छ कि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने विषयमा तत्काल गम्भीर अध्ययन आवश्यक छ ।

Utsuk Books & Stationery

सबैभन्दा पहिले सम्बन्धित प्राविधिक तथा पुरातत्त्वविद्बाट मन्दिर रहेको स्थानको भौगोलिक र बाढी जोखिमसम्बन्धी अध्ययन गरिनुपर्छ । मन्दिरको जग कमजोर भएको छ कि छैन, नदीको बहाब भविष्यमा कुन दिशातर्फ जान सक्छ, जमिन कटानको जोखिम कति छ र आगामी बाढीमा मन्दिर सुरक्षित रहन सक्छ कि सक्दैन भन्ने वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्छ । यदि अध्ययनबाट हालको स्थान नै सुरक्षित बनाउन सकिने देखिएमा मन्दिरलाई त्यहीँ राखेर जग बलियो बनाउने, नदी कटान रोक्ने, आवश्यक तट संरक्षण गर्ने र पानीको निकास व्यवस्थित गर्ने काम गर्नुपर्छ । मन्दिरको मौलिक स्वरूप नबिगारी संरक्षण गरिनुपर्छ । तर, यदि हालको स्थानमा मन्दिर राखिरहनु नै दीर्घकालीन रूपमा जोखिमपूर्ण देखिएमा सुरक्षित र उपयुक्त उच्च स्थानमा मन्दिरलाई स्थानान्तरण वा पुनस्र्थापना गर्ने विकल्पमा जानुपर्छ । यस्तो निर्णय हतारमा वा राजनीतिक दबाबमा नभई स्थानीय समुदाय, धार्मिक गुरु, पुरातत्त्वविद्, इन्जिनियर, इतिहासविद् तथा सम्बन्धित सरकारी निकायको सहमतिमा गरिनुपर्छ । मन्दिर सार्दा त्यसको पुरानो वास्तुकला, मूर्ति, शिलालेख, काठ, धातु तथा अन्य ऐतिहासिक सामग्रीको मौलिकता जोगाउनु अत्यन्त आवश्यक हुन्छ ।

मन्दिरलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएमा नयाँ स्थान बाढीको पहुँचभन्दा सुरक्षित, स्थिर जमिन भएको र भविष्यमा नदी कटानको जोखिम कम भएको ठाउँ हुनुपर्छ । नयाँ स्थानमा मन्दिर मात्र सारेर पुग्दैन; पूजा गर्ने स्थान, धार्मिक संस्कारका लागि आवश्यक क्षेत्र, भक्तजनका लागि बाटो, खानेपानी, शौचालय, पार्किङ तथा आपत्कालीन उद्धारको व्यवस्था पनि गर्नुपर्छ । यसरी नयाँ स्थानलाई व्यवस्थित ‘धार्मिक तथा ऐतिहासिक सम्पदा क्षेत्र’का रूपमा विकास गर्न सकिन्छ । मन्दिर क्षेत्रलाई हालको बाढीले नछोएको माथिल्लो तह पिपलटारमुनि क्षमापूजासहित स्थापना गर्न सकिन्छ । जालपादेवी, भैरवेश्वर, गणेश र राममन्दिर, चौँसठ्ठी लिङ्ग, ब्रह्माकुमारी केन्द्र एकै ठाउँमा निर्माण गर्ने तथा स्नानका लागि सूर्यमती र त्रिशूलीको दोभानको पानी लिफ्टिङ गरेर १०८ धारा निर्माण गर्नु उचित हुन्छ । पृथ्वीनारायण शाहको समाधिस्थल भने सार्न नसकिने भएकाले प्रतिमूर्ति नयाँ स्थानमा बनाउन सकिन्छ जहाँ सालिक पनि सँगै रहोस् । धामीको कुवा र पाटीको पनि संरक्षण र मर्मत गरिनुपर्छ । देवीघाट पारि रहेका त्रिपुरेश्वर, गौरेश्वर आदिको पनि सँगै प्रवद्र्धन गरिनुपर्र्छ । त्यसैगरी हालको पुरानो स्थानलाई पूर्ण रूपमा भत्काएर बिर्सनुहुँदैन । सम्भव भए त्यहाँ ‘ऐतिहासिक स्मृति क्षेत्र’ बनाएर मन्दिरको पुरानो स्थान, इतिहास र बाढीबाट भएको परिवर्तनलाई भावी पुस्ताले बुझ्न सक्ने व्यवस्था गर्न सकिन्छ । यसले स्थानान्तरण गरे पनि देवीघाटको ऐतिहासिक पहिचान हराउन दिँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा मन्दिर सार्ने वा नसार्ने निर्णय प्रमाण र अध्ययनका आधारमा हुनुपर्छ । बाढी आइसकेपछि हतारमा पुनर्निर्माण गरेर फेरि अर्को बाढीमा त्यही क्षति दोहो¥याउनुहुँदैन । अहिलेको बाढीलाई चेतावनीका रूपमा लिएर देवीघाटका सम्पूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदाको जोखिम मूल्याङ्कन गरी दीर्घकालीन संरक्षण योजना आवश्यक छ ।

अबको बाटो : देवीघाटका लागि तीन कामलाई प्राथमिकता दिनुपर्छ – पहिलो, मानिसको सुरक्षा; दोस्रो, मन्दिर तथा ऐतिहासिक सम्पदाको सुरक्षा र तेस्रो, भविष्यमा फेरि हुने बाढीबाट स्थायी रूपमा जोगिने व्यवस्था । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, मन्दिर तथा सम्पदाको प्राविधिक अध्ययन गर्ने र आवश्यक परे सुरक्षित स्थानमा पुनस्र्थापना गर्ने काम सँगसँगै अघि बढाउनुपर्छ । यसरी हेर्दा अहिलेको बाढी केवल क्षति र दुःखको घटना मात्र होइन, देवीघाटलाई अझ सुरक्षित र व्यवस्थित बनाउने अवसर पनि हो । आज सही निर्णय गर्न सकियो भने धार्मिक आस्था, पृथ्वीनारायणसँग जोडिएको इतिहास र देवीघाटको मौलिक पहिचान जोगाउँदै भावी पुस्तालाई सुरक्षित सम्पदा हस्तान्तरण गर्न सकिन्छ । (दिनेश अधिकारी विदुर–३, माझगाउँ, देवीघाट)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह